काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम जडान र सञ्चालन (एमडीएमएस) प्रणालीसम्बन्धी परियोजना सञ्चालनको जिम्मेवारी विवादित कम्पनीलाई दिने तयारी गरेको छ ।
एमडीएमएस प्रणाली जडान र सञ्चालनका प्राधिकरणले न्युमेरा एमएसडीएन, बीएचडी, मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुरको संयुक्त भेन्चरको प्रस्तावलाई स्वीकृत गरेर काम अगाडि बढाएसँगै विवाद सुरु भएको छ ।
छनौटमा परेका नमस्ते ग्लोबल कम्पनीले कल बाइपासको काम गर्छ, जुन नेपालमा अवैधानिक छ भने न्युमेरा कम्पनीलाई मलेसियामा डाटा लिक गरेको आरोपमा मुद्दा चलिरहेको छ।
प्राधिकरणले छनोट गर्दा प्राविधिक र आर्थिक मूल्यांकनमा बढी अंक ल्याउने कम्पनीलाई बाइपास गरेर ती कम्पनीहरूलाई छनोट गरेको पाइएको छ ।
प्राविधिक मूल्यांकनमा मोबिलन ट्रेड इन्टरनेशनल, ग्रीन आइटी सोलुसन, इन्फ्रा डाटा एनभिको संयुक्त भेन्चरले ७ सय १८ र न्युमेरा एमएसडीएन, बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुरको संयुक्त भेन्चरले ७ सय १० अंक प्राप्त गरेको थियो ।
कम्पनी छनौटमा अनियमितता भएको भन्दै दुरसञ्चार प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मोबिलन ट्रेड इन्टरनेशनल, ग्रीन आइटी सोलुसन र इन्फ्रा डाटा एनभीको संयुक्त भेन्चरले प्राधिकरणका लागि सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै बिहीबार अख्तियारमा उजुरी दर्ता गराएका हुन्।
बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई बोधार्थ पठाउँदै आवश्यक छानविनका लागि अनुरोध गरेका थियो । एमडीएमएस प्रणाली जडान र सञ्चालनका लागि प्राधिकरणले २०७५ बैशाख २८ गते टेण्डर आह्वान गरेको थियो ।
प्राधिकरणले जारी गरेको टेण्डरमा १३ ओटा सेवा प्रदायक कम्पनी ÷ जेभीहरुले आशय पत्र पेश गरेका थिए ।