काठमाडौं । उखु किसानलाई तिर्नुपर्ने करोडौं रुपैयाँ नदिएर बदनामी कमाएका व्यापारी राकेश अग्रवाललाई नेपाल विद्युत् प्राधिकरणले कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको खुलेको छ ।
आरके इन्टरनेसनलमार्फत प्राधिकरणभित्रका परियोजना कब्जा जमाएका अग्रवाललाई कामै नगरी प्राधिकरणले २४ करोड ४ लाख रुपैयाँ भुक्तानी दिएको हो ।
अग्रवालबाट सरकारले उखु किसानको भुक्तानी अहिलेसम्म दिलाउन सकेको छैन । तर, उता प्राधिकरण नेतृत्वसँग सुमधुर सम्बन्ध राखेर अग्रवालले काम प्रगति शून्य हुँदा सतप्रतिशत रकम लिइसकेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम कार्यालयबाट रकम निकासा गरेर अग्रवाललाई दिइएको हो । अग्रवालले तीनवटा परियोजनाको पैसा लिएका हुन् । तर, उक्त परियोजनाको प्रगति शून्य प्रतिशत रहेको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
‘कामको थालनी नै नगरेका अग्रवाललाई सतप्रतिशत रकम दिनुको पछाडि ठूलो रहस्य छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अग्रवालको सम्बन्ध सुमधुर भएकै कारण कामै नभए पनि भुक्तानी लैजान सफल भएको हो ।’
अग्रवालले पाटल मेलौली ३३ केभी प्रशारण लाइन र सबस्टेसन निर्माणअन्तर्गत दुईवटा परियोजना छन् । एउटा एआरओ ०७५/०७६–३३केभी एसएस–०३ र अर्को एआरओ ०७५/०७६–३३केभी एसएस–०२ हुन् । पहिलो परियोजनाको लागत क्रमशः ८ करोड ३२ लाख २९ हजार ७९७ र दोस्रो परियोजनाको लागत ८ करोड ३८ लाख ६४ हजार ५४९ रुपैयाँ लगिसकेको छ ।
त्यसैगरी, अत्तरिया–पुनरवास ३३ केभी प्रशारण लाइन र सबस्टेसन परियोजना निर्माणको जिम्मेवारी अग्रवालले पाएका थिए । उक्त परियोजनाको कुल लागत ७ करोड ३३ लाख ८२ हजार ६६३ रुपैयाँ छ । उक्त रकम पनि अग्रवालले प्राधिकरणबाट लिइसकेका छन् ।
अग्रवालले तीनवटै परियोजना २०७६ पुस ११ गते प्राधिकरणसँग सम्झौता गरेका हुन् । परियोजना १८ महिनामा सिध्याएर प्राधिकरणलाई हस्तान्तरण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, अग्रवालले अहिलेसम्म कामै सुरुवात नगरी सबै पैसा भुक्तानी लिइसकेका हुन् ।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार ‘वर्क कम्प्लिट’ शीर्षकमा शून्य प्रतिशत राखेको छ ।
अग्रवालले यसबाहेक दजर्नौं आयोजना अलपत्र बनाएका छन् । तर, उनले उक्त परियोजनाबाट लिनुपर्ने सम्पूर्ण रकम लिइसकेका छन् । अहिले पनि अग्रवालले प्राधिकरणसँग मिलेर ८ अर्ब रुपैयाँभन्दा बढीका परियोजनाको जिम्मेवारी लिए पनि कुनै पूरा गरेका छैनन् ।
तैपनि प्राधिकरण नेतृत्वले अग्रवाललाई कारबाही गर्नुको साटो उनैलाई नयाँ परियोजना निर्माणको जिम्मा दिइरहेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । अग्रवालले किसानलाई उखु खरिद गरेबापत तिर्नुपर्ने करोडौं रुपैयाँ अहिलेसम्म दिएका छैनन् ।
उनलाई सरकारले समेत पक्राउ गर्न सकेको छैन । आफ्नो श्रमको मूल्य पाउन किसान बारम्बार काठमाडौं आइसकेका छैन । तर, पनि सरकारले किसानलाई न्याय दिन सकेको छैन ।
एकातिर किसानको भुक्तानी नगरेर चिनी उद्योगीकै बदनामी गराएका अग्रवाललाई प्राधिकरणले बारम्बार काँखी च्यापेर बसेको प्राधिकरण भित्रकै कर्मचारी बताउँछन् ।
‘समयमा परियोजना नसक्ने ठेकेदारलाई कैयौं पटक कारबाही गरेको छ,’ एक कर्मचारीले भने, ‘तर, दर्जनौं आयोजना अलपत्र पार्ने अग्रवाललाई अहिलेसम्म कारबाही गरिएको छैन । बरु कामै नगरी सतप्रतिशत भुक्तानी दिने काम भइरहेको छ ।’
त्यसका अलवा अग्रवालले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको ऋण अहिलेसम्म तिरेका छैनन्।