काठमाडौं । १५० सीसी र सो भन्दा कम क्षमताका बाइकको बिक्रीदरमा वृद्धि भइरहेका बेला सरकारले २०० सीसी क्षमताका मोटर साइकलको बिक्री बढाउन नीतिगत चलखेल गरेको छ ।
सरकारले प्रतिस्थापन बजेटमार्फत १२५ देखि २०० सीसीसम्मका मोटरसाइकलको अन्तशुल्क ५० प्रतिशत गरेपछि यस्तो अवस्था देखिएको हो । यसअघि १२५ देखि १५० सीसीसम्मका बाइकको अन्तशुल्क ४० प्रतिशत थियो ।
त्यसमाथि २०० सीसीसम्मका बाइकको अन्तशुल्क ५० प्रतिशत थियो । तर, बजेटले १२५ देखि २०० सीसीसम्मका बाइकको अन्तशुल्क बराबर गरेको छ ।
१२५ देखि १५० सीसी सम्मका बाइकको बजार हिस्सा ३७ प्रतिशत भन्दा बढी छ । यस्ताखाले बाइक कम आम्दानी हुनेहरुको रोजाइमा पर्छन् । दैनिक रुपमा आफ्ना आवश्यकता पूरा गर्न उनीहरुले साना सीसीका बाइक किन्ने गरेका थिए ।
एकातिर साना सीसीका बाइकको इन्धन खपत (फ्यूल कन्जम्सन) पनि कम हुने, मर्मतबापत लाग्ने खर्च पनि थोरै हुने भएकै कारण बजारमा यस्ता मोटरसाइकल लोकप्रिय छन् । त्यही भएर यस्ता बाइकको हिस्सा पनि धेरै छ । यस्ता बाइक बढी सीसी भन्दा सस्तो पनि हुने गर्छन् ।
तर, सरकारले २०० सीसीका बाइकको बिक्रीलाई बढाउने गरी नीतिगत निर्णय गरेको हो । अहिले केही कम्पनीका २०० सीसी र सो भन्दा माथि क्षमताका बाइक बढी आकर्षक देखिन्छ । आकर्षक देखिँदा पनि सोचेअनुरुप बिक्री बढ्न नसकेपछि केही कर्पोरेट हाउसले आफ्ना १२५ देखि २०० सीसीसम्मका बाईकको अन्तशुल्क समान बनाएका हुन् ।
१० प्रतिशत अन्तशुल्क बढाउँदा एउटै बाइकमा २० हजार रुपैयाँसम्म मूल्य बढ्ने अवस्था आएको सम्बद्ध क्षेत्रका अधिकारीहरु बताउँछन् । नेपालमा होन्डा, हिरो र यामाहाको १२५ देखि १५० सीसीका बाईक अधिक विक्री हुने गरेका थिए ।
खासगरी, काठमाडौं उपत्यकाभित्र साना सीसीका बाइकको बाहुल्य छ । तर, अब १२५ देखि २०० सम्म एउटै अन्तशुल्क लाग्ने भए पछि २०० सीसीका बाइक बढ्न सक्ने देखिन्छ ।
कम सीसीका बाईकको राजस्व कम हुन्छ र सिटी बाईकको रुपमा समेत प्रयोग गर्न सकिने अवस्था थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले केही व्यापारीको उक्साहटमा १० प्रतिशत अन्तशुल्क वृद्धि गरेका हुन् । यसरी ठूला सीसीका बाइकको बिक्री बढ्दा त्यसको चौतर्फी असर पर्छ ।