काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको साझा कम्पनी नेपाल डिटिजल पेमेन्ट कम्पनीको मोबाइल भुक्तानी ‘नमस्ते पे’ सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबीच नमस्ते पेको प्रथम चरणको व्यावसायिक सञ्चालन शुभारम्भ भएको हो ।
सो कार्यक्रममार्फत नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एपको अनावरण तथा ५०० सर्टकोड यूएसएसडीबाट सो सेवा प्रयोग समेतको सुुरुवात गरिएको थियो ।
आईओएसको लागि केही औपचारिक तयारी बाँकी भएकाले सो सिस्टमका मोबाइलका लागि पनि सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने कम्पनीले जानकारी दिएको छ । प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् ।
यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकसहित करिब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लग्ने कम्पनीले बताएको छ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशीघ्र सुुरु र सोको लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको जनाएको छ ।
सो कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्याल, राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख तथा सञ्चालक समितिका सदस्य तथा उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।
जेठमै सेवा सुचारु हुने भनिए तापनि कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाइ एवं सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकूल प्रभावको कारण सेवाको व्यावसायिक सञ्चालन कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको छ ।