काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले मध्यरातमा आईफोन १३ सिरिजका चारवटा फोन सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १३ सिरिजका आईफोन १३ बेस मोडल, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स सार्वजनिक गरेको हो ।
यो नयाँ लाइनअपमा कम्पनीले कम्तीमा १२८ जीबीदेखि अधिकतम १ टीबी अर्थात् हजार जीबीको इन्टरनल स्टोरेज अप्सन प्रदान गरी स्टोरेजको पाटोमा अभूतपूर्व काम गरेको छ ।
जसमा यसका बेस र मिनी मोडलमा १२८, २५६ र ५१२ जीबीको अप्सन छ भने हाई एण्ड मोडल प्रो र प्रो म्याक्समा २५६, ५१२ जीबी र १ टीबीसम्मको स्टोरेज अप्सन छन् । आईफोन मोडलमा उपलब्ध स्टोरेज क्षमतामध्ये १ टीबी हालसम्मकै उच्च हो । तर, आईफोन १३ लाई नयाँ डिजाइन र नयाँ फिचरसहितको फोनभन्दा पनि आईफोन १२ कै परिस्कृत भर्सनको रुपमा लिने गरिन्छ ।
आईफोन १३ को डिजाइन
एप्पलले आईफोन १३ को डिजाइनलाई केही राम्रा परिवर्तनहरु समेटेको छ । एप्पले बारम्बार प्रयोग गर्दै आइरहेको राउण्ड फ्रेम डिजाइनलाई हटाएर स्क्वायर्ड अफ मेटल फ्रेम प्रयोग गरेको छ । त्यसो त आईफोन १३ को स्टाइलमा कुनै पनि नाटकीय परिवर्तन भएका छैनन् तर केही सूक्ष्म परिवर्तन भने अवश्य गरिएका छन् ।
आईफोन १३ लाइनअप पनि झट्ट हेर्दा त उसका पूर्ववर्ती मोडलभन्दा फरक देखिन्न । तर, यसको माथिल्लो भागमा रहेको नोचको आकार भने अन्य आइफोन मोडलको तुलनामा २० प्रतिशत सानो छ ।
यसअघि आईफोन एक्समा मात्र घटाइएको नोचको आकार पछिल्लो समय यहीँ मोडलमा घटाइएको हो । एप्पलको नयाँ आईफोन लाइनअप सधैं नयाँ आईओएस भर्सनमै आउने गर्छन् । यसपटक आईफोन १३ पनि नयाँ आईओएस १५ भर्सनमा आएको छ ।
पर्फमेन्स र इन्टरनल
आईफोन १३ एप्पलको नयाँ ए १५ बायोनिक चिपसेटसहित बजारमा सार्वजनिक भएको छ । यसमा ६ कोर प्रोसेसर र ४ कोर जीपीयू छ । यस प्रोसेसरमा दुईवटा हाई पर्फमेन्स र चारवटा हाई इफिसियन्सी कोर छन् । एप्पलका अनुसार यो नयाँ चिपले आफ्नो एप्पल प्रतिस्पर्धीको तुलनामा ५० प्रतिशत फास्ट सीपीयू र ३० प्रतिशत फास्ट जीपीयू पर्फमेन्स दिन्छ ।
आईफोन १३ को बेस र मिनि मोडलमा १२ सय निटको सुपर रेटिना एक्सडीआर डिस्प्ले छ भने अन्य दुई हाई एण्ड मोडल प्रो र प्रो म्याक्समा हजार निट बराबर उज्यालो प्रदान गर्ने डिस्प्ले छ । यी हाई एण्ड मोडलमा १२० हर्जको रिफ्रेस रेट पनि छ ।
यसका डिस्प्लेलाई यसरी तयार गरिएको छ कि यसले फरक-फरक प्रयोगकर्ताहरुको आआफ्नै औंलोको गतिमा काम गर्दछ र त्यसै अनुसार रिफ्रेस रेट घटाउने बढाउने काम पनि गर्दछ । कसैले ढिलो औंला चलाउँछ भने यो १० हर्जमा पनि काम गर्छ छिटो गर्नु छ भने १२० हर्जमा समेत काम गर्छ ।
क्यामेरा
एप्पलको एउटा रोचक फिचर भनेको क्यामेरा हो । हरेक नयाँ लाइनअपमा प्रयोगकर्ताले केही नयाँ आउने आशा गरिरहेका हुन्छन् । यसपटक पनि एप्पलले अरू समय झै यसलाई सम्बोधन गरेको छ ।
सबैभन्दा पहिले आईफोन १३ मोडलमो मुख्य वाइड एंगल क्यामेराको सेन्सर अपग्रेड भएर १.७ पुगेको छ जसले थप ५० प्रतिशत धेरै प्रकाश खपत गर्न सक्छ । यसले न्युन प्रकाशका फोटोहरुलाई धेरै राम्रो बनाउन मद्दत गर्ने छ । यस्तै यसको अल्ट्रा वाइड क्यामेरामा पनि २.४ एफको धेरै अपार्चर प्रदान गरिएको छ जसले धेरै प्रकाश छिराएर न्युन प्रकाशको फोटोग्राफीलाई राम्रो बनाउन मद्दत गर्नेछ ।
यस्तै १३ प्रो र प्रो म्याक्सको टेलिफोटो क्यामेरामा रहेको अप्टिकल जुम पनि २ एक्सदेखि ३ एक्समा अद्यावधिक भएको छ । प्रो मोडलका अल्ट्रा वाइड क्यामेरामा अतिरिक्त म्याक्रो फोटोग्राफी मोड थप भएको छ जसले प्रयोगकर्तालाई थप क्लोज इमेजका लागि दुई सेन्टिमिटर नजिकसम्म शुट गर्न सहजता प्रदान गर्दछ ।
यस्तै आईफोन १३ मा दुईवटा नयाँ भिडियो सुटिङ फिचर पनि थप भएका छन् । नयाँ सिनेम्याटिक मोड सबै आईफोन १३ मोडलहरुमा उपलब्ध छ । यसबाट प्रयोगकर्ताल्े एउटा सब्जेक्टबाट अर्कोमा विस्तारै फोकस परिवर्तन गर्न सक्छ ।
आईफोनका दुई प्रो मोडलले प्रोरेसमा भिडिया खिच्न सक्छन् । जुन प्रोफेशनल भिडिया शूटिङमा प्रयोग हुने अत्याधुनिक भिडियो केड्याक हो । यसबाट उच्च कलर फिडेलिटी, कम कम्प्रेसन र भव्य इडिटिङ फ्लेक्जिबिलिटीमा भिडियो फुटेजहरु खिच्न सकिन्छ ।
ब्याट्रीमा उत्कृष्ट
आईफोन १३ का दुबै प्रो मोडलहरुको ब्याट्री पनि एकदमै शक्तिशाली छ । यसअघिका मोडलहरुको तुलनामा यिनको क्षमता अधिक छ । गत वर्ष सार्वजनिक भएको आईफोन १२ प्रोको तुलनामा १३ प्रोको ब्याट्री डेढ घण्टा धेरै समय टिक्छ । यस्तै १३ प्रो म्याक्सको ब्याट्री १२ प्रो म्याक्सको तुलनामा अढाई घण्टा बढी समय टिक्छ ।
मूल्य र उपलब्धता
चार रंगमा उपलब्ध हुने आईफोन १३ लाइनअप गोल्ड र सेइर्रा ब्ल्युमा सबैभन्दा उत्कृष्ट देखिन्छ । फोनको मूल्यको कुरा गर्दा आईफोन १३ प्रोको मूल्य १ लाख १९ हजार ९०० भारुदेखि सुरु भएको छ भने प्रो म्याक्सको मूल्य १ लाख २९ हजार ९ सय भारु सुरु हुन्छ ।
यसअघि १२ प्रो र १२ प्रो म्याक्सको मूल्य पनि यहीँ अंकबाट सुरु भएको थियो । सेप्टेम्बर १७ देखि प्रि अर्डरका लागि उपलब्ध हुने यो फोन सेप्टेम्बर २४ देखि भारत लगायत मुलुकमा समेत उपलब्ध हुने बताइएको छ ।