काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पुस (जनवरी)बाट जापानकोे राजधानी टोकियोको नारिता विमानस्थलमा उडान गर्ने भएको छ । भदौ १२ गतेबाट ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने तयारी गरिरहेको अध्यक्ष मदन खरेलले जानकारी दिए ।
नारिता विमानस्थलमा उडान गर्न निगमले पठाउनु पर्ने आवश्यक सम्पूर्ण कागजातहरु पठाइसकेको उनले जानकारी दिए । पुसबाट उडान गर्ने गरी आन्तरिक रुपमा कामहरु भइरहेको खरेलले बताए ।
ओसाका उडानका विषयमा मंगलबार पत्रकारहरुलाई जानकारी गराउँदै अध्यक्ष खरेलले पहिलो सञ्चालनमा फुल प्यासेन्जर कुनै पनि गन्तव्यमा नहुने भएकोले बिस्तारै प्यासेन्जरको फ्लोर बढ्ने अपेक्षासहित उडान गर्न लागिएको उनले स्पष्ट पारे ।
‘लामो समयको ग्यापपछि निगमले जापानमा उडान गर्न लागेकोले धेरैले नियमित उडानमा शंका गरेका छन्,अध्यक्ष खरेलले भने, तर हामी निरन्तर दिन्छौं ’ ।
अहिले धेरै ट्राभल एजेन्सीहरुले नियमित उडान भएमा टिकट काट्न तयार रहेको बताउँदै आएको जानकारी दिँदै एक वर्षभित्र फुल प्यासेन्जरसहित उडान हुने उनको विश्वास छ ।
निगमका कमर्सियल डाइरेक्टर टंक दाहालले भदौ असोजपछि यात्रुहरु बढ्ने बताएका छन् । नेपालमा पर्यटकीय सिजन सुरु भएपछि त्यहाँबाट आउने र नेपालबाट फर्किनेको संख्यामा बृद्धि हुने उनको भनाइ छ ।
हाल पहिलो उडानका लागि १५० को हाराहारीमा टिकट बुकिङ भएको जनाइएको छ । निगमले वाईडबडी ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो ।
निगमले सुरुआती चरणमा १ महिनाका लागि एकतर्फी ३६ हजार ९९९ र दुईतर्फी ७२ हजार ८१४ रुपैयाँ भाडादर तोकेको छ । यसअघि दुई पटक तालिका फेर्दै आएको निगमले यस पटक भने निर्धारित समयमै उडान गर्ने गरी तयारी गरिरहेको छ ।
निगमले साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । काठमाडौंबाट ६ घण्टा ३० मिनेटमा ओसाका पुग्न सकिन्छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ ।
ओसाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपराह्न ६ः०० बजे काठमाडौं आइपुग्नेछ । ओसाकाका सबै उडान वाइडबडी ए३३०–२०० बाट हुने जनाइएको छ ।