काठमाडौं । अहिले बजारमा गाडीको अभाव छ । बुकिङ गरेको डेढ महिनासम्म ग्राहकले गाडी पाउने अवस्था छैन । दसैं–तिहार लगायतका चाडबाड गाडीको बिक्री ३० देखि ३५ प्रतिशतसम्म बढ्छ । यस्तो बेला गाडीको अभाव हुँदा व्यापारीले अपेक्षित व्यवसाय गर्न सकेका छैनन् ।
गाडीको चिप्स तथा ढुवानी गर्ने भेसल नपाएका कारण डेढ महिनादेखि कारहरू नेपाल आइपुगेका छैनन् । बजारमा गाडी अभाव भइरहेका बेला पनि केही कम्पनीले चाडबाडमा विभिन्न अफर सार्वजनिक गरिरहेका छन् ।
हुण्डाई गाडीले दसैं लक्षित योजना ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ सार्वजनिक गरेको छ । त्यस्तै टाटा मोटर्सले दसैं अफरमा ग्राहकको हात खाली नजाने अफर ल्याएको छ भने, सीजी मोटोकर्पले दसैं–तिहार भरीका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
नेपालमा निसान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दसैंमा २ वटै गाडीको खरिदमा नगदसहित विभिन्न छुट दिएको छ ।
त्यस्तै एभान्स अटो मोबाइल्स अन्तर्गतको रेनल्ट गाडीले पनि दसैं लक्षित योजना सार्वजनिक गर्ने तयारी गरेको छ । अन्य कम्पनीहरूले पनि धमाधम आफ्ना योजना र अफरहरू सार्वजनिक गर्ने क्रम तीव्र गतिमा चलिरहेको छ । मानौं चाडबाड लक्षित योजना तथा अफरहरू नल्याए संस्थाको महत्व र गरिमा नै घट्छ ।
वास्तवमा चाडबाड नजिकिएसँगै किन आफ्ना योजनाहरू अगाडि सार्छन् त कम्पनीहरू ? हुण्डाईको लागि नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका बजार प्रमुख सन्दिप शर्मा चाडपर्व लक्षित अफर ल्याउनुमा कम्पनीको फाइदालाई नभई ग्राहकको चाहनालाई ध्यान दिने गरेको बताउँछन् ।
उनले भने, ‘धेरै जनाले दसंै–तिहार वा चाडपर्वमा नयाँ सामान खरिद गर्ने योजना बनाएर बसेका हुन्छन् । ग्राहकासँग वर्षभरिको केही पैसा बचत र काम गरेको ठाउँमा पनि बोनसहरू पाउने हुन्छ, त्यसलाई थप सहज बनाउन हामीले अफर तथा योजनाहरू सार्वजनिक गर्छौं ।’
अन्य कम्पनीसँग पनि प्रतिस्पर्धा हुने पनि बजार प्रमुख शर्माले बताए । ‘कम्पनी–कम्पनीबीच पनि प्रतिस्पर्धा त भइहाल्छ, कसले कस्तो अफर ल्यायो भनेर ग्राहकले पनि बुझ्न खोज्छन् । अरू कम्पनीलाई पनि हेरेर हामीले योजनाहरू सार्वजनिक गर्छौं ।’
उक्त योजनामा ग्राहकहरूलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था रहेको हुण्डाईले जनाएको छ । बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई आई ट्वान्टी गाडी पाउँछन् । त्यस्तै गाडी खरिदमा ३ लाख रुपैयाँसम्मको नगद छुट तथा स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्म थप नगद छुट ग्राहकले पाउँछन् ।
त्यति मात्रै होइन एक वर्षसम्मको बिमा र सडक कर (चालू आर्थिक वर्षको) निःशुल्क हुनेछ । कम्पनीले हुण्डाई गाडीको खरिद गर्दा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी सुविधासमेत दिएको छ ।
त्यस्तै टाटा मोटर्सले पनि दसैं अफरअन्तर्गत ग्राहकको हात खाली नजाने अफर ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले २०७८ को दसैंलाई लक्षित गर्दै हातै खाली नजाने अफर ल्याएको हो । योजनामा टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्छन् ।
टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्र, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने सिप्रदीले जनाएको छ ।
त्यस्तै हरेक साताको ‘लक्की ड्र’ मार्फत बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जनाले ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर ‘लक्की ड्र’ मार्फत गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जना ग्राहकले थप उपहार प्राप्त गर्ने बताइएको छ । सो योजना असोज १४ गतेसम्म लागू हुन्छ ।
नियमित रूपमा दिइरहने स्किममा चाडवाडको समयमा केही थप गर्ने र ग्राहकलाई प्रोत्साहन गर्ने गरेको बताउँछन् सिप्रदी ट्रेडिङका कर्पोरेट ब्राण्ड एण्ड कम्यूनिकेसन्स प्रमुख शुभम् श्रेष्ठ । यद्यपि कम्पनीले योजना तथा अफरहरू नदिए ग्राहकले नै माग्ने गरेको उनको भनाइ छ ।
‘ग्राहकको दसैंको बेलामा परिवारसँग घुम्न जाने तयारी हुने भएकाले गाडी तथा नयाँ सामान किन्ने योजना बताउँछन्, हामीले अरु कम्पनीसँग प्रतिस्पर्धा गरेर होइन बरु ग्राहक तथ अन्य डिलरहरूसँग छलफल गरेर उनीहरूकै सुुझावअनुसार अफर ल्याउँछौं ।’
नेपालमा निसान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियोर मोटो कर्पले दसैंमा २ वटै गाडीको खरिदमा नगदसहित विभिन्न छुट दिएको छ । कम्पनीले निसानको गाडी खरिद गर्ने ग्राहकलाई २ लाख ५० हजार नगद छुटका साथै १/१ वर्षको बिमा र रोड ट्याक्स तथा ३/३ वर्ष फ्रि सर्भिस र वारेन्टी फ्रिमा उपलब्ध गराउने पायोनियरकी डेपुटी मार्केटिङ मेनेजर कम्युनिकेसन्स स्वेता सिलवालले बताइन् ।
त्यस्तै ड्याट्सन गाडीको खरिदमा १ लाख २५ हजार नगद छुट तथा २८ हजार मूल्यको रेड्मी नोट १० मोबाइल दिने पायोनियरले जनाएको छ । साथै १÷१ वर्षको बिमा र रोड ट्याक्स तथा ३/३ वर्ष फ्रि सर्भिस र वारेन्टी फ्रिमा पाउने छन् ।
यसरी चाडबाड लक्षित योजना र अफरहरू ल्याउँदा ग्राहकलाई नै ध्यानमा राख्ने गरेको सिलवाल बताउँछिन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भनिन्, ‘ग्राहकको लागि जति अकर्षक अफरहरू दियो, त्यति नै हाम्रो बिक्री बढ्ने हो । प्रतिस्पर्धा त हुन्छ नै, अरुले दिएको अफरभन्दा राम्रो कसरी गर्न सकिन्छ र ग्राहक आफ्नो कम्पनी तिर कसरी ल्याउन सकिन्छ भन्नि सोचेर नै अफरहरू ल्याउँछौं ।’
सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं–तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
उक्त योजनामा ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्ने छन् ।
चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले पनि ‘दसैं–दक्षिणा’ योजना ल्याएको छ । उक्त योजनामा ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा ६ लाखसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्ने छन् ।
त्यस्तै कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ५० हजारदेखि २ लाख रूपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्छन् । यसैगरी प्रोटोनको नयाँ गाडी किन्न इच्छुक ग्राहकका लागि सो योजनाले ५० हजार देखि २ लाख ५० हजारसम्म छुटको व्यवस्था गरेको छ ।