विराटनगर । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमअन्तर्गत स्टार्टअपहरुलाई व्यावसायिक योजना तर्जुमा, व्यवसाय दर्ता, कानुनी, प्रशासनिक, प्राविधिक, गुणस्तर मापदण्ड, बजारीकरण, मावनस्रोत व्यवस्थापन, वित्तीय व्यवस्थापन, बजारीकरणलगायतका विषयहरुमा मेन्टरसिप सेवा प्रदान गर्न छनौट भएका मेन्टर्सहरुका लागि संगठनले दुई दिने मेन्टर्स मिटको आयोजना गरेको छ ।
२९ र ३० गते आयोजना भएको कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले मेन्टर्सका रूपमा छनौट भएका विभिन्न क्षेत्रका विज्ञहरु, सफल उद्यमीहरु, विषय विज्ञ प्राविधिकहरु, वरिष्ठ वित्तीय विश्लेषक, चार्टर्ड एकाउन्टेन्ट, कानुन विज्ञहरुले आ–आफ्नो विशेषज्ञताका आधारमा स्टार्टअपहरुलाई मेन्टरसिप सेवा उपलब्ध गराउन सहयोग गरेकोमा खुसी व्यक्त गरे ।
नयाँ सोच र आइडियालाई व्यावसायिक विकास रुपान्तरणमा सहयोग पु¥याउनु सबैको दायित्व भएको उनको भनाइ छ । उनले विकसित मुलुकहरुमा स–सानो लगानीबाट प्रारम्भ भएका स्टार्टअपहरुले विश्वभर आफ्नो व्यवसाय विस्तार गरेको उदाहरण दिँदै स्टार्टअपहरुको व्यावसायिक विकास र प्रवद्र्धनमा सबैको अग्रसरताका लागि अनुरोध गरे ।
स्टार्टअप समितिका संयोजक सुरेन्द्र गोल्छाले संगठनले प्रारम्भ गरेको स्टार्टअप तथा इनोभेसन कार्यक्रमले व्यावसायिक सेवाहरुको इकोसिष्टमको विकास गर्न एउटा सफल प्रणालीको विकास गर्ने विश्वास व्यक्त गरे । उनले व्यावसायिक विकासका लागि संगठनबाट छनौट हुने स्टार्टअपहरुमा लगानीको व्यवस्थापन गर्न भेन्चर क्यापिटल, एन्जेल क्यापिटललगायतका लगानीकर्ताहरुका साथ सहजीकरण र समन्वय गर्नुका साथै स्टार्टअपको आवश्यकताअनुसार नमुना उत्पादन, प्रयोगशाला परीक्षण तथा अनुसन्धानका लागि साझेदार संस्थाहरुमार्फत सेवा उपलब्ध गराउने बताए ।
समितिका सह–संयोजक बिजु थपलियाले मेन्टरस र स्टार्टअप व्यवसायीहरुको सम्बन्ध विस्तार गरी व्यावसायिक विकास र हितमा उपयोग गर्न दुई दिने मेन्टर्स मिटले सहयोग पुर्याउने बताए ।
संगठनले आयोजना गरेको मेन्टर्स मिटका सहजकर्ता तथा अन्तरप्रेरणा नेपालका प्रमुख कार्यकारी अधिकृत निरज खनालले संगठनबाट छनौट हुने स्टार्टअपहरुलाई उपलब्ध गराउने परामर्श सेवालाई दृष्टिगत गरी सफल मेन्टर्समा छिटो सिकाउन, आत्मविश्वास अभिवृद्धि गर्ने र लक्ष्य निर्धारण गर्न सक्ने क्षमताका विषयमा प्रष्ट पारेका थिए । उनले स्टार्टअपहरुको सम्बद्र्धन र प्रबद्र्धनमा सरकार, विकासशील संस्था, सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दलहरु, विभिन्न संघ/संस्थालगायत सबैको साथ र सहयोग आवश्यकता आाैंल्याए ।
मेन्टर्स मिटका उद्योगी, बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, कानुनविद्, महिला उद्यमीका साथै विषयगत विज्ञहरु गरी २० जनाको सहभागिता थियो ।