पोखरा । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भरट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताए । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) को २७ औं वार्षिक साधारणसभामा उनले कोरोना महामारीका कारण संकटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको बताए ।
‘‘यतिबेला निकै कठिन अवस्थामा पर्यटन क्षेत्र छ, तर सरकारले मौद्रिक नीति र पुनरुत्थानका कार्यक्रम कार्यान्वयनमा ल्याएर राहत दिन सकेको छैन, सरकारले कार्यक्रम ल्यायो भनेर हामीले स्वागत गर्न हतार गरे जस्तो भयो, नतिजा देखिएन ।’’ उनले महामारीको यो समयमा पनि बैंक तथा वित्तीय संस्थाहरूले हर्जाना, जरिवाना सहित व्यवसायीलाई ताकेता गरेर मानसिक दबाब दिएको बताए ।
उनले निजी क्षेत्रको भूमिकालाई सरकारले मूल्यांकन गरेर पर्यटनमैत्री नीतिहरू छिटो भन्दा छिटो ल्याउन आग्रह गरे । उनले भने, “आजसम्म पनि सरकारको पर्यटनसम्बन्धी स्पष्टा नीति र योजना छैनन्, केवल व्यक्तिका सम्बन्ध र विचारबाट पर्यटन क्षेत्र चलेको छ ।” उहाँले पोष्ट कोभिडको अवस्थामा पर्यटन क्षेत्रलाई उठाउन सबैको साझा सोच र दृष्टिकोणको खाँचो औंल्याए ।
अहिले पर्यटन क्षेत्रका २५ सय जनाले खोप लगाएको जनाउँदै अब सतप्रतिशत पर्यटन मजदुर, कर्मचारी, व्यवसायीलाई खोप सुनिश्तित गरेर पर्यटन क्षेत्र चलायमानका लागि पुनरुत्थान कार्यक्रम ल्याउनुपर्नेम उनको जोड थियो । उनले लामो समयदेखि अन्योलमा रहेको पोखराका रत्नमन्दिर र हिमागृह खुलाउन अब परिषद् निर्णायक रुपमा पहल गर्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले पर्यटकलाई आर्कषित गर्न अन्तराष्ट्रिय रूपमा चिनाउन रेवानले गर्दै आएको स्ट्रिट फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विश्वमै कोरोनाका कारण पर्यटन क्षेत्रमा ८० देखि ८५ प्रतिशत गिरावट आएको जनाउँदै अब खोपको सहजतासँगै यस क्षेत्रले गति लिँदै जाने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिका–६ का अध्यक्ष जगतबहादुर पहारीले लेकसाइडकोे सौन्दर्य करणका लागि वडाले विभिन्न कार्य गरिरहेको जनाउँदै पूर्वाधार विकासका काम केही भए पनि अझै पर्याप्त हुन नसकेको बताए । उनले रेवानसँगको सहकार्यमा वडाले राहत वितरण गर्न सफल भएको स्मरण गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण बरालले १८ महिनादेखि ठप्प पर्यटन क्षेत्रले ठूलो आर्थिक नोक्सान बेहोरिरहेको र सरकारले यसतर्फ ध्यान दिन नसकेको बताए ।
उनले कोरोना कहरकोे बीचमा पाँच महिना मात्र आंशिक र आन्तरिक पर्यटकलाई सेवा दिएको पर्यटन क्षेत्र अहिले अन्योलता रुमल्लिरहेको जानकारी गराए । उनले पर्यटन चलायमान बनाउन अब सरोकारवाला सबैबाट पहलको थालनी आवश्यक रहेको बताए ।
संस्थाका उपाध्यक्ष नरेश भट्टराई पर्यटन क्षेत्रका सबैलाई खोपको सुनिश्चित गरेर पर्यटन क्षेत्रलाई लयमा फर्काउनुपर्नेमा जोड दिए । संस्थाका महासचिव विकास भट्टराईले संस्थाले गरेका गतिविधिको सहितको प्रगति प्रतिवेदन पेश गरे ।