एजेन्सी । केही वर्ष अघिसम्मको तुलनामा आजभोलिका कारहरू एकदमै जटिल प्रविधिले निर्माण भएका छन् । यी कारहरूमा सयौं, हजारौं सेमिकन्डक्टरहरू प्रयोग भएका छन् । यी चिपहरूले कारको धेरै कुरालाई नियन्त्रण गर्छन् । इग्निसन, ब्रेकिङ सिस्टमदेखि तपाईं बसेको सिट सही पोजिसनमा छ कि छैन यी सबै कुरालाई निर्धारण गर्छ ।
वल स्ट्रिट जर्नलका संवाददाता माइक कोलियाज भन्छन्, ‘चिपहरू इलेक्ट्रोनिक कन्ट्रोल युनिटहरूमा प्याकेज भएका हुन्छन्, यिनीहरूले भिन्दै अंगका रूपमा काम गर्छन् र यिनीहरूको आफ्नै काम र प्रयोजन हुन्छन् । यी चिपहरूले कारको हार्डवेयरलाई विद्युतीय रूपमा गर्नुपर्ने कामको निर्देशन दिने तथा नियन्त्रण गर्ने काम गर्छ ।’
तर, हाल विश्वमा यो चिप अर्थात सेमिकन्डक्टरको अभाव छ । कार फ्याक्ट्रीको बाहिर पार्किङ लटमा धेरै निर्माणाधीन कारहरू चिपको पर्खाइमा बसिरहेका छन् ।
महामारीको समयमा सबै मानिसहरू घरभित्र थुनिएर बस्नुपर्दा विद्युतीय ग्याजेटहरूको प्रयोग पनि बढेको थियो । जसकारण तिनै विद्युतीय सामग्रीमा चिपको माग तथा प्रयोग अत्याधिक बढ्यो । जापान, ताइवान तथा मलेसिया जस्ता महत्वपूर्ण चिप निर्माणकर्ता मुलुक तथा क्षेत्रहरू प्राकृतिक प्रकोप तथा कोभिडबाट ग्रसित हुँदा आपूर्ति श्रृंखलासमेत प्रभावित भई बजारमा चिपको अभाव हुन पुग्यो ।
चिपको यहीँ अभावले यस वर्ष विश्व अटो निर्माण कम्पनीहरूलाई ११० अर्ब डलरको घाटा हुन सक्ने अनुमान छ । यो अवस्थाले आज अटो निर्माणकर्ता ग्लोबल कम्पनीहरूलाई चिपको अभावलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे अल्पकालीन र दीर्घकालीन रूपमा सोच्न पर्ने दबाब सिर्जना भएको छ । यसैले हाल कम्पनीहरू आफ्नो उत्पादन प्लान्टलाई एडजस्ट गर्ने तयारीमा छन् ।
सबैभन्दा पहिलो समाधान त जब तपाईंसँग केही कुराको अभाव हुन्छ भने त्यसलाई मितव्ययी ढंगले प्रयोग गर्नुहोस् । अटो निर्माणकर्ता कम्पनीहरू पनि हाल यहीँ रणनीति अपनाइरहेका छन् । यसका लागि केही अटो निर्माणकर्ता कम्पनीहरूले कारमा चिप आवश्यक पर्ने केही फिचरहरू हटाउन थालेका छन् ।
‘कार निर्माणकर्ताहरूले मानिसहरूले बेवास्ता गर्दै आइरहेका सामान्य एड अन फिचरहरू हटाउन थालेका छन् ।’ अमेरिकाका केही ग्लोबल अटो निर्माणकर्ता कम्पनी, जस्तै जिप, राम र विभिन्न ब्राण्डका स्वामित्वकर्ता कम्पनी स्टेलान्टिसले अहिले आफ्नो पिकअप ट्रकबाट इलेक्ट्रोनिक डिटेक्सन सिस्टम नै हटाएको छ ।
उसले हाल ब्लाइण्ड स्पोट डिटेक्ट गर्न उक्त इलेक्ट्रोनिक डिटेक्सन सिस्टमबिना नै ट्रक निर्यात गरिरहेको छ । स्तै अर्को विश्वप्रसिद्ध अटो निर्माणकर्ता कम्पनी जनरल मोटर्स कम्पनी (जीएम) ले पनि हाल आफ्नो फुल साइज पिक अप ट्रक चेभी सिल्भराडो निर्माण गरिरहेको छ । तर, यसमा उसले पहिले जस्तो इन्धन खपतलाई व्यवस्थापन गर्न सघाउने सफ्टवेयर राखेको छैन ।
यसबाहेक एलोन मस्कले पनि टेस्ला कारको टेस्ला मोडल थ्री र मोडल वाईको फ्रन्ट प्यासेन्जर सिटबाट एडजस्टेबल लम्बर सपोर्ट हटाउने बताएका छन् । अटो निर्माण क्षेत्रमा मार्केट सेयर स्ट्याण्डपोइन्ट तथा ख्यातिको हिसाबले योभन्दा ठूलो प्रकोप कुनै छैन । तर, यो कदम उठाउन अहिले कम्पनीहरू बाध्य छन् ।
स्टेलान्टसले २०२१ को पहिलो ६ महिनामामा ८९ अर्ब डलर कुल आम्दानी गरेको थियो । यस्तै जीएम मोटर्सले यस वर्षको दोस्रो त्रैमासिकमा सबैभन्दा धेरै २ अर्ब ८० करोड डलरको कुल नाफा आर्जन गरेको थियो ।
तर, चिप अभावकै कारण हाल यी कम्पनीहरूलाई आफ्नै सवारीका मोडलहरूबीच कुनैलाई चयन गरी प्राथमिकतामा राख्नुपर्ने अप्ठ्यारो अवस्था आई लागेको छ ।
हाल अटो निर्माण कम्पनीहरू कुन कुरालाई प्राथमिकतामा राखेर अघि बढाउन सकिन्छ र कुन कुरालाई बढी चढाउन सकिन्छ भनेर चयन गरिरहेका छन् । उदाहरणका लागि जीएमले आफ्नो कम नाफामूलक गाडीबाट चिपलाई निकालेर आफ्नो लोकप्रिय गाडीहरूमा राख्न थालेका छन् । तर, यो नीति अपनाउँदा पनि आफ्नो प्राथमिकतामा राखेको गाडीहरूका लागि उनीहरूले पर्याप्त चिप पाइरहेका छैनन् ।
जब यी कम्पनीहरूले प्राथमिकताका गाडीहरूमा चिप राख्न पाउँदैनन् तब फ्याक्ट्रीको बाहिर पार्किङ लटमा राख्ने गरेका छन् चिपको पर्खाइमा । तर, यी कारहरू फ्याक्ट्री बाहिरको पार्किङ लटमा कहिलेसम्म बसिरहन्छन् भन्ने कुराको अनिश्चित छ ।
फोर्डका अनुसार यसरी पार्क गरी राखेको उसको गाडीको संख्या मार्चको अन्त्यमा २० हजारभन्दा धेरै पुगेको थियो । जीएमको अनुसार समरसम्म उसको मिजोरीको प्लान्टमा ३० हजार पिकअप ट्रकहरू चिपको पर्खाइमा पार्क थिए । कार कम्पनीहरूको यस्तो किसिमको रणनीतिले उनीहरूलाई अल्पकालसम्म सञ्चालन रहन सहयोग गर्नुका साथै भविष्यका लागि पनि योजना बनाउन दबाब दिन थालेको छ ।
दशकौं लामो समयसम्म अटो उद्योग ‘जस्ट इन टाइम मोडल’ मा सहज रूपमा सञ्चालन भयो । आवश्यक पर्न बित्तिकै कम्पनी तथा एसेम्बल प्लान्टमा उपकरणहरू आउने गर्थे यसैकारण उनीहरूको निर्माण खर्च पनि धेरै कम भयो । साथै उनीहरूले धेरै अन्वेषणहरू पनि अघि बढाए । तर, चिप अभावको वैश्विक संकटमा कम्पनीहरूको यो मोडल भताभुंग भयो ।
हाल कम्पनीहरू महत्वपूर्ण कम्प्युटर चिपहरूको भण्डारण गर्न थालेका छन् । यसअघिसम्म अप्रत्यक्ष रूपमा चिप आपूर्तिकर्ताहरूसँग जोडिने अटो निर्माणकर्ताहरूले अब सोझै पहुँच निर्माणमा ध्यान दिन थालेका छन् । अटो निर्माण कम्पनीहरू अब भने चिप आपूर्तिमा प्रत्यक्ष भिजिबिलिटी मात्र होइन सिधै नियन्त्रण पनि चाहन्छन् ।
फोर्ड जस्ता कतिपय कम्पनीहरूले अब आफ्नै चिप डिजाइन गर्नेबारे पनि मिडियासँग खुलासा गरेका छन् । अमेरिकी सरकारको यसमा ठूलो मद्दत छ । उसले आफ्नै घरेलु चिप निर्माण क्षमताको प्रवद्र्धन गर्न जोड दिइरहेको छ । बाइडेन सरकारले घरेलु चिप निर्माण क्षेत्र बढाउन प्राथमिकता दिने बताएका छन् ।
उनले चिप निर्माणको आरएन्डीमा मात्र ५० अर्ब डलरसमेत लगानी गर्ने बताएका छन् । तर, चिपमा आरएन्डी गरी यसको विकास गर्न वर्षौं लाग्छ । यसको असर अटो उत्पादनमा देखिने । जुन घट्ने लगभग पक्का छ । सेप्टेम्बरमा जीएम कम्पनीले आफ्नो सिलाओ र म्याक्सिकोको पिकअप ट्रक निर्माण गर्ने दुइटा प्रमुख फ्याक्ट्रीहरूलाई अस्थायी कालका लागि निष्क्रिय बनाउने बताएको छ ।
यस्तै फोर्डले पनि आफ्नो एफ १५० को उत्पादन मिसोरीको कानसास सिटी फ्याक्ट्रीमा अस्थायी समयका लागि रोक्ने बताएको छ । यसबाहेक टोयोटा जस्ता कम्पनीले पनि सेप्टेम्बरमा जापानमा आफ्नो उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने बताएको छ ।
(वालस्ट्रिटजर्नलको सहयोगमा)
यो पनि हेर्नुहोस
बजारमा गाडीको अभाव, सीमित कारमा कम्पनीहरुका यस्ता छन् दसैंअफर