विराटनगर । निषेधाज्ञा खुलेको तीन महिना बितिसक्दा पनि पूर्वका उद्योगहरुले पूर्ण क्षमतामा वस्तु उत्पादन गर्न सकिरहेका छैनन् । हाल ७५ प्रतिशत क्षमतामा मात्र उद्योगहरु सञ्चालन भइरहेको उद्योगी अविनाश बोहोरा बताउँछन् । वर्षाका कारण पूर्ण रुपमा उद्योगहरु सञ्चालनमा आउन नसकेका उनको भनाई छ ।
‘चाडपर्वहरु नजिकिएका छन्, बजार पनि खुलेको छ । तर, मानिसमा अझै डर छ । अझै सबैको पहुँचसम्म खोप पुग्न सकेको छैन’ उद्योगी बोहराले भने ‘उद्योगीले पनि बजार हेरेर उत्पादन गर्ने हो ।
बजारको माग हुनुपर्यो र मानिस बजारसम्म आउने वातावरण हुनुपर्यो ।’ सरकारले सबै मानिसको पहुँचसम्म खोप पुर्याउन सके बजार चलायमान हुने बोहोराको भनाई छ ।
कोरोनाले थला पारेको उद्योगहरुलाई बढ्न लागेको बैंकको ब्याजदरले पनि असर गर्ने नेपाल–भारत उद्योग बाणिज्य संघ प्रदेश १ को अध्यक्षसमेत रहेका बोहोराले बताए । ‘सामान्य अवस्थामा पनि सरकारले विकास खर्च गर्न नसकेका बेला अहिले मुलुक झन खर्च विहिन अवस्थामा छ’, उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विकास खर्च बढाउनुपर्छ ।’
ब्याजदर दोहरो अंकमा पुग्दा उद्योगी समस्यामा पर्ने उनको भनाई छ । ‘कोरोनाले ढलेको आर्थिक क्षेत्र र भएका उद्योगहरु पनि राम्रोसँग सञ्चालन नभएको अवस्थामा बैंकको ब्याजदर बढ्नु भनेको लागत बढ्नु हो’ उनले भने ‘उत्पादन लागत बढेपछि उद्योगलाई धेरै असर पर्ने देखिएको छ ।’ अहिले अन्तर्राष्ट्रिय बजारमै हरेक वस्तुको मूल्य बढिरहेको छ ।
यातायातको मूल्य पनि बढेको छ । यस्तो अवस्थामा सरकारले हाम्रो अधिनमा रहेको कुराहरुलाई बढी भन्दा बढी चलायमान र सस्तो बनाउन सोच्नुपर्ने उनको भनाई छ ।
खाद्यान्न उद्योगहरुले उत्पादन क्षमता बढाएका छन् । बजारमा माग बढे पूर्ण क्षमतामा उद्योग सञ्चालन गरेर उत्पादन गर्न पनि सक्नेछन् । तर, निर्माण उद्योगहरु संकटमा परेको व्यवसायीको भनाई छ ।
कोरोनाको संकटले मानिसमा क्रयशक्ति नभएका कारण बजारमा माग कम हुँदा उद्योगहरुले क्षमता घटाउनु परेको मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष नविन रिजालले बताउँछन् ।
‘पर्यटन क्षेत्र पनि धरासायी भएको र विकासको काम ठप्प भईरहेको अवस्थामा उद्योगहरुको अवस्था पनि त्यस्तै भएको उनको बुझाइ छ । उद्योगहरु सञ्चालन गर्न र वस्तु उत्पादन बढाउनका सरकारले विकास बजेट खर्च गर्नुपर्ने रिजालको तर्क छ ।
सरकारले विकासका कामलाई अघि बढाउने बित्तिकै बजारमा माग बढी हुन्छ र उद्योगले उत्पादन क्षमता पनि बढाउने रिजालले बताए । उद्योगलाई बन्द हुने अवस्थामा पुर्याउने या सञ्चालन गर्ने सरकारको हातमा भएको उनको तर्क छ ।
पूर्वमा आरती स्ट्रिप, हुलास वायर, प्रिमियर वायर, कमला आइरन र पशुपति आइरन गरी ५ वटा फलामे डन्डी उद्योग सञ्चालनमा छन् । मोरङ, सुनसरी र झापामा गरी १० वटा सिमेन्ट उद्योग रहेका छन् ।
मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टिल, कर्कट पाता, प्लास्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।