काठमाडौं । अन्तर्राष्ट्रिय होटल चेन मेरियटको अर्को फ्रेन्चाइजी नेपालमा स्थापना हुँदैछ । गुड कर्मा ग्रुप अफ कम्पनीजले महाराजगन्जमा मेरियटको नयाँ फ्रेन्चाइजी ‘ले मेरिडियन’ फाइभ स्टार होटल निर्माणका लागि गत अगस्ट ७ मा मेरियटसँग सम्झौता सम्पन्न गरेको छ ।
कम्पनीले होटलसँगै रेसिडेन्सियल लक्जरी अपार्टमेन्ट पनि निर्माण गर्ने गुड कर्मा ग्रुप अफ कम्पनीजका अध्यक्ष कर्मा तेन्जिङले क्यापिटल नेपाललाई बताए ।यससँगै गुड कर्मा ग्रुप अफ कम्पनिजले होटल तथा अपार्टमेन्ट विल्डिङको व्यवसायमा प्रवेश गरेको छ ।
हाल उक्त होटल तथा अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ । भारतमा धेरै ओटा मेरियट होलटहरूको डिजाइन र कन्सेप्टमा काम गरिसकेको नायक एण्ड एसोसिएट्सले डिजाइन तयार गरेको हो ।
महाराजगन्जस्थित कम्पनीकै काठमाडौं भ्याल्ली स्कुलको ११ रोपनी १ आना जग्गामा होटल र अपार्टमेन्ट भवन निर्माण गर्ने कम्पनीले बताएको छ । त्यहाँ रहेको ३६ वर्ष पुरानो काठमाडौं भ्याल्ली स्कुललाई भने बालाजुस्थित सिद्धार्थ बनस्थली स्कुलदेखि पाँच मिनेट पछाडीको जग्गामा सार्ने तयारी भइरहेको कम्पनीका अध्यक्ष कर्मा तेन्जिङले बताए ।
ले मेरिडियन होटलमा १७० रुम, एउटा क्यासिनो, एउटा बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हुनेछन् । यस्तै ले मेरिडियनकै पछाडी कम्पनीले ८२ युनिटको लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्ने गर्नेछ ।
गुड कर्मा ग्रुप अफ कम्पनीजको एकल लगानी र सञ्चालनमा निर्माण हुन लागेको होटल र अपार्टमेन्ट परियोजनामा ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । जसमा होटलतर्फ ४ अर्ब ५० करोड र अपार्टमेन्टको मूल्य एक अर्ब ५० करोड रहनेछ ।
मेरियटको फ्रेन्चाइजी अन्तर्राष्ट्रिय स्तरको फाइभस्टार होटल ले मेरिडियनसँगै रहने उक्त अपार्टमेन्ट लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट हुने र यसको प्रतियुनिट ३ देखि ५ करोडसम्म पर्ने अध्यक्ष कर्मा तेन्जिङले बताए ।
तर, ग्रुपले होटलभन्दा पहिले अपार्टमेन्ट निर्माणमा केन्द्रित हुने बताएको छ । होटल र अपार्टमेन्टको निर्माण सम्पन्न गरी सञ्चालन हुन अझै चार वर्ष लाग्ने उनी बताउँछन् । त्यस समयसम्म कोभिड–१९ को संकट पनि साम्य हुनेमा उनी आशावादी छन् ।
काठमाडौं भ्याल्ली स्कुल, इन टु दी हिमालयज, मःम कर्मा जस्ता व्यवसाय सञ्चालन गरिरहेका गुड कर्मा ग्रुप अफ कम्पनी यससँगै अब हस्पिटालिटी तथा अपार्टमेन्ट व्यवसायमा पहिलो पटक प्रवेश गर्नेछ ।
कोभिडका कारण धेरै होटल तथा हस्पिटालिटी व्यवसायहरू सञ्चालन वा बन्द हुने दुविधामा रहेको समयमा चार वर्षपछि ‘ले मेरिडियन’ तयार हुँदा नेपालको हस्पिटालिटी क्षेत्रमा देखिने सम्भावित ग्यापलाई परिपूर्ति गर्न योगदान पुर्याउने कर्माको विश्वास छ ।
ट्रेक कम्पनी टु दी हिमालयजको सफलता र साथीभाईको राम्रो प्रतिक्रियापछि गुड कर्मा ग्रुप अफ कम्पनीजको दायरालाई नयाँ ढंगले विस्तार गर्न यो व्यवसायमा प्रवेश गर्न लागेको उनी सुनाउँछन् ।
अमेरिकी दूतावास, यूएस पिस कोर तथा यूएस एजुकेसन फाउण्डेसन जस्ता ठूला संस्थाहरू नजिकै भएको कारण ‘ले मेरिडियन’ले बाह्य पर्यटक मात्र नभई आन्तरिक क्लाइन्ट तथा पर्यटकलाई पनि अन्तर्राष्ट्रिय स्तरको स्वाद र सन्तुष्टि पस्कनेमा कर्मा ढुक्क छन् ।
अमेरिकाका विश्वविख्यात कम्पनीहरूमा ह्वाइट कलर कर्मचारीको रुपमा काम गरिसकेका कर्मा अन्तर्राष्ट्रिय कार्य संस्कृति र शैलीबाट निकै प्रभावित छन् । यसै कारण आफूले मेरियट होटल चेनको अर्को फ्रेन्चाइजीलाई नेपाल भित्र्याएको बताउँछन् ।
यो पनि हेर्नुहोस
वालस्ट्रिटबाट मोडिएको कर्माको पाइला, नेपालमा मःम पसलदेखि पाँचतारेतर्फको यात्रा