काठमाडौं । कर्मचारी सञ्चय कोषले सहायक कम्पनीमार्फत बनाउन लागेको प्रस्तावित ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनालाई ५७ अर्ब रुपैयाँ लगानी जुटेको छ ।
आउँदो १५ दिनभित्र आयोजनाको विकासकर्ता बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड र बैंकहरुबीच ऋण लगानी सम्झौता हुने भएको छ । ग्लोबल आईएमई बैंकको अगुवाइ (लिड) र सनराइज बैंक र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले कोलिड गर्ने टुंगो लागेको छ । सहवित्तीयकरणमा लगानी बैंकहरूसँगको छलफल अन्तिम चरणमा पुगेको छ ।
बैंकहरुबीच सहमति काय गरेर औपचारिक रुपमा ऋण लगानीको सम्झौता हुने वेतन कर्णालीका प्रवन्ध सञ्चालक दीपक रौनियारले बताए । उनका अनुसार बैंकहरुले आयोजनामा ५७ अर्ब ३२ रुपैयाँ ऋण लगानी गर्ने छन् । जलविद्युतमा यो सबैभन्दा ठूला लगानी हो ।
आउँदो १५ दिनभित्रै बैंकहरुसँग ऋण लगानी सम्झौता हुने प्रवन्ध सञ्चालक रौनियारले जानकारी दिए । उनले लगानी गर्ने बैंकहरुको टुङ्गाे लागिसकेको जानकारी गराए । यो वर्ष लगानी व्यवस्थापन गरेपछि अर्को वर्ष अर्थात सन् २०२२ भित्र आयोजना निर्माणमा जाने भएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको उनको भनाइ छ ।
आयोजना बनाउन निर्माण अवधिको ब्याजसमेत गरी ८८ अर्ब १९ करोड रुपैयाँ लाग्ने डीपीआरले देखाएको छ । आयोजना बनाउन मात्र ७४ अर्ब १५ करोड रुपैयाँ लाग्ने उनले सुनाए । यसबीचमा कम्पनीले १४ अर्ब रुपैयाँ ब्याज तिर्नुपर्ने हुन्छ । डीपीआर नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले तयार पारेको हो ।
आयोजनामा कोषमा आबद्ध ५ लाख ९८ हजार सञ्चयकर्ताको स्वपुँजी (इक्विटी) लगानी हुनेछ । आयोजनामा सञ्चय कोषको १५, सञ्चयकर्ताको ४०, विद्युत प्राधिकरणको १०, विद्युत उत्पादन कम्पनीको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । यस्तै २५ प्रतिशत सर्वसाधारणलाई सुरक्षित गरिएको छ ।
१० प्रतिशत आयोजना प्रभावित जिल्लाका स्थानीयबासिन्दा, २ प्रतिशत विपन्न र १३ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गरेर लगानी जुटाइने प्रवन्ध सञ्चालक रौनियारले जनाए । यसमध्ये कोषका सञ्चयकर्ताले पाउने नाफाको ०.६५ प्रतिशत आयोजनामा लगानी भइरहेको छ ।
कुल २३ अर्ब स्वपुँजी (ईक्विटी) मध्ये सञ्चयकर्ताबाट ८ अर्ब ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ । अहिलेसम्म ७ अर्ब रुपैयाँ उठेको छ । सञ्चयकर्ताले कोषबाट पाउने लाभांश रकम बेतानमा लगानी गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब ३० करोड ८२ लाख युनिट बिजुली उत्पादन हुनेछ । जसमध्ये सुख्खायाममा मात्र ६९ करोड युनिट उत्पादन हुनेछ ।
आयोजनाबाट वार्षिक १४ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । यस्तै ९ पटकसम्म मूल्य वृद्धि भएपछि आयोजनाको आम्दानी बढेर वार्षिक १८ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।
आयोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएको छ । विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को प्रक्रियामा रहेको प्रवन्ध सञ्चालक रौनियारले जानकारी दिए । आयोजनामा लगनी गर्ने सञ्चयकर्ताको ‘रिटायर्डमेन्ट भेहिकल’ भएको उनले बताए । आयोजनाले ऋण चुक्ता गरेपछि वार्षिक औसत १७ प्रतिशतसम्म प्रतिफल दिनेछ ।
आयोजनाको क्याम्पसाइट निर्माण जारी रहेको छ । यस्तै अडिट सुरुङ खनिएको छ भने जग्गा अधिग्रहणको काम भइरहेको उनले सुनाए । यस्तै आयोजनासम्म पुग्न १५ किलोमिटर पहुँचमार्गसमेत निर्माण भएको छ । अर्धजलाशय आयोजनाले पिकको माग पूरा गर्नेछ । आयोजनाबाट उत्पादन हुने बिजुली ५ किलोमटिर टाढा बेतन हबमा जोडिनेछ । निर्माण सुरु गरेको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
यसअघि नबिल बैंक र नेपाल एसबीआई बैंकले बेतन कर्णालीमा ५० अर्ब रुपैयाँ ऋण लगानी गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । नेपाल एसबीआईमा सञ्चय कोष संस्थापक लगानीकर्ता हुनुका साथै सञ्चालक समितिमा एक जना सञ्चालक प्रतिनिधित्व भएपछि बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अनुसार एसबीआईबाट लगानी नहुने अवस्था आयो । यस्तै नबिलले पनि अरुण तेस्रो आयोजनामा लगानी गरेपछि यता ऋणको संभावना टरेको थियो ।
आयोजना सुर्खेतको चौकुना र अछाममा ढकारी गाउँपालिकामा पर्छ । आयोजनाको बाँध ८९ मिटर अग्लो हुनेछ । सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १४ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन बनाउनुपर्ने देखिएको छ । पहिले ६८८ मेगावाटमा डिजाइन गरिएकोमा प्राविधिक कारणले बाँधमाथि सार्दा आयोजनाको जडित क्षमता कम भएको हो ।