काठमाडौं । नेपाल र रुसबीच पर्यटन प्रवर्द्धनमा सहकार्यमा जोड दिएको छ । सोमबार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभा बीच सोमबार भेटवार्तामा पर्यटन प्रवर्द्धनमा सहकार्यमा जोड दिएको हो ।
दुवै देशबीच लामो सम्बन्ध रहिआएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवर्द्धन गर्न सकिने कुरामा जोड दिइएको थियो ।
दुवै देशका कूटनीतिक व्यक्ति,सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान-प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।
बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपालले विस्तारै पूर्ण खोप लगाएका पर्यटकबाट पर्यटनलाई सुचारु गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
उनले साहसिक पर्यटनमा रुचि राख्ने रुसी पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए । विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको उनको भनाई छ ।
पर्यटन बोर्ड र नेपाल स्थित रसियन कल्चर सेन्टरसँगको सहकार्यमा भाषा प्रशिक्षण, नेपालको एेतिहासिक सहर भक्तपुर र रुसको एेतिहासिक सहर ड्रविनबीच भगिनी नगरेको सम्बन्ध स्थापना गर्ने लगायतका विषयमा सहकार्य गरेर काम काम गर्न सकिने बताए ।
नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाले नेपालको कला संस्कृति र विविधता प्रतिरुसी पर्यटक मोहित हुने गरेको उल्लेख गर्दै उहाँले रुसी नागरिकले नेपाललाई उत्कृष्ट गन्तव्य रुपमा लिने गरेको बताइन् ।
रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौंका निर्देशक समेत रहनु भएकी आन्द्रोसोभाले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान-प्रदान गर्न आफुहरु सदा तयार रहेको उनले बताइन् ।