काठमाडौं । सरकारले दोहोरो खोप लगाएको प्रमाण देखाए पर्यटकलाई क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था हटाउने तयारी गरेको छ । विश्वका कयौं मुलुकहरुले पर्यटकलाई आकर्षित गर्न दोहोरो खोप लगाएको प्रमाण देखाउने पर्यटकलाई निर्वाध रुपमा आवातजावत खुला गरिसकेका छन् । त्यही भएर नेपालले पनि दोहोरो खोप (डबल भ्याक्सिन) लगाएकालाई खुला गर्न लागेको हो ।
त्यसैगरी, सरकारले भिसा शुल्क पनि मिनाह गर्ने विषयमा छलफल गरिरहेको छ । अहिले पर्यटक नेपाल भित्रिने सिजन हो । यो बेला भिसा शुल्क मिनाह गर्न सक्यौ र दोहोरो खोप लगाएका व्यक्तिलाई निर्वाध रुपमा आवातजावात गर्न दियौं भने नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने व्यवसायीको सुझाव छ । व्यवसायीका यही सुझावलाई लिएर सरकारले दुवै निर्णय गर्न लागेको हो ।
अहिले भारतबाट ठूलो संख्यामा पर्यटकहरु बिदा मनाउन विश्वका कयौं मुलुकमा निस्किने तरखरमा छन् । उनीहरुलाई क्वारेन्टाइन बस्नुपर्ने बाध्यताबाट मुक्त गर्ने बित्तिकै नेपाल गन्तव्य हुन सक्ने व्यवसायीको अनुमान छ । सरकारले उनीहरुलाई आकर्षित गर्न भिसा शुल्क मिनाह र क्वारेन्टाइन हटाउने बित्तिकै ठूलो संख्यामा भारतीयहरु नेपाल आउने व्यवसायीको आँकलन छ ।
त्यसैगरी, युरोप तथा मध्यपूर्वी देशहरुबाट पनि नेपालमा घुम्नका लागि आउने पर्यटकहरुले बताइरहेका छन् । तर, यहाँ क्वारेन्टाइन बस्नुपर्ने भएकाले उनीहरु त्यहाँबाट डाइर्भट भएर अन्य मुलुक जान सक्छ । त्यही भएर सरकारले छिटै दुई वटा निर्णय गर्न व्यवसायीले मुख्यसचिव शंकरदास बैरागीलाई आग्रह गरेका थिए ।
व्यवसायीकै आग्रहमा सरकारले क्वारेन्टाइनको व्यवस्था हटाउन लागेको हो भने भिसा शुल्कका बारेमा छलफल चलिरहेको छ ।
मुख्यसचिव वैरागीले केही दिनमै क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउने व्यवसायीलाई बचन दिएका छन् ।
‘सरकारले भिसा शुल्कबाट प्राप्त गर्ने आम्दानी भन्दा एउटा पर्यटक नेपाल आएपछि त्यसले गर्ने खर्चबाट प्राप्त गर्ने आम्दानी धेरे हुने भएकाले भिसा शुल्क मिनाह गरेर पर्यटकलाई आकर्षित गर्नुपर्छ,’ नेपाल पर्यटन बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘अहिले भिसा शुल्क र क्वारेन्टाइनको व्यवस्था हटाउने हो भने दुई महिनामा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ । त्यही भएर सरकारले दुई निर्णय गर्न ढिला गर्नु हुँदैन ।’
साँग्रिला होटलका सञ्चालक प्रसिद्धबहादुर पाण्डेका अनुसार विश्वका धेरै देशले अहिले कोरोनाविरुद्धको खोप लगाएका मानिसलाई मुलुकभित्र प्रवेश गर्न दिइरहेका छन् । पर्यटन गतिविधि पनि शुरू गरिसकेका छन् । उनीहरूले विशेष प्याकेज ल्याएका छन् ।
१ वर्षसम्मका लागि उनीहरूले ७० प्रतिशतसम्मको छूटमा प्याकेज बुक गर्न सक्ने बजार नीति ल्याएको पाण्डे बताउँछन् । नेपालले पनि उनीहरुको सिको गरेर जानुपर्ने उनको सुझाव छ । अहिले पनि विदेशी पर्यटकलाई नेपालमा क्वारेन्टाइनको व्यवस्था छ । यो व्यवस्था अव्यावहारिक मात्रै होइन ।
त्यसैगरी, पर्यटन क्षेत्रमा काम गर्ने ९८ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको दोहोरो खोप लगाइसकेका छन् । त्यसो हुँदा विदेशबाट आउने नागरिक पनि नेपालीबाट संक्रमित हुने सम्भावना नहुने व्यवसायीहरु बताउँछन् ।