काठमाडौं । पर्यटनसँग आबद्ध विभिन्न व्यावसायिक संघ संगठनले ट्राभल एडभाइजरीमा ‘रेड जोन’ बाट नेपाललाई हटाउने पहल गर्न सरकारसँग अनुरोध गरेका छन् । कोमामा पुगेको पर्यटनलाई बचाउन तत्कालै अन्तर्राष्ट्रिय जगतमा नेपालका सबै पर्यटन व्यवसायी र त्यसमा आश्रित श्रमिकहरुले पूर्णरुपमा खोप लगाएको सन्देश दिन जरुरी रहेकाले त्यसका लागि आवश्यक पहलकदमी गरिदिन व्यवसायीहरुले संयुक्त रुपमा सरकारलाई आह्वान गरेका हुन् ।
पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन दिई क्वारेन्टाइन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचार प्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रुपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सो को अविलम्ब व्यवस्था गर्नसमेत सुझाव दिएका छन् ।
सरकारको बेवास्ताका कारण पर्यटन क्षेत्रको अस्तव्यस्त परिस्थितिबारे नाट्टाको आयोजनामा पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी पर्यटन व्यवसायीहरुको संस्था नाट्टा, टान, हान, नारा, सोट्टो, एनटीभीए, टिबान, पाटा, नाटो, एनएमएलगायत संस्थाहरुको अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागितामा विभिन्न निर्णयहरुसमेत गरेका हुन् ।
बैठकले कोभिड-१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने, भारतसँगको सीमा नाका तत्काल खोल्नुपर्ने र सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्रि भिसा तुरुन्तै लागू गर्नुपर्ने माग अघि सारेका छन् ।
यस्तै सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिल्लाको कोभिड १९ परिस्थतिअनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने, सरकारले पर्यटन व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन नगरे पत्रकार सम्मेलन गरी अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलनमा जाने समेत निर्णय गरेका छन् ।
पर्यटन क्षेत्रलगायत अन्य क्षेत्रहरुको माग सम्बोधनका लागि व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग सहकार्य गरेर अगाडि बढ्नेसमेत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।