काठमाडौं । कोभिडका कारण अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यवसायीले सरकारसँग तीन बुदे माग अघि सारेका छन् । एक साता भित्रमा माग पुरा नगरे व्यवसायीले चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
पर्यटन क्षेत्रका छाता संगठनहरु र पर्यटन पेशाकर्मीहरुले आइतबार नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा सरकारसँग तीन बुदे माग राखेका हुन् ।
पूर्ण भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीलाई विना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण गर्नुपर्ने, भिजा–अन अराइभलको व्यवस्था पुनः लागु गर्नुपर्ने माग अघि सारेका छन् ।
यस्तै पर्यटनमा कार्यरत अधिकाशं सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानिय समुदायले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकाले यस सम्बन्धमा सकरात्मक सन्देश फैलाउन ट्राभल एडभाइजरी जारी गर्न समेत सरकारलाई अनुरोध गरेका छन् ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईले सरकारले पर्यटन क्षेत्र प्रति बेवास्ता गरेको कारण आन्दोलनको चेतावनी दिएको बताए । ‘यदी हाम्रा मागहरु एक साता भित्रमा पुरा नगरे सिंहदरबार घेराउ गर्छौ,अध्यक्ष गुरागाईले भने,जुन सरकार आएपनि हामी प्रति सधै अन्याय भयो ’ ।
सरकारले पर्यटन व्यवसायीहरुसँग गरेको प्रतिबद्धता र बजेटमा आएका विषयहरु समेत कार्यन्वयन नभएकोले यस तर्फ गम्भिर ध्यानाकर्षण गराउदै आश्वासन मात्र हैन व्यवहारमा समेत लागू गर्न अनुरोध गरेका छन् ।
सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको जनाएको छ । योसँगै प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार समेत संकटमा परेको विज्ञप्तीमा उल्लेख छ ।