काठमाडौं । दुई महिनादेखि तलब भत्तानै रोकिएपछि नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) मा जारी कर्मचारीहरूको आन्दोलन शिथिल हुँदै गएको छ ।निगममा रहेको ट्रेड युनियनको आन्दोलनका कारण दुई महिनादेखि कर्मचारीहरूले तलब नपाएपछि कर्मचारी भित्रै विवाद सुरु भएको छ ।
लामो समयसम्म चलेको आन्दोलनले कुनै सार्थकता नपाएको र उल्टै आफूहरूले तलबसमेत निकासा हुन नसकेपछि आन्दोलनलाई तत्कालै अन्त्य गरी कार्यालयको कामकाजलाई निरन्तर दिन ट्रेड युनियनका पदाधिकारीहरूलाई दबाब परेको छ ।
कोभिड महामारीको बीचमा तलबसमेत खान नपाएपछि घर चलाउनै समस्या भएका कारण अब तत्कालै आन्दोलन रोक्नुको कुनै विकल्प नभएको आन्दोलनरत एक कर्मचारीले क्यापिटलसँग भने ।
कर्मचारीको आन्दोलनका कारण महाप्रबन्धक डिमप्रकाश पौडेल कार्यालयभित्र जान पाएका छैनन् । उनले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हाजिर गर्दै आएका छन् ।
महाप्रवन्धक पौडेल मात्र होइन, सञ्चालक समितिका सदस्यहरूलाई समेत कार्यालयमा प्रवेश दिइएको छैन । जसका कारण यो वर्षको बजेटसमेत पास हुन सकेको छैन ।
निगमलाई कम्पनी मोडलमा लैजाने तयारीका साथ सञ्चालक समितिले प्रवन्धपत्रको नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेसँगै कर्मचारीहरूले असार १८ गतेबाट कार्यालयमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले कम्पनीमा लैजाने निर्णय फिर्ता हुनुपर्ने र महाप्रवन्धक पौडेलले राजीनामा दिनुपर्ने मागहरू अघि सार्दै आएका छन् । यसैबीच मंगलबार पर्यटन मन्त्रालयले विज्ञप्ति जारी गरी कर्मचारीहरूले उठाएका सबै मागहरू पूरा भएकाले तत्कालै आन्दोलन फिर्ता गरेर काममा फर्कन निर्देशन जारी गरिसकेको छ ।
अतिसंवेदनशील क्षेत्रभित्र विगत लामो समयदेखि भएको आन्दोलन प्रतिआपत्ति जनाउँदै तत्कालै कार्यालयको नियमित कामकाज सञ्चालन गर्नसमेत महाप्रवन्धक पौडेललाई निर्देशनसमेत दिएको छ ।
मन्त्रालयको निर्देशनसँगै महाप्रवन्धक पौडेल कार्यालयमा जानुपर्ने बाध्यता बढेको छ । अब उनले आफू मातहतका कर्मचारीहरूलाई कन्भिन्स गराएर नियमित काममा फर्कनुको कुनै विकल्प नभएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । हामीले गर्ने समन्वय गरिरहेका छौं, ती अधिकारीले क्यापिटलसँग भने, अब उहाँ कार्यालयमै हाजिर हुनुहुनेछ ।’
तलब नपाए पेन डाउन गर्छौं ट्रेड युनियन
आन्दोलनरत ट्रेड युनियनले विज्ञप्ति जारी गरेर तत्कालै सबै कर्मचारीहरूलाई तलब दिन माग गरेको छ । महिना मरेको ७ दिनभित्र तलब उपलब्ध गराउनुपर्ने प्रावधानअनुरूप कर्मचारीहरूले तलब नपाएको भन्दै ध्यानाकर्षण गराएको छ ।
युनियनले तत्कालै २५ गतेबाट बिहान १० बजेदेखि १ बजेसम्म आम कर्मचारीहरूले तलब उपलब्ध नभएसम्म पेन डाउन गरी काम ठप्प पार्ने निर्णय गरिएको नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनले बताए ।