काठमाडौं । आफू उद्यमी भएपछि अरुलाई पनि उद्यमी बनाउने भावना नभएको भए विजय पौडेले अहिले सामान्य होटल वा रेष्टुराँका सामान्य मालिक हुन्थे । तर, उनको यात्रा अविछिन्न उद्यमी जन्माउने, दक्ष जनशक्ति बनाउने र रोजगारी दिलाउनेसम्म अगाडि बढिरहेको छ ।
नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम्) मा अध्ययन गरेका धेरै विद्यार्थीहरू अधिकांश रोजगारीमै छन् । कतिले होटलमा काम गरिरहेका छन् भने कति बिदेसिएका छन् । केहिले आफ्नै व्यवसाय सुरु गरेका छन् । व्यवसाय सुरु गरेका मध्येका हुन्, विजय पौडेल ।
उनले हाल पोखरामा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज सञ्चालन गरिरहेका छन् । उनको अहिलेको जुन सफलता छ त्यो सफलता हात पार्न धेरै संघर्ष गरे । जब, संघर्ष गरिन्छ तब एकदिन न एक दिन सफलता मिल्छ भन्ने उदाहरण हुन्, पौडेल ।
पर्वतमा जन्मिएका पौडेलको बाल्यकाल भने चितवनमा बितेको थियो । सानै उमेरमा विदेशी पर्यटकहरूसँग नजिकिने बानी परेका पौडेलले पर्यटन क्षेत्रमै आफूले केही गर्ने सोही बेला योजना बनाएका थिए । उनले सौराहामा आउने पर्यटकहरूलाई जंगल घुमाउनेदेखि लौरो बेचेरसमेत आम्दानी गर्ने गरेका थिए ।
चितवनमा प्रारम्भिक अध्ययन सकाएर उनी काठमाडौंमा होटल म्यानेजमेन्ट अध्ययनका लागि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)मा भर्ना भए । नाथमको अध्ययन सकिएपछि उनी इन्टनसिपका लागि ब्लूस्टार होटलमा गएका थिए । जुन चारतारे मान्यता प्राप्त होटल हो, तर, अहिले बन्द भइसकेको छ ।
इन्टनसिप सकिएपछि उनले त्यही जागिर पाए । सन् १९९८ देखि २००४ सम्म काम गरेका पौडेल सु-सेफ समेत भए । त्यसपछि भने पछि उनले सन् २००४ देखि २००५ सम्म फूलबारी रिसोर्ट(पाँच तारे होटल)मा काम गरे । र, सीटीईभीटीमा कुकिङ प्रशिक्षकका रुपमा १ वर्ष काम गरे ।
विभिन्न क्षेत्रमा काम गर्दागर्दा उनले पोखराका होटलहरूमा दक्षसीपयुक्त जनशक्ति नभएको महसुस गरे । त्यहाँ काम गर्ने अधिकांश काठमाडौंबाटै ल्याउनुपर्ने बाध्यतालाई हटाउनका लागि केही न केही नयाँ काम सुरु गर्नुपर्छ भन्ने सोच उनले बताए ।
उनको सोचलाई व्यावसायिकतामा बदल्न सन् २००५ मा कान्तिपुर होटल ट्रेनिङ सेन्टरको स्थापना गरे । पोखरा पर्यटनको ठूलो हब रहेका कारणले सीपयुक्त जनशक्ति आफैंले तयार गर्न सकिएको खण्डमा आफ्नो अनुभव अझ बढी सेयर गर्दै लान सकिने र समाजमा रहेका बेरोजगार शिक्षित युवाहरूलाई एकीकृत गर्दै दक्ष जनशक्ति तयार गरी होटल व्यवसायीको मागअनुरुप रोजगारी दिन सहजताका लागि कान्तिपुर होटल ट्रेडिङ सेन्टरले ठूलो सफलता हात पर्यो ।
६ जना विद्यार्थीबाट सुरु भएको ट्रेनिङ सेन्टर
ट्रेनिङ सेन्टर खुलाए पनि विद्यार्थी पाउन भने उनलाई सुरुवातमा मुस्किल पर्यो तर हार खाएनन् । विद्यार्थी खोज्न उनी त्यहाँको घर–घरमा गए । अन्तिममा ६ जना विद्यार्थी जम्मा गरेर तीन महिना तालिम दिए । संयोग भन्नुपर्छ तीन महिना तालिम लिएका ती ६ जना विद्यार्थीले तत्कालै मासिक १५ हजार तलब पाउने गरी रोजगारी पाए ।
तालिमपछि तत्कालै रोजगारी पाएपछि उनको तालिम सेन्टरमा सबैको ध्यान गयो । त्यसपछि भने उनले विद्यार्थी नपाउनेभन्दा पनि कसरी व्यवस्थापन गर्ने चिन्ताले सताउन थाल्यो । उनको तालिम लिएकाहरू देशभित्र मात्र होइन, विस्तारै विदेशमा गएर पनि काम गर्न थाले र माग पनि बढ्दै गयो ।
इजरायल र हङकङमा समेत रोजगारी खुलेको कारणले वैदेशिक रोजगारीमा जाने विद्यार्थीको समेत होटल म्यानेजमेन्ट विषयअन्तर्गत कुक, वेटर, हाउसकिपिङ, फ्रन्ट अफिस, बेकरी, बार टेण्डर, कफी मेकिङ, ल्याउन्ड्रिमेनको विषयमा विद्यार्थी आउने क्रम निरन्तर चल्यो ।
सीटीईभीटीद्वारा सबन्धन लिई पोखरामा होटल म्यानेजमेन्ट विषयका छोटा अवधिका तालिम सञ्चालनका क्रममा मोबाइल बेसमा पोखरा आसपास जस्तै बागलुङ, कुस्मा, पर्वत, बेनी, मुस्ताङ, गोरखा, लमजुङ, बेंसीसहर, बन्दीपुरलगायत ट्रेकिङ रुटमा समेत छोटा अवधिमा हालसम्म करिब २२ हजार ४७३ जनाले तालिम लिइसकेका र तालिमपछि रोजगारीमा लागेका पौडेल बताउँछन् ।
धेरैजसो पोखरालगायत अन्य सहरमा सानादेखि ठूला होटलमा कान्तिपुरका विद्यार्थी, कुक, वेटर, म्यानेजर र सेफ पदमा काम गरिरहेका छन् भने करिब १८ देखी २० प्रतिशतले होमस्टे, होटल, रेस्टुराँ, क्याटरिङ, फास्ट फुड आदि आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् ।
निरन्तर आफ्नो अनुभवको आधारमा अनुभवी प्रशिक्षकद्वारा होटल, क्याफे, रेष्टुराँका लागि तत्कालको आवश्यक सीप के हो सोद्वारा आधारभूत तहमा आधारित रहेर विभिन्न एनजीओ, आईएनजीओसँग मिलेर विभिन्न तालिमहरूसमेत सञ्चालन गर्दै आएको छ ।‘आज पनि हरेक ठाउँमा कान्तिपुरका विद्यार्थी एत्रतत्र स्वदेश तथा विदेशी होटलमा समेत देख्न पाइन्न्छ, यो नै मेरो सफलता हो,’ सञ्चालक एवंम कलेजका अध्यक्ष पौडेलले भने ।
र खुल्यो कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज
तालिम सेन्टर सञ्चालन गरिरहँदा उनको मनमा यसलाई विस्तार गरेर कलेजको रुपमा अघि बढाउने सोच आयो । विदेशमा अहिले पनि कामदार भिसामा जानेहरूले न्यूनतम तलब नपाउने गरेको र धेरै दुःख पाएकाले त्यसलाई केही परिवर्तनका लागि सीपयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य पौडेलले बनाए ।
कम्तीमा सीपयुक्त जनशक्ति विदेशमा पठाउन पाए त्यही अनुसारको कमाई हुने र दुःख पनि धेरै गर्न नपर्ने भन्दै प्रारम्भिक शिक्षामै होटल म्यानेजमेन्टसम्बन्धी अध्ययन गराउने सोचका साथ सन् २०१७ बाट उनले कलेज स्थापना गरे ।
सीटीईभीटी र कुलिनरी सोलुशन अस्ट्रेलिया इन्टरनेशलद्धारा सम्बन्धन प्राप्त कलेज हो । विदेशी प्रशिक्षक ३ जना रहेको र पढाइपश्चात् रोजगारी दिने उक्त कलेजले प्लस २ पास गरेका विद्यार्थीलाई डिप्लोमा इन कुलिनरी आर्टस, डिप्लोमा इन होटल म्यानेजमेन्ट,बारिस्ता, बार टेण्डर र एसईई दिएका विद्यार्थीलाई कक्षा ११ र १२ मा होटल म्यानेजमेन्टमा समेत अध्यापन गराउँदै आएको छ ।
कलेजमा पढेका विद्यार्थीलाई दुबई, माल्दिभ्स, कतार, साउदी, बहराइनका पाँचतारे होटलमा ८० हजारदेखि १ लाख ३० हजारम्म तलब पाउँदै आएको कलेजका म्यानेजिङ डाइरेक्टर एवंम प्रिन्सिपल राम कोदान्डाले जानकारी दिए ।
पोखराको न्युरोडमा सञ्चालनमा रहेको सो कलेज १ रोपनी क्षेत्रफलमा फैलिएको छ । ७ तलाको भवनमा ३२ वटा कोठा अत्याधुनिक अस्ट्रेलियन मापदणड अनुसार भवन, ल्याब, कक्षा कोठा र होस्टलसमेत अत्याधुनिक भवन कलेजको आफ्नै रहेको छ ।
‘२०१७ देखि अहिलेसम्म अध्ययन गरेका धेरै विद्यार्थी मध्यपूर्वमा कार्यरत छन् । जसको तलब ८० हजारदेखि १ लाख ३० हजारसम्म रहेको छ,’ कोदान्डाले भने ।
कलेजमा अध्ययन गरेका विद्यार्थीहरूमध्ये अधिकांशले रोजगारी पाइरहेका छन् । जति विद्यार्थी पढ्छन् रोजगारीमा सुनिश्चित हुनाले हाम्रो काम गर्ने कार्यशैली र अग्रगामी सोचका साथ कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई ब्याचलर इन होटल म्यानेजमेन्ट ,ब्याचलर इन क्याटरिङ टेक्नोलोजी,फुड टेक्नोलोजी विषयको सम्बन्धन लिई अध्यापन गर्ने सोच कलेजले लिएको पौडेलले बताए । जुन विषय अध्ययन गरेकाहरुको माग विदेशमा अधिक रहेको छ । ‘त्यसका लागि नयाँ ठाउँमा जग्गा लिइसकेको र भवनको तयारीमा हामी अगाडी बढेका छौं,’ उनले भने ।
सुरुमा उनले ३ लाख ८५ हजार लगानी गरेर ट्रेनिङ सेन्टर खुलाएका थिए । अहिले उनको कलेजमा १८ करोड लगानी भइरहेको छ । विजयको यात्रा यसैमा रोकिँदैन उनी आफ्नो कलेजमा नयाँ कोर्स, नयाँ तह र नयाँ सोच थप्ने योजनमा छन् ।