दमौली । राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित ५ मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।
निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरिन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताइन । मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी गराइन ।
गरिवीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका १ करोड ४० लाख जनता लाभान्वित हुने उल्लेख गरिन ।
जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी दिनुभयो । कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप ३ मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ ।
आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । ४३ करोड रुपैयाँको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ । फण्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ । आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ ।
आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ ।