चितवन । १० वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याएका छन् । दियालो र अनुपम फुडल्याण्डको नाममा उनको समूहको होटल बिस्तार भइरहेको छ ।
१५ वर्षअघि काठमाडौंको बसुन्धरामा उनको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाममा बुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ । त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौंको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौंडा र नुवाकोटमा शाखा बिस्तार गर्ने उहाँको तयारी छ । चापागाइले भने, “आउँदो ५ वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छौं ।”
भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनले यहाँको बालकुमारी कलेजबाट कानुनमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै उहाँ बेलायत पुगे । नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा उनको जिम्मेवारी राम्रो होटलको सेफको थियो । त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्किएर काम थालेको चापागाईले बताए ।
उनले भने, “मैले त्यहाँ पैसा र सीप पाएपछि स्वदेशमा नै गएर काम गर्ने रहर भयो ।” नेपाल फर्किएसँगै काठमाडौंमा एक जना साझेदारसँग मिलेर उनले दियालो फुडल्याण्ड सुरु गरे । ती साझेदार हुन माधव पाण्डे । यससँगै साझेदारको सङ्ख्या थप गरेर व्यवसाय बिस्तार हुन थाल्यो ।
सुरुमा दुई जनाले २ करोड २० लाख रुपैयाँ लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा ५० करोड रुपैयाँभन्दा माथिको पुगेको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ । सबैलाई जोड्दा यो सङ्ख्या पुगेको हो ।
आम्दानीको २० प्रतिशत व्यवसाय बिस्तारका लागि खर्च गरिँदै आएको उनले बताए । राजधानीमा ठूला कार्यक्रमका लागि चापागाई परिचित नाम हो । राजनीतिक दलका सभासम्मेलन गर्न पर्दा आउने नाममध्येमा उहाँलाई पहिलो लहरमा लिने गरिन्छ । आफ्नो गृह जिल्ला चितवनमा उहाँले सबैभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ ।
हलमा २ हजार २०० कुर्सी अट्छ । राजधानी बाहिर यति ठूलो हल कसैको छैन । कला कौशलले सजिएको बेलायती शैलीको आकर्षक हलसँगै २० कोठा दियालोमा छ । आफैँ सेफ भएकाले उनका होटलमा परिकारमा बढी जोड दिइन्छ ।
दियालो समूहका अध्यक्ष चापागाई काठमाडौंका जस्ता सेफ स्थानीयस्तरमा पाउन कठिन र एकै खालका खानाका लागि राजधानीका सेफ राखेर बाहिरी शाखा सञ्चालनमा आएको बताए । चितवनमा राष्ट्रियस्तरका कार्यक्रम गर्न सहयोग पुगोस् भन्नका लागि ठूलो हलमा खर्च गरेको उनको भनाइ छ । यहाँको शाखामा मात्र १२ करोड रुपैयाँ खर्च भएको चापागाईले जानकारी दिए ।
होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले विदेशको सीप उपयोग हुने गरी स्वदेशमा व्यवसाय बिस्तार गर्नु सकारात्मक भएको बताए । अहिलेको परिस्थिति सकारात्मक नभए पनि आउँदा दिनमा होटल व्यवसाय राम्रो हुने उनको भनाइ छ ।
चितवन देशकै केन्द्रबिन्दु भए पनि ठूला हलको अभावमा कार्यक्रम हुन नसकेको भन्दै उनले चापागाई समूहको होटल ठूला कार्यक्रमका लागि प्रभावकारी हुने छ भने ।
दियालो फुडल्याण्ड चितवनका साझेदार सनदकुमार पियाले विदेशमा आर्जन गरेको सीप यहाँ ल्याएर यसको प्रतिफल नेपालीलाई दिने उदाहरणीय काम चापागाईले गरेको बताए । नेतृत्वकर्तासँग सीप भएकाले आफूहरु लगानी गर्दा ढुक्क रहेको उनको भनाई छ । रासस