काठमाडौं । पर्यटनको गहनाका रुपमा परिचित क्यासिनोलाई सरकारले १६ घण्टासम्म खुला गर्न अनुमति दिएको छ । कोरोना संक्रमण दिन प्रतिदिन घट्दै गएपछि सरकारले क्यासिनो खोल्न अनुमति दिएको हो । सरकारले दिउँसो २ बजेदेखि बिहान ६ बजेसम्म खोल्न अनुमति दिएको हो ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले क्यासिनो बन्द गरेको थियो । नेपालबाहेक भारतसहित अन्य मुलुकमा ६ महिना अघिदेखि नै क्यासिनोलाई खुला गरेको थियो ।
त्यहाँ कोरोना विरुद्धको दुईवटै भ्याक्सिन लगाएकालाई सहजै क्यासिनो खेल्न दिने व्यवस्था गरेको थियो । नेपालमा पनि दुवै भ्याक्सिन लगाएकालाई आउन दिने गरी खोलेको व्यवसायीहरुले बताएका छन् ।
क्यासिनोमा आउने पैसा सतप्रतिशत विदेशी लगानी हो । यसले विदेशी मुद्रामा पर्दै गएको चापलाई समेत न्यूनीकरण गर्छ । विदेशी लगानी ल्याउँदा प्रतिफल बाहिर लैजान दिनुपर्छ । तर, क्यासिनो खेल्न पैसा लिएर आउने मान्छेले ९० प्रतिशत पैसा यही बुझाएर जान्छन् । त्यसकारण विदेशी लगानीभन्दा क्यासिनोबाट आउने आम्दानी अत्यधिक राम्रो मानिन्छ ।
क्यासिनो व्यवसायीले सरकारलाई यसअघि नै पटक–पटक क्यासिनो खोल्न दिन आग्रह गरेका थिए । क्यासिनो खुला गर्ने बित्तिकै अर्थतन्त्र चलायमान हुने भएकाले दुवै भ्याक्सिन लगाएकालाई आउन दिन अनुरोध गरेका थिए । क्यासिनो खेल्न आउने एयरपोर्टबाट ट्याक्सी चढेर होटल जान्छ ।
ट्याक्सीको आम्दानी भयो । होटलमा बस्छ । त्यहाँ पनि उसले पैसा खर्च छ । सपिङ गर्छ, त्यसबाट पनि नेपालीले आम्दानी गर्छन् । क्यासिनो खेल्न आउनेबाट अर्थतन्त्रका धेरै पक्षमा सकारात्मक प्रभाव पर्ने भएकाले व्यवसायीले पटक पटक क्यासिनो खेल्न खुला गर्नुपर्ने माग गर्दै आएका थिए ।
नेपालीलाई क्यासिनो खेल्न रोक लगाइएको छ । सतप्रतिशत विदेशीले मात्रै नेपालमा क्यासिनो खेल्न पाउँछन् भने पछि रोक्नुपर्ने कुनै कारण नभएको व्यवसायीको भनाइ छ ।
नेपालले क्यासिनो खुलाउन ढिला गरेका कारण धेरैजसो पर्यटक क्यासिनो खेल्न भारतको गोवा पुगेका थिए । विगत केही महिनादेखि भारतको गोवा क्यासिनो खेल्न जानेको भीड नै लागेको थियो ।
अहिले म्यारियट, सोल्टी, ह्यात, अलफ्टलगायतमा रहेका क्यासिनो खुल्न थालिसकेका छन् । त्यसैगरी, राजधानी बाहिरका क्यासिनो पनि खुल्न थालेका छन् ।