काठमाडौं । कोभिड महामारीकै बीचमा चितवनको भरतपुरमा चारतारे होटल सिराईचुली सञ्चालनमा आएको छ । महामारीको मारमा परेर व्यवसायबाटै पलायन हुने क्रम बढिरहेको बेला पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ सिराईचुली होटल प्रालिले होटल सञ्चालनमा ल्याएको हो । आन्तरिक र बाह्य पर्यटकहरुको मुख्य रोजाइमा पर्ने चितवनमा नयाँ होटलले प्रवेश पाएको हो ।
करिब ९० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो होटल १० कट्ठा क्षेत्रफलमा फैलिएको अध्यक्ष चूडामणि खनालले जानकारी दिए । उनले लामो समयदेखि चितवनलाई बेस बनाएर शिक्षा, स्वास्थ्य र हस्पिटालिटी क्षेत्रमा लगानी बढाउँदै आएका छन् । उनी युनाइटेड टेक्निकल कलेजका अध्यक्ष हुन भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटका उपाध्यक्ष हुन । यस्तै नारायणी अस्पताल, पटियानी रिसोर्ट र कविलास रिसोर्टका डाइरेक्टरसमेत छन् ।
शिक्षा र स्वास्थ्यसँगै पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गर्ने उद्देश्यका साथ उनले सामूहिक रुपमा सिराईचुली होटल सञ्चालनमा ल्याएको बताए । ’यहाँ विभिन्न क्षेत्रका साथीहरुको लगानी रहेको छ, अध्यक्ष खनालले भने, मेरा सबै व्यवसाय समूहमा नै छ ।‘
भरतपुर हाइटमा निर्माण भएको सो होटलले केही समयअघि मात्र सफ्ट लन्च गरेको हो । होटलको केही भित्रि कामहरु बाँकी रहेकाले डिसेम्बरमा फुलफेजमा सञ्चालनमा आउने महाप्रवन्धक रोशन खवासले जानकारी दिए । होटलमा स्वीट्स, लक्जरी, डिलक्स, एजुकेटिभ र स्टान्डर लेभलका गरी ७१ वटा कोठाहरु छन् ।
आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरी निर्माण गरिएको सो होटलले चारतारेको मान्यताका लागि प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।होटलमा २ वटा रेष्टुराँ र ३ वटा बैङ्क्युट हलसमेत छ । ती हलहरुमा करिब १७ सय जना अट्ने क्षमता छ भने ५ वटा बोर्ड मिटिङ रुमहरु रहेको महाप्रवन्धक खवासको भनाइ छ ।
अग्लो ठाउँमा होटल निर्माण गरिएकाले लबीदेखि रुफटपसम्मबाट मनोरम दृश्यहरुलाई नियाल्नुको साथै केही हिमालहरुलाई समेत हेर्न सकिने जनाइएको छ । रुफटपमा रेष्टुराँसहित आउटडोर इन्फिटी पुल, जिम र स्पा सञ्चालनमा उनले बताए । होटलले प्रि ओपनिङ अफरका रुपमा सेप्टेम्बरसम्म भारी छुटको अफरसमेत ल्याएको छ ।
३ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्मको अफर ल्याएको र सो अफर सेप्टेम्बरसम्म कायम रहने जनाएको छ । होटलका सबै कर्मचारीहरुले कोभिड विरुद्धको खोप लगाइसकिएकाले विशेष गरेर खोप लगाएका पर्यटकहरुलाई होटलले स्वागत गरिरहेको बताइएको छ । भरतपुर हाइटमा भाटभटेनी नजिकै होटल सञ्चालनमा छ ।