काठमाडौं । ललितपुरका राजोपाध्याय ब्राह्मणहरुको उपाकर्म गुठीअन्तर्गत प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउँदै आइएको नरसिंह जात्रा ‘उपालकं सायाः’ आज मनाइएको छ । देवगणसहित ६ जोडी अप्सरा, भजन टोली, धिमेय् बाजा टोली तथा विभिन्न झाँकीसहित जात्रा मनाइएको हो ।
ललितपुर उपाकर्म गुठीअन्तर्गतको षटकुल अर्थात् ६ ओटा कुलका राजोपाध्यायबीच ज्येष्ठताका आधारमा पालो चलाइने गरिन्छ । जात्राको पालोवालाको ज्वाईं अथवा भान्जा अथवा पुरोहितलाई नरसिंह बनाई ललितपुर नगर परिक्रमा गराइएको थियो । नरसिंहका साथमा लक्ष्मी, सरस्वती र प्रल्हादलाई ललितपुरको गाईजात्रा हिँड्ने रुटमा परिक्रमा गराइएको थियो ।
पालोवालाकै घरबाट जात्रा सञ्चालन गरी सोही ठाउँमै सम्पन्न गर्ने परम्परा रहिआएको छ । त्यसै क्रममा हनुमानननीबाट सौगल, सुन्धारा, ओकुबहाल, थाइना, चक्रबहिल, हौगल, तिच्छुँगल्ली, वला, पुर्णचण्डी, गाःबहाल, पिम्बहाल, वालिफल, क्वालखु हुँदै मंगलबजारबाट हनुमाननीमै पुगी जात्रा सम्पन्न भएको थियो ।
ठूलो वर्षाका बीच पनि प्रत्येक टोलमा नरसिंहको दर्शन साथै पूजा गर्नेको ठूलै घुइँचो लागेको थियो । वर्षाको पर्वाह नगरी भक्तजनले नरसिंहसँगै नगर परिक्रमा पनि गरेका थिए । यो जात्रा विधिवत् सम्पन्न भएमा दैवीप्रकोप, रोगव्याधि आदिबाट मुक्ति पाइने जनविश्वास छ ।
जात्राका क्रममा नरसिंहको पछाडि झुन्ड्याएर राखिने कपडाका पुतलीलाई ढोग्न लगाएमा बालबालिकाहरुलाई रुन्चे नलाग्ने जनविश्वास रहिआएको छ ।
ललितपुरमा कार्तिक नाचका नरसिंहलाई उग्ररुपको नरसिंहका रुपमा लिइन्छ भने यस जात्रा उपाकलं सायाःका नरसिंहलाई शान्त रुपमा लिइन्छ ।