काठमाडौं । चालु आर्थिक वर्षमा बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम भएको छ । साउनयता सार्वजनिक तथा निजी लगानीका ३ वटा साना र ठूला जलविद्युत आयोजना सम्पन्न भई प्रणालीमा ४८६ मेगावाट बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो
उत्पादन हालसम्मकै यो उच्च हो । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीबाट ४५६, सिंगटी खोलाबाट २५ र गोरखा आयोजनाबाट ५ मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ । निजी लगानीबाट निर्माण भइरहेका अयोजना सम्पन्न हुने क्रम बढेको छ । यस्तै विद्युत प्राधिकरणले सहायक कम्पनीहरुबाट निर्माण गरिरहेको ५७ मेगावाटका माथिल्लो तथा तल्लो सान्जेन र १११ मेगावाटको रसुवागढीबाट यो आर्थिक वर्षभित्र बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।
यस्तै बुटवल पावर कम्पनीले सहायक कम्पनीबाट निर्माण गरिरहेको ३० मेगावाटका न्यादी जलविद्युत आयोजना सम्पन्न हुने चरणमा रहेका छन् । बिजुली उत्पादन बढेर १९०० मेगावाट पुगेको छ ।
यो वर्ष माथिल्लो त्रिशुली ३ बीबाट ३७ राहुघाटबाट ४० मेगावाट र मध्य भोटेकोसीबाट १०२ मेगावाट बिजुली उत्पादन हुने प्रक्षेपण सरकारले गरेको छ । सरकारले १६०० मेगावाट थप उत्पादनको लक्ष्य लिएको छ ।
निजी क्षेत्रबाट १०५५ मेगावाट थप गरी महत्वकाँक्षी लक्ष्य पूरा गर्ने सरकारको योजना छ । यस्तै हिमालयन पावर पार्टनरले बनाइरहेको २७ मेगावाटको दोर्दीखोला आयोजनाबाट असोजदेखि बिजुली उत्पादन हुँदैछ ।
सरकारले चालू आर्थिक वर्षमा बिजुली उत्पादन बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य पुरा नभए पनि आधा बिजुली थप हुने देखिएको छ । कोराना महामारीले अवरुद्ध अधिकाँश आयोजनाको काम अन्तिम चरणमा पुगेकाले प्रणालीमा जोडिने क्रममा रहेका छन् ।
यस्तै बिजुलीको पहुँच विस्तार भई आगामी वर्षभित्र ९७ प्रतिशत जनसंख्याले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाउने छन् । नेपाल विद्युत प्राधिकरण र जनताको संयुक्त लगानीमा ९९ मेगावाट क्षमताको तामाकोसी ५ को निर्माण आगामी आर्थिक वर्षदेखि सुरु हुने भएको छ । ६३५ मेगावाट क्षमताको जलाशययत्त दधकोसी आयोजनाको निर्माण सुरु हुने भएको छ ।
तनहुँ जलविद्युत आयोजना निर्माण कायलाई तिब्रता र अर्ध जलाशययुत्त माथिल्लो अरुण आयोजनाको पूर्वतयारीको काम सम्पन्न गरिने भएको छ । यसका लागि ७ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । अरुण, फुकोट कर्णाली,जगदुल्ला, सिम्बुवा तथा घुन्सा खोला आयोजनाको लगानी ढाँचा यकिन गरी पूर्वतयारीको काम गरिने भएको छ ।
७६५ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको काम हुने भएको छ । बूढीगण्डकी, पश्चि सेती, उत्तरगंगा र नलगाड आयोजनाको निर्माण ढाँचा निधारण गरी स्रोत व्यवस्थापनको लक्ष्य राखिएको छ । यस्तै कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण लागेको ४४२ मेगावाटको वेतन कर्णाली आयोजनाको पनि निर्माण थालिने भएको छ ।
यस्तै सरकारले ल्याएको प्रतिस्थापन बजेटमा २०० मेगावाट माथिका ठूला अर्धजलासय तथा जलासय आयोजनालाई १५ वर्ष पुरै र ६ वर्ष आधा कर छुट दिने व्यवस्था गरेको छ ।