काठमाडौं । राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराई दिन बर्दियाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।
बर्दिया निर्वाचन क्षेत्र २ का सङ्घीय सांसद सन्तकुमार थारु र निर्वाचन क्षेत्र २ ‘ख’ बाट निर्वाचित दीपेश थारु (राजेश) नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट अपुग भएको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाइ दिन आग्रह गरेका हुन् ।
उनीहरूले राजापुर सिँचाइ आयोजनाको बजेट २ करोड ५० लाख मात्र भएको भन्दै नियमअनुसार नियमित मर्मतका लागि पनि १२ करोड रुपैयाँभन्दा बढी बजेट पाउनुपर्ने माग गरे । त्यस्तै बर्दीयाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन गर्नका लागि १२ अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएको तर प्रतिवर्ष बजेट २१ करोड रुपैयाँ मात्र प्राप्त हुने गरेको प्रदेश सदस्य राजेशले बताए ।
नियमितरूपमा प्रतिवर्ष हालकै बजेट विनियोजन हुने हो भने आयोजना पूरा गर्न ४० वर्ष लाग्ने उल्लेख गर्दै उनले २ वर्षमै सकाउने गरी बजेट उपलब्ध गराउन माग गरे ।
त्यसैगरी कर्णाली नदी लालमटियास्थित इन्टेकबाट कर्णाली नदी दुईवटा धारमा छुट्टीएको पूर्वतर्फको गेरुवा खोलाले राजापुर र गेरुवा क्षेत्र कटान गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य राजेशले बर्दीया राष्ट्रिय निकुञ्जको क्षेत्रफलअनुसारको जमिन छुट्टयाउने व्यवस्था मिलाउन आग्रह गरे ।
ऊर्जामन्त्री भुसालले एकीकृत योजना बनाएर बर्दियाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन कार्यलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने विश्वास दिलाइन । उनले खेतीयोग्य जमिन कटान हुन नदीन र खेतीयोग्य जमिनको गुणस्तर ह्रास हुन नदीन अधिकतम पहल गर्ने बताइन ।
ऊर्जासचिव देवेन्द्र कार्कीले सिँचाइ आयोजनालाई व्यवस्थित गर्न लागिपर्ने बताए । त्यसैगरी जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले कर्णाली नदी व्यवस्थापन आयोजनको प्रभावकारी कार्यान्वयनका लागि स्रोत उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राजापुर क्षेत्रबाट करिब ३.५ अर्बको धान र १.५ अर्ब रुपैयाँको गहुँ उत्पादन हुँदै आएको छ । नदीले दुवै तिर घेरिएको टापुमा कर्णाली नदी व्यव्यस्थापन आयोजनाबाट व्यवस्थित तटबन्धन कार्य सुरु हुनु पूर्व कर्णाली र गेरुवा नदीले ७३ किमी नदी किनारमा वार्षिक सरदर १०० हेक्टर जमिन कटान गरीरहेको त्यहाँका जनप्रतिनिधिको गुनासो छ ।