काठमाडौं । लामो समयदेखि विभागीयमन्त्री नहुँदा निर्णयमा समस्या भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यालिब्रेसन फ्लाइटको निर्णय गर्ने अधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै दिएको छ ।
प्राधिकरणले ‘इन्डियन एयरपोर्ट अथोरिटी’ सँग क्यालिब्रेसन उडानका लागि प्रस्ताव गर्दै अनुमतिका लागि मन्त्रालयमा फाइल पठाएको थियो।
केही दिन अघिमात्र सचिवस्तरीय निर्णयबाट प्राधिकरणलाई क्यालिब्रेसन फ्लाइट सम्झौता र निर्णय गर्ने अधिकारसहितको पत्र पठाएको हो । तर, प्राधिकरणले सञ्चालक समितिबाट निर्णय भने गराउनुपर्ने छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि ढिलाइ नहोस् भन्ने उद्देश्यका साथ सम्पूर्ण अधिकार प्राधिकरणलाई नै दिने गरी पत्र पठाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
मन्त्रालयको कारण प्राधिकरणका कुनै कामकाज नरोकियोस भन्ने उद्देश्यले निर्णय गर्ने अधिकार बोर्डलाई दिने गरी पत्र पठाएको उनको भनाइ छ ।प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मन्त्रालयबाट क्यालिब्रेसन फ्लाइटको निर्णय र सम्झौता गर्ने अधिकारसहितको पत्र प्राप्त भएको जानकारी दिए ।
‘मन्त्रालयबाट पठाएको पत्र प्राप्त भएको छ, महानिर्देशक पोखरेलले भने, अब केही दिनभित्र बोर्डमा प्रस्ताव लगेर जानेछु ।’ तालुकदार मन्त्री नभएका कारण प्राधिकरणको अध्यक्ष अहिले प्रधानमन्त्री शेरबहादुर देउवानै छन् ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न विमानस्थल परिसरमा जडित उपकरण ठीक भए–नभएको र ती उपकरणले सही काम गरे–नगरेका बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गरिने नै क्यालिब्रेसन फ्लाइट भनिने बताए ।
परीक्षण उडानका लागि विशेष विमान ल्याउने सम्झौताअनुरूप आईसीबी टुको ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । कोभिड–१९ का कारण त्यहाँको सरकारले विमान आउन अनुमति नदिएको कारण विभिन्न मुलुकसँग कुरा गरेपनि भारत मात्र तयार भएको प्रवक्ता क्षेत्रीको भनाई छ ।
विमानस्थलमा सूचना तथा विद्युतीय सामग्री उपकरणलगायत संरचनाको जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाइ कम्पनीले त्यहीँको कम्पनीबाट उपकरण ल्याउन पहल गरे पनि कोभिडका कारण आउन नसकेपछि प्राधिकरणले भारतसँग सम्झौता गर्न लागेको हो ।
प्राधिकरणले भारतको एयरपोर्ट अर्थोरिटीसँग पाँच वर्षका लागि जीटुजी मोडलमा सम्झौता गर्न लागेको प्रवक्ता क्षेत्रीले बताए ।
प्रवक्ता क्षेत्रीका अनुसार क्यालिब्रेसन फ्लाइट पछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमअनुसार एआईपी एरोनटिकल पब्लिकेसनमा विमानस्थल सम्बन्धित विवरण प्रकाशन गरेर मात्रै परीक्षण उडान गर्न पाइन्छ । क्यालिब्रेसन फ्लाइटका लागि करिब ३ महिनाको समय लाग्नेछ ।
विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । विमानस्थल सन् २०२२ को जनवरीसम्म सञ्चालनमा ल्याउने सरकारी योजना छ ।