एजेन्सी । टाटा ग्रुपका जेआरडी रतन टाटाले १९३२ मा स्थापना गरेको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाको स्वामित्व फिर्ता लिने रतन टाटाको सपना पूरा हुने देखिएको छ । अधिक घाटामा गएको एयर इन्डियाको स्वामित्व बिक्रीका लागि भारत सरकारले निजी क्षेत्रसँग प्रस्ताव मागेको छ ।
एयर इन्डियालाई खरिद गरी आफ्नो १०६ अर्ब डलरको व्यवसायिक कंगलोमेरेटमा फिर्ता ल्याउन टाटा ग्रुपले बोलपत्र पेश गरेको छ । भारतका पहिलो प्रधानमन्त्री पण्डित जवहरलाल नेहरुले राष्ट्रियकरण गरेको ६३ वर्षपछि कुनै समयका पाइलट रहेका रतन टाटा एयर इन्डियालाई फिर्ता ल्याउन उत्साहित देखिएका छन् ।
त्यसो त रतन टाटाले विभिन्न अवरोधहरुकाबीच एयर इन्डियालाई किन्न बोलपत्र (बीड) पेश गरेका छन् । बम्बे हाउसमा उनले बीड पेश गर्नुअघि टाटा ग्रुपको विरासतलाई नै तल पार्न सक्ने भन्दै रतन टाटाका एकजना विश्वासिलो सचेतसमेत गराएका थिए ।
टाटा सन्सले टाटा ग्रुप कम्पनी टभीसीएस, टाटा रियल्टी तथा इन्फास्ट्रक्चर, टाटा स्टिल, एयर एसिया इन्डिया र भिस्टाराको एउटा टोली नै गठन गरी एयरलाइन्स सञ्चालनका लागि व्यापक अनुसन्धान गरेका थिए ।
टाटा ग्रुपसँगै उक्त बीडका अर्का प्रस्तावक अजय सिंह, स्पाइस जेटका मालिकले हाल गम्भिर आर्थिक संकटको सामना गरिरेका छन् । पछिल्लो केही महिना त स्पाइस जेट विभिन्न अदालतीय झमेलामा फसेको समाचारसमेत आए ।
दिल्ली उच्च अदालतको अनुसार सो एयरलाइनले सरकारी कर र एयरपोर्ट अथोरिटी अफ इन्डियालाई वक्यौता भुक्तान गर्न सकेन । यसैले प्रतिस्पर्धी बिडरको क्षमता र टाटाले प्रस्ताव गरेको त्यति ठूलो रकमको आधारमा यो बीड टाटाले नै जित्ने प्रबल सम्भावना रेको केएस लिगल एण्ड अशोसिएट्सकी म्यानेजिङ पार्टनर सोनम चान्दवानीले बताइन् ।
डिलमा सुधार
यसअघि सरकारले एयर इन्डियाको स्वामित्व खरिद गर्ने कम्पनीले उसको २३ हजार करोड भारु ऋणसमेत व्यहोर्नु पर्ने सर्त राखिएको थियो । तर यसपटक सरकारले ऋणको बोझ हटाएको छ । यसको अर्थ एयर इन्डियाको ऋणको बावजुद पनि बिडरले आफ्नै रकम प्रस्ताव गर्न सक्छ ।
आशयपत्र (ईओआई) मा बिडरले कूल अफर भ्याल्युको १५ प्रतिशत र ऋणको ८५ प्रतिशत तिर्नुपर्ने मापदण्ड राखेको छ । तर ८५ प्रतिशत अनिवार्य भने होइन । बिडर्सले एयर इन्डियाको महाराजाको सम्पत्ति सबै नगदमा तिर्न सक्छ । बिडरसँग एयर इन्डियाको ऋणको भार नलिई सबै खरिद कारोबार नगदमै गर्न सक्ने विकल्प रहेको सरकारी अधिकारीहरु बताउँछन् । कम्पनीको ऋणभार बहन गर्ने बाध्यता छैन ।
टाटाले एयर इन्डियाको धेरैवटा विमानको फ्लिट साथै भारत र बाहिरी मुलुकमा यसको लोभलाग्दो एयरपोर्ट स्लट खरिद गर्ने योजना बनाएको छ । यो बीड जित्ने कम्पनी वा व्यक्तिले एयर इन्डियाको ४ हजार ४०० वटा डोमेस्टिक र १८०० वटा अन्तर्राष्ट्रिय ल्याण्डिङ तथा पार्किंग स्लट पाउने छन् । अहिलेको बिडिङ राउण्डमा सरकार कुन प्रस्तावकले कति ऋणभार बहन गर्न सक्छ भन्ने कुराको निक्र्यौल गर्ने सोचमा छ ।
डिलमा फाइदा धेरै
एयर इन्डियाको डिलमा बेफाइदाभन्दा फाइदा धेरै देखिन्छ । सबैभन्दा पहिले त सरकारले ऋणभार बहन गर्ने जिम्मेवारी बिडरको इच्छामा छोडिदिएपछि यो डिल एकदमै सुरक्षित बनेको छ । यसबाहेक टाटाले एसआईए र मलेसिया एयर एसिया ग्रुपसँग ‘नन कम्पिट क्लजका’ विषयमा वार्तासमेत गरेको छ ।
ती वार्तापछि टाटाले व्यापक चलअचल सम्पत्तिको दायित्व मूल्यांकन (डीडीए) पनि गरेको छ । जसमा टाटालाई आगामी भविष्यमा यो डिलका विभिन्न किसिमका दायित्व र अदालतीय झमेलाबाट बचाउने किसिमको ‘इन्डिमनिटी क्लज’ पनि समावेश गरिएको अनुमान छ ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)