काठमाडौं । हिमालय एयरलाइन्सले अव सबै उडानमा जीवनदायी एइडीसहित उडान गर्ने भएको छ ।
यात्रु सुरक्षालाई मध्यनजर गर्दै एयरलाइन्सको सबै जहाजमा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर(एइडी) राखिएको छ ।
उक्त जीवनदायी मसिन राखिए पश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगत भन्दा अब उप्रान्त निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने निश्चित भएको जनाएको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ । अव हिमालय एयरलाइन्स जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको नेपालकै पहिलो र एक मात्र एयरलाइन्स कम्पनी भएको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यबस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने कार्य गर्दछ ।
यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ ।
विगत केहि सातादेखि हिमालय एअरलाइन्स्का सबै उडान कर्मचारीहरुलाई उक्त जीवनदायी मसिनको प्रयोग बारे यथेष्ट तालिम समेत दिएर दक्ष र निर्पूण पारिएको विज्ञप्तीमा उल्लेख छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटरले ज्यान जोखिममा परेका यात्रुहरुको जीवन पुनः फर्काउने हुँदा उडान यात्राभर तिनको विशेष महत्व हुने गर्दछ ।
तिनले अचानक हृदयगति बन्द भएका वा हुन लागेका बिरामीको हृदयगतिलाई पुनः सामान्य रुपमा फर्काउन मद्दत गर्ने हुँदा उडानमा यस्ता मसिनको उपलब्धताले नै अचानक हुनसक्ने हृदयघात, मुटु–फोक्सो असफल हुने समस्या जस्ता खतरनाक स्वास्थ्य स्थितिलाई धेरै हदसम्म उल्ट्याउन र सफलतम् उपचार समेत गर्न सकिने हुँदा मध्य आकाशमा समेत बिरामीको ज्यान बचाउन सकिने जनाएको छ ।
उडानरत जहाजमा यस्ता मसिनको अभावमा कदाचित कुनै यात्रुको हृदयगात बन्द हुने समस्या आइपरेमा बिरामीको उपचारको लागी जहाज फर्काउनु पर्ने हुनसक्छ र उपचारमा आशातीत सफलता प्राप्त नहुन पनि सक्ने भएकोले हिमालयले यस्तो उपकरण जडान गरेको उल्लेख छ ।
यस्ता मसिनहरु प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ग्राउण्ड ह्याण्डलिङ्ग कार्यालयमा समेत जडान गरीसम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको जनाएको छ ।
एयरलाइन्सले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ ।