काठमाडौं । नेपालको औद्योगिक घराना शारदा ग्रुपले नयाँ पुस्ताको व्यवसाय ई–कमर्समा लगानी गरेको छ । ग्रुपले आईओटी इन्कर्पाेरेसनमार्फत ई–कमर्स साइट यसकार्ट डटकम सञ्चालनमा ल्याएको हो ।
यसकार्ट डटकममा नेपालमा उपलब्ध टेक्नोलोजीका सामान मोबाइल, इलेक्ट्रिोनिक, सेक्युरिटीका प्रडक्टदेखि फेसन र स्पोर्टसलगायतका सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्रुपका निर्देशक गौरव शारदाले यसकार्टमार्फट ओरिजिनल सामान मात्र बिक्री हुने बताए । ‘हामीले थर्ड पार्टीबाट सामान ल्याएर यसकार्टमा डिस्प्ले गर्दैनौं, यसमा सम्बन्धित कम्पनीकै आधिकारिक वितरकमार्फत सामान ल्याएर डिस्प्ले गर्ने र बिक्री गरिन्छ,’ उनले भने ।
नेपालमा ई–कमर्स व्यवसायको विश्वसनीयता बढाउनका लागि कुनै पनि वारेन्टी नभएका, डुप्लिकेट सामान यसकार्टले बिक्री नगर्ने उनले बताए ।
यसकार्टले काठमाडौंभित्र अर्डर गरेको २४ घन्टाभित्र सामान डेलिभरि गर्ने कम्पनीले जनाएको छ ।
नेपालमा पछिल्लो पटक ई–कमर्स र अनलाइन व्यवसाय बढिरहेको भए पनि गुणस्तर सामान उपलब्ध नहुने र प्रयोगकर्ताहरुले गुनासो गर्ने परम्परा बढ्न थालेपछि शारदा ग्रुपले हरेक ब्रान्डको आधिकारिक वितरकसँग मात्र सामान लिएर उपभोक्तालाई बिक्री गर्ने योजनाका साथ आएको शारदाले बताए ।
यसकार्टमा मोबाइलका टप ब्रान्डजस्तै साओमी, एप्पल, सामसुङ, रेडमी, एलजी, ओप्पो, वानप्लसलगायतका विभिन्न मोडलका मोबाइलहरु उपलब्ध छन् । त्यस्तै सामसुङ, एलजी, एमआईका टेलिभिजन र होम इन्टरटेनमेन्टका सामान राखिएको छ । सामसुङ, एलजीका फ्रिज, वासिङ मेसिनदेखि स्पोर्टस् र म्युजिकका सामानहरु उपलब्ध छन् ।
यसकार्टले दोस्रो चरणमा दैनिक उपभोग्य सामग्रीहरु पनि राख्ने योजना बनाएको कम्पनीले जनाएको छ । यसकार्टमा खल्ती, ई–सेवा, भिजा, मास्टरकार्डमार्फत सामान खरिद गर्न सकिने व्यवस्था छ ।
हाल एन्ड्रोइड एपमार्फत पनि अर्डर गर्न सकिने यसकार्टको चाँडै आईओएस प्लेटफर्ममा मोबाइल एप पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
यसकार्ट सञ्चालनमा आएको अवसरमा कम्पनीले एन्ड्रोइड एपमार्फत २ सय रुपैयाँ बराबरको भौचर ग्राहकलाई उपलब्ध गराएको जनाएको छ ।
शारदा ग्रुपको यसकार्ट ई–कमर्स कान्छो व्यवसाय हो ।