काठमाडौं । नेपाल वायुसेवा निगममा ६८ दिनदेखि जारी रहेको आन्दोलन विरुद्ध संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एक्सनमा उत्रिएको छ ।
अतिसंवेदनशिल मानिएको हवाई क्षेत्रमा लामो समयदेखि आन्दोलन भइरहेको प्रति मन्त्रालयले ध्यानाकर्षण गराउदै सम्पूर्ण ट्रेड युनियनका कर्मचारीहरुलाई आन्दोलन फिर्ता गर्न समेत निर्देशन जारी गरेको छ ।
ट्रेड युनियनहरुले उठाएका सबै मागहरु पुरा भइसकेको अवस्थामा पनि कर्मचारीहरुले आन्दोलन गरेर निगमको काम कारवाही नै प्रभावित गरेको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयका सचिव यादव कोइरालाले कर्मचारीको सबै मागहरु पुरा भइसकेको अवस्थामा आन्दोलनलाई यथावत राख्नुको कुनै औचित्य नभएको हुँदा तत्कालै काममा फर्कन सबैलाई निर्देशन दिएको बताए ।
मन्त्रालय र सचिवले गर्न सक्ने सबै विषयहरु सम्बोधन भइसकेकोले आन्दोलन टुङ्ग्याउने बिहीबार विहान १० बजे बैंठक डाकिएको समेत उनको भनाई छ । भएका मागहरु सबै पुरा भएकोले अब आन्दोलन अगाडी बढाइ राख्नुपर्ने औचित्य नरहेको सचिव कोइरालाको भनाई छ ।
मन्त्रालयले महाप्रवन्धक डिमप्रकाश पौडेललाईसमेत तत्कालै कार्यालयमा गएर नियमित कामकाज गर्न समेत निर्देशन गरिएको बताइएको छ ।मन्त्रालयको यो निर्देशन सँगै कार्यालय बाहिर रहेका महाप्रवन्धक पौडेललाई कार्यालयमा जाने वाटो समेत खुलेको छ ।
निगममा कार्यरत विभिन्न कर्मचारी संगठनहरुले गत असार १८ गतदेखि गरेको आन्दोलनका कारण अति संवेदनशिल हवाई सेवा प्रदान गरिरहेको निगममा गम्भिर असर परिरहेका तथा सञ्चालक समितिको बैंठक बस्न नसकी कर्मचारीहरुको तलब निकासा समेत गर्न नसकिने अवस्था श्रजना भएकोमा मन्त्रालययको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यरत कर्मचारी संगठनहरुको मुख्य माग निगमलाई कम्पनीको रुपमा परिणत गरिनु हुदैन भन्ने रहेको सम्बन्धमा यस मन्त्रालयमा निगम सञ्चालक समितिबाट प्रस्तावित कम्पनीको प्रवन्धपत्रमा छलफल गर्ने वा सो कार्यालाई अगाडि बढाउने सम्बन्धी काम कारवाही सरकारको थप निर्देशन प्राप्त नहुँदासम्म स्थगन भएको जानकारी गराएको छ ।
कर्मचारी संगठनहरुद्धारा सञ्चालित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्कालै अन्त्य गरी निगमका सबै काम कारवाहीहरु सुचारु गर्न निर्देशन गरिएको छ ।
यता आन्दोलनरत ट्रेडयुनियनका प्रमुख घटक निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनले मन्त्रालयको पत्रले आन्दोलन झन चर्किने बताए । आफुहरुको प्रमुख माग भनेको महाप्रबन्धकको राजीनामा भएकोले त्यो पुरा नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।