काठमाडौं । केही महिनायता काठमाडौं उपत्यकामा फोहोरको डंगुर बढेको छ । हुन त हरेक वर्ष वर्षायाममा फोहोरको डंगुर थुप्रिनु नौलो भने होइन । यही फोहोरको डंगुरको कारण काठमाडौं महानगरपालिकालाई टाउको दुखाई भइरहेको छ ।
फोहोर व्यवस्थापन गर्ने ठोस नीति नभएकै कारण दैनिक रूपमा सडकमा फोहोर जम्मा हुँदा दुर्गन्धित बन्दै गएको छ । दुर्गन्धित फोहोरलाई व्यवस्थापनका लागि यसअघि पनि कुनै उपायहरू नअपनाएको भने होइन । तर, महानगरले नै चासो नदेखाएको कारण बर्सेनि व्यवस्थापनमा लफडा हुँदै आएको छ ।
फोहोर व्यवस्थापनका लागि महानगरलाई टाउको दुखाई भइरहेको बेला एक गैरसरकारी संस्थाभित्र भने त्यसलाई उचित व्यवस्थापनको विषयमा बहस सुरु भएको छ । अर्थात, फोहोरलाई मोहोरमा उतार्ने आइडियासहित आफ्नो व्यावसायिक योजना निर्माण गर्ने व्यक्ति हुन् रुपन्देहीका मनोजरत्न भुसाल । उनी अहिले आइडिया स्टुडियो नेपालको सिजन ५ मा फोहोरबाट ब्रिकेट उत्पादन गर्ने आइडियालाई टेलिभिजनमा प्रस्तुत गरिरहेका छन् ।
उत्कृष्ठ ३२ भित्र उनको आइडियासमेत परेको छ । आइडिया स्टुडियोले वार्षिक रूपमा यस्ता आइडियाहरूको प्रतिस्पर्धा गराउँदै आएको छ ।
मेकानिकल इन्जिनियरिङ अध्ययन गरेको भुसालले सन २०१९ को सुरुमा कलेजको प्रोजेक्टमा ठोस फोहोर व्यवस्थापन गर्ने योजना अगाडि सारेका थिए ।
आफूले गरेको प्रोजेक्टलाई बजारीकरण गर्न कति सम्भव होला ? भनेर विस्तारै अध्ययन गर्दै गएको भुसाल बताउँछन् । सम्भावना पनि राम्रो भएको उनले थाहा पाए । यसै क्रममा नयाँ उद्यमीहरूको सोच र आइडियालाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको ‘आइडिया स्टुडियो’मा आफ्नो आइडिया सुनाएको भुसाल बताउँछन् । स्टुडियोले आफ्नो नयाँ सोचलाई राम्रो प्रतिक्रिया दिएपछि उनलाई फोहोर व्यवस्थापन गर्ने चाहना अझ बढ्दै गयो ।
आफूले गरेको प्रोजेक्टलाई बजारीकरण गर्न कति सम्भव होला ? भनेर विस्तारै अध्ययन गर्दै गएको भुसाल बताउँछन् । सम्भावना पनि राम्रो भएको उनले थाहा पाए । यसै क्रममा नयाँ उद्यमीहरूको सोच र आइडियालाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको ‘आइडिया स्टुडियो’मा आफ्नो आइडिया सुनाएको भुसाल बताउँछन् । स्टुडियोले आफ्नो नयाँ सोचलाई राम्रो प्रतिक्रिया दिएपछि उनलाई फोहोर व्यवस्थापन गर्ने चाहना अझ बढ्दै गयो ।
बजार अध्ययन गर्ने क्रममा भुसालले फोहोरको व्यवस्थापन गरेर अर्थात् ब्रिकेट बनाएर मोहोर कमाउन सकिने थाहा पाए । अहिले सोही कार्यलाई अगाडि बनाउने योजनामा उनी लागि परेका हुन् । उनको आइडियामा कुहिने खालका ठोस फोहोरको प्रयोग हुन्छ ।
खेर गएका कागजपत्र, फलफूल तथा तरकारीको बोक्रालगायत कुहिने फोहोरहरूबाट ब्रिकेट उत्पादन हुन्छ । ब्रिकेट भनेको इन्धनको रूपमा प्रयोग गरिने वस्तु हो । जसलाई विभिन्न कलकारखाना तथा होटल व्यवसायहरूमा सञ्चालन प्रयोग गर्न सकिन्छ ।
भुसाल भन्छन्, ‘ठोस फोहोर व्यवस्थापनको आइडियालाई सामाजिक अभियानको रूपमा अगाडि बढाउने योजना छ । व्यक्तिको घरबाट नै फोहोर व्यवस्थापनको आइडिया सिकाएर सफा सहर र आयआर्जनको समेत माध्यम बनाउन सकिन्छ । यसो गर्दा आर्थिक आम्दानीसँगै फोहोरको व्यवस्थापन गरी दुईवटा फाइदा हुन्छ ।’
सामान्यतयाः सबै मान्छेले आफ्नो घरमा नै फोहोरबाट मोहोर कमाउन सकिने भुसाल बताउँछन् । थोरै मात्रामा ब्रिकेट बनाउन भने आर्थिक लगानीसमेत गर्नु नपर्ने उनको भनाइ छ । तर, आर्थिक आर्यआर्जनको स्रोत नै बनाउन चाहने हो भने उत्पादन गर्ने संख्याको आधारमा लागत रकम निर्धारण हुन्छ ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिन्छ
काठमाडौंको फोहोर व्यवस्थापनका लागि पनि आफू सक्षम रहेको भुसाल बताउँछन् । तर, अहिले भने बुटवल क्षेत्रको फोहोर व्यवस्थापनमा काम गर्दै आएका छन् । काठमाडौं महानगर वा सरकारले फोहोर व्यवस्थापन गर्न आग्रह गरेमा आफू तयार रहेको उनले बताए ।
सकेसम्म महानगरले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर दिए राम्रो हुने र नभए पनि आफूले भनेको ठाउँमा फोहोर लगिदिने हो भने त्यस्ता फोहोरहरूलाई सदुपयोग गर्न तयार रहेको भुसाल बताउँछन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘महानगरले फोहोर जसरी पनि संकलन गर्नुपर्छ त्यो फोहोर हामीले भनेको ठाउँमा लगिदिने हो भने सहज हुन्छ । फोहोर व्यवस्थापनका लागि हामीलाई धेरै जग्गा चाहिन्छ । त्यसमा पनि महानगरले सहयोग गर्यो भने फोहोर व्यवस्थापन र ब्रिकेट उत्पादनमा समस्या हुन्न ।’
महानगरका कार्यक्रममा फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने, ग्रामीण क्षेत्रमा अन्य वस्तुलाई इन्धनको रूपमा भन्दा ब्रिकेटलाई प्रयोग गर्न प्रोत्साहान गर्नेलगायत सहयोग सरकारी पक्षबाट गर्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘ब्रिकेटका बारेमा धेरैलाई जनाकारी नै छैन, त्यसैले सरकारी पक्षबाट प्रचार–प्रसार र ब्रिकेटको प्रयोग गर्न बढी प्राथमिकता दिनुपर्ने हुन्छ ।
आर्थिक लगानी भने म आफैं पनि गर्न सक्छु धेरै अपेक्षा छैन ।’ त्यस्तै प्राविधिक कुरामा पनि सरकारी पक्षबाट सहयोग हुने हो भने आम्दानी र आफ्नो व्यवसायका लागि मुख्य क्षेत्र नै काठमाडौं बनाउन सकिने उनको भनाइ छ ।
हाल उनी एक्लै फोहोर व्यवस्थापनको काम गर्दै आएका छन् । ‘पहिला ३ जना मिलेर काम गर्ने भनेका थियौं विस्तारै साथीहरूले छोड्नु भयो म एक्लै गर्छु भनेर लागेको छु मेरो पनि आइडिया नयाँ नै हो ।’ उनले भने ‘पैसा लगानी गर्ने मात्रै होइन मनैदेखि चाहेर काम गर्ने साथी चाहिएको छ ।’
ब्रिकेटको सम्भावना नेपालमा धेरै रहेको छ । होटल तथा अन्य कागज उत्पादनलगायत क्षेत्रमा ब्रिकेटको प्रयोग गर्न सकिने बताइएको छ ।
ब्रिकेट बनाउने प्रक्रिया
कुहिने र नकुहिने फोहोर छुट्ट्याउने । कुहिने फोहोरलाई सुकाउनु पर्ने भए सुकाउने ओभानु भएमा सानो–सानो टुक्रामा काट्ने र गमको प्रयोग गर्ने । त्यसको क्षमता बढाउनका लागि कोयलको प्रयोग गर्न सकिन्छ । फोहोरको टुक्रालाई एकै ठाउँमा जम्मा गरेर मेसिनमा राखेर पेल्नुपर्छ त्यसपछि सुकाएर ब्रिकेट तयार हुन्छ ।
तर, मेसिन नै नभए पनि हातले सानो भाँडोमा थिचेर पनि ब्रिकेट बनाउन सकिने उनको भनाइ छ । तर, मेसिनको जस्तो राम्रो भने नहुने भुसाल बताउँछन् । आफ्नै घरमा खेर गएका फोहोरबाट पनि ब्रिकेट उत्पादन गर्न सकिने र त्यसको लागि धेरै खर्च नलाग्ने भुसालले बताए ।
उनले आइडिया स्टुडियोका लागि केही ब्रिकेटहरू परीक्षणका रूपमा बनाइ सकेका छन् । अहिले कम्पनी दर्ता गरेर बुटवलकै स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने तयारी गरेको उनको भनाइ छ । उनले करिब ३५ लाख रुपैयाँमा फोहोर व्यवस्थापन गरेर ब्रिकेट बनाउने तयारी गरेका छन् ।
उनले आइडिया स्टुडियोका लागि केही ब्रिकेटहरू परीक्षणका रूपमा बनाइ सकेका छन् । अहिले कम्पनी दर्ता गरेर बुटवलकै स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने तयारी गरेको उनको भनाइ छ । उनले करिब ३५ लाख रुपैयाँमा फोहोर व्यवस्थापन गरेर ब्रिकेट बनाउने तयारी गरेका छन् ।
फोहोर व्यवस्थापनका लागि हाल १२ कठ्ठा जग्गा प्रयोगमा ल्याएका छन् । ‘१२ कठ्ठा जग्गा नै पर्यााप्त त नहोला तर अहिलेलाई काम गर्न हुन्छ,’ उनी भन्छन् । सो ३५ लाखभित्र मेसिन खरिददेखि कर्मचारी र बजार व्यवस्थापन तथा फोहोर संकलनसहित ब्रिकेट बनाउने खर्चपर्ने भुसालले बताए ।
‘हाम्रो कम्पनीबाट तिहारपछि ब्रिकेट बनाउन सुरु गर्छौं अहिले व्यवस्थापनलगायत अन्य तयारी हुँदैछ ।’ उनले भने, ‘चिसो फोहोर भएमा संकलनदेखि ब्रिकेट बनाउनका लागि सामान्यतयाः २ दिन लाग्छ तर, सुख्खा भएमा केही घण्टामै ब्रिकेट तयार हुन्छ ।’ बुटवलमा तयार गरिएको ब्रिकेट बनाउने कम्पनीमा तत्कालै ५ जनालाई रोजगारी दिने उनको बनाइ छ ।