काठमाडौं । झण्डै एक साता ढिला गरी मौसम प्रणाली भित्रिए पनि यसवर्ष गतवर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ ।
यसवर्ष यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष ०.९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गतवर्ष सोही अवधिमा ९५.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो ।
यस्तै आइतबारसम्म प्रदेश नं १ मा ९३.४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश १ मा गतवर्ष ९४.४४ प्रतिशत रोपाइँ भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश नं २ मा गतवर्षको तुलनामा झिनो मात्रामा रोपाइँ बढेको छ । प्रदेश नं २ मा गतवर्ष ९३.१७ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ९३.३१ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।
प्रदेश नं ३ मा पनि गतवर्षको तुलनामा रोपाइँ बढेको छ । गतवर्ष ९४.२२ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ९६.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाइँ घटेको छ । सो प्रदेशमा गतवर्ष ९६.८७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाइँ खुम्चिएको छ । आइतबारसम्म गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्र रोपाइँ भएको छ ।
यसैगरी प्रदेश नं ५ र कर्णाली प्रदेशमा क्रमशः ९४.३९ र ९६.१६ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गतवर्ष ती प्रदेशमा क्रमशः ९६.१९ र ९८.३९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गतवर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
भौगोलिक अवस्थाअनुसार उच्च पहाडमा ९७.९३ प्रतिशत, मध्य पहाडमा ९१.९५ र तराई क्षेत्रमा ९५.१३ प्रतिशत रोपाइँ भएको छ ।
पूर्व क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नं १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढ्ता वर्षा भएको मौसम पूर्वानुमान विभागले जनाएको छ ।
पश्चिमी भेकमा वर्षा बढेकाले रोपाइँको प्रतिशत बढेको हो । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको बताए ।
गतवर्षको तुलनामा यस वर्ष तुलनामा यस वर्ष मनसुन केही ढिला शुरु भएको थियो । नियमित अवस्थामा जुन १० तारिखबाट नेपालमा मनसुन भित्रिनुपर्नेमा यसवर्ष झण्डै एक साता ढिला मनसुन प्रणालीको विकास भएको विभागले जनाएको छ ।
“यसवर्ष भारी वर्षा नभई औषत वर्षा भएको पाइएको छ”, वरिष्ठ मौसमविद् पौडेलले भने, “समग्रमा मुलुकभर यसवर्ष एक हजार ५०० मिलिमिटर वर्षा भएको छ ।”
कुल १३ लाख ७१ हजार ७०६ हेक्टर रोपाइँ गर्ने सकिने भए पनि यसवर्ष १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । सिँचाइ प्रणालीको भरपर्दो व्यवस्था नहुँदा अधिकांश क्षेत्रका किसान आकाशे पानीको भर पर्न बाध्य छन् ।
अझै पनि ६० प्रतिशत धान खेती हुने जमिन मनसुनकै भरमा छ । ४० प्रतिशत हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
सिँचाइ सुविधा नपुग्नु, समयमै किसानले मल नपाउनु, प्रविधिको प्रयोग नहुनु र खेतीयोग्य जमिन खुम्चिदै जानु मुख्य समस्या हो । यसले धान उत्पादनमा समेत असर पुर्याएको कृषिविज्ञ बताउँछन् ।
धान नेपालको प्रमुख खाद्यबाली हो । कृषिको कुल गार्हस्थ्य उत्पादन २७ प्रतिशतमध्ये धानको २० प्रतिशत योगदान रहन्छ । गत आर्थिक वर्ष २०७५/०७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
तर, आगामी वर्षभने रोपाइँ कम भएकाले उत्पादन घट्ने देखिन्छ । धान उत्पादन राम्रो हुँदा मुलुकको कुल गर्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत बढ्ने गर्छ ।