चितवन । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ मध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए ।
जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार/ पाँच उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् । अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ । महामारीका कारण एउटा उद्योगले २ करोड रुपैयाँ हाराहारी नोक्सान बेहोर्नुपरेको उनको भनाइ छ ।
कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । यस वर्ष कोइलाको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएको उनको गुनासो छ ।
खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित उद्योग सञ्चालन गर्न नसक्ने भएपछि उद्योगको नामको जग्गानै बेचेर ऋण तिर्न लागेको जानकारी दिए । उनले भने, “ऋण तिर्न सकिएन अब जग्गा बेच्दै छौं । यो पेसाबाट विस्थापित हुन आएको छ । धेरैको अवस्था आफ्नो उद्योगको जस्तै भएको छ ।”
यहाँको इँटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गर्दथ्यो । इँटा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इँटा उद्योग चलाउन सकेका छैनन् । जिल्लाका उद्योगमा एक वर्षमा आठ हजारले रोजगार पाउने गरेको सङ्घले जनाएको छ ।
नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले एउटा उद्योग सञ्चालन गर्न ३ करोड रुपैयाँ भन्दा बढी लगानी हुने जानकारी दिए । नेपालमा १ हजार ३०० इँटा उद्योग रहेका छन् । तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ ।