काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जाहाज ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्ने निश्चित भएको छ । निगमले गत वर्षको असार र साउनमा ल्याएका दुई ओटा वाइडबडी जहाज लामो र नयाँ गन्तव्यमा उडान नगरेका भन्दै आलोचना भइरहेका बेला भदौ १२ गतेबाट एउटा जहाजले जापानको ओसाकामा नियमित उडान गर्न लागेको हो ।
निगमले जहाज खरिद गर्दा लगानीकर्ता कर्मचारी सञ्जय कोषलाई दिएको व्यावसायिक योजना (बिजनेस प्लान) अनुसार जहाज उड्न नसकेको भन्दै नयाँ योजनासमेत माग गरेको थियो ।
निगमले तेस्रो किस्तासहित सञ्चय कोषको १ अर्ब ९० करोड र नागरिक लगानी कोषको १ अर्ब १५ करोड रुपैयाँ किस्ता तिर्न बाँकी छ । कोषले १ अर्ब रुपैयाँ पुँजीकरण गरिसकेको छ । वाइडबडी खरिद गर्दा निगमले अर्थ मन्त्रालयको जमानीमा २२ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भदौ १२ गतेबाट नियमित उडान गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिए । कुनै पनि हालतमा ओसाका उडान नरोकिने जानकारी दिँदै उनले यात्रुहरुको पनि उत्साहजनक सहभागिता रहेको बताए ।
निगमले ओसाकामा सीधा उडान गर्ने भएपछि धेरै नेपाली र जापानी नागरिकहरु उत्साहित भएको बताउँदै खरेलले नियमित उडानमा शङ्का नगर्न आग्रह गरेका छन् । केही समयअघि जेनरल सेल्स एजेन्ट (जीएसए)मा केही विवाद उत्पन्न भए पनि अहिले मिलिसकेको उनले स्पष्ट पारे ।
आफ्नो जीएसए खोसिएको भन्दै गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष देवमान हिराचनले सर्वोच्च अदालतमा मद्दा हालेका थिए । सुरुमा हिराचनको पक्षमा फैसला गरेको सर्वोच्चले पछि निगमको पक्षमा फैसला गरेपछि जापान उडानको बाटो खुलेको हो ।
हिराचनले नै निगमका कन्ट्री म्यानेजर सन्तोष पाण्डेलाई वर्क पर्मिट नदिएपछि समस्या भएको थियो । हिराचनसँग रहेको आवश्यक कागजपत्र नदिएपछि पाण्डेले वर्क पर्मिट पाएका थिएनन् । सर्वोच्चको फैसलापछि हिराचनसँग कागजात मागेर वर्क पर्मिटका लागि पाण्डेले प्रक्रिया सुरु गरिसकेका छन् । तर, जापानमा निगमले टिकट बिक्री गर्न त्यहाँको एडभान्स ग्लोबल ट्रान्सपोर्ट (एजीटी)लाई प्यासेन्जर सेल्स एजेन्ट (पीएसए) नियुक्त गरिसकेका कारण कुनै समस्या नहुने बताइएको छ ।
हाल नेपालबाट जापान जान विभिन्न देशमा २४ घण्टासम्म ट्रान्जिटमा बस्नु पर्ने बाध्यता छ । निगमले नियमित उडान गरेमा ट्रान्जिटमा बस्नु पर्ने समस्या हट्ने भएकाले पनि अधिकांश यात्रुको रोजाइमा पर्ने विश्वास लिइएको छ ।
पछिल्लो समय नेपाली विद्यार्थीहरु अध्ययनका लागि जापान जाने गरेका छन् । पाँच वर्षदेखि जापान अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आएको पानासिया एजुकेसन फाउन्डेसनका सञ्चालक लीलाराम खड्काले निगमले नियमित उडान गरेमा विद्यार्थीहरु सोही जहाजमार्फत जापान पठाउन तयार रहेको बताए । लामो समय ट्रान्जिटमा बस्नुभन्दा ओसाकाबाट ट्रेन र प्लेनबाट विभिन्न सहरमा जान सहज हुने उनको भनाइ छ ।
निगमले सुरुआती चरणमा १ महिनाका लागि एकतर्फी ३६ हजार ९९९ र दुईतर्फी ७२ हजार ८१४ रुपैयाँ भाडादर तोकेको छ । यसअघि दुई पटक तालिका फेर्दै आएको निगमले यस पटक भने निर्धारित समयमै उडान गर्ने गरी तयारी गरिरहेको छ ।
निगमले साताका तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका बनाएको छ । काठमाडौंबाट ६ घण्टा ३० मिनेटमा ओसाका पुग्न सकिन्छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपराह्न ६ः०० बजे काठमाडौं आइपुग्नेछ । ओसाकाका सबै उडान वाइडबडी ए३३०–२०० बाट हुने जनाइएको छ ।