काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइनमार्फत राजस्व संकलनको प्रणाली विकास गरेको भदौमा एक वर्ष पुगेको छ । तर, सिंगो महानगरमा हाल यस प्रणालीको प्रयोग गरी कर भुक्तानी गर्नेको संख्या ८० मात्र छ ।
महानगरको सिस्टममा हाल २ लाख १० हजार करदाताको डेटा बेस छ । तर, डेटाबेस भेरिफाइ गरी अनलाइनमार्फत नै कर तिर्ने करदाताहरुको संख्या भने हाल ८० मात्र छ ।
महानगरको डेटाबेसमा सबैको विवरण भए पनि करदाताले त्यसलाई प्रमाणीकरण गर्न व्यक्तिगत रुपमा वडा कार्यालय गई मोबाइल नम्बर तथा इमेल एड्रेसहरु दर्ता गराई प्रमाणीकरण गराउनुपर्ने महानगर राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी बताउँछन् ।
आफूले महानगरलाई बुझाउनुपर्ने विभिन्न किसिमका कर, शुल्क तथा दस्तुरहरुको आफैं मूल्यांकन गरी घरमै बसेर कर तिर्ने सुविधाका कारण कर कार्यालयमा लाइन बसेर कर तिर्ने झन्झटबाट मुक्ति दिए पनि यसको फाइदा र उपयोगिताका बारेमा मानिसहरुले बुझ्न नसकेको प्रमुख डा. अधिकारी बताउँछन् ।
तर, एक वर्षअघि सार्वजनिक गरेको उक्त अनलाइन कर भुक्तानी प्रणालीलाई महानगरले केही समय बन्द गर्नु परेको थियो ।
करदाताहरुले विभिन्न वडाबाट भुक्तानी गरेको कर एकै ठाउँमा जम्मा भई कुन वडाका कति करदाताले कति रकम तिरे भन्ने विवरण सिस्टमले छुटाउन नसकेपछि महानगरले प्रणाली केही समय बन्द गरेको थियो । हाल उक्त फिचर सिस्टममा थप गरी यही साउनदेखि पुनः प्रणाली सञ्चालनमा ल्याएको हो ।
‘सिस्टम अद्यावधिक गरे पनि यो अझै परीक्षणकालमै छ, असोजमा यसको पूर्णरूपमा लन्च गर्ने तयारीमा छौं,’ प्रमुख डा. अधिकारी भन्छन्, ‘तर अहिले मेयरलाई करदाताबाटै डेमो देखाउन भनी यो प्रणाली प्रयोग गर्ने करदाता खोज्न प्रत्येक वडालाई लगायौं तर भेट्नै मुस्किल प¥यो । हामीसँग २ लाख १० हजार करदाताको डेटाबेस छ तर मुस्किलले ७०, ८० जनाले मात्र यो प्रणालीबाट भुक्तानी गरिरहेका छन् ।’
हाल धेरैजसो करदाताहरुले भौतिक रुपमा लाइन बसेर नै कर तिरिरहेको उनी बताउँछन् । यसै कारण ती करदाताको सहजीकरणका लागि महानगरले अब चाँडै नै प्रत्येक वडा परिसरमा बैंकको काउन्टर राखेर कर भौतिक रुपमा कर तिर्ने प्रवन्ध मिलाउने तयारी गरेको उनले जानकारी दिए ।
‘साउनबाटै वडामा बैंकको काउन्टर स्थापना गर्ने तयारी सोच थियो । तर अब यो कात्तिक वा मंसिरबाट सुरु हुन्छ । हाल बैंकहरुसँग सम्झौता गर्ने तयारीमा छौं,’ उनले भने ।
चार करोड कर दाखिला, धमाधम तिर्ने क्रम जारी
यस्तै महानगरमा हाल १७ वटा सानाठूला करदाताले आफ्नो सम्पत्ति तथा घरजग्गाको कर बक्यौता दाखिला गरेका छन् । हालसम्म महानगरले ४ करोड ३७ लाख २९ हजार ६ सय ९८ रुपैयाँ कर संकलन गरेको हो ।
२८ वर्षदेखि जग्गा तथा सम्पत्ति कर बक्यौता दाखिला नगर्ने व्यक्तिगत करदाता तथा साना ठूला कम्पनीलाई महानगरले कर तिर्न आह्वान गर्दै घर–घरमा बाजागाजासमेत बजाएको थियो ।
महानगरले २८ वर्षदेखिको ५० देखि ६० करोडसम्मको कर बक्यौता रकम संकलन गर्नु पर्नेछ । कर तथा जरिवाना नबुझाएको खण्डमा सेवा बन्द तथा सम्पत्ति रोक्कासमेत गरिदिने महानगरले चेतावनी दिएको थियो ।