काठमाडौं । नेपालका लागि महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले यस पटकको नाडा अटो सोमा महिन्द्राका पछिल्ला उत्पादन ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमै आफ्नो अलग पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार लिने आशा गरिएको छ ।
महिन्द्राले उत्पादन गरेका स्पोटर््स युटिलिटी भेहिकल (एसयूभी) ‘एक्सयूभी–३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टिपर्पोज भेहिकल (एमपीभी) ‘मराजो’ले नाडा अटो सो २०१९ मा सबैको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
महिन्द्रा एक्सयूभी–३००
महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतीक्षा गरिएको मिड साइज एसयूभी हो । महिन्द्राको नयाँ प्लेटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक छ ।
यसमा आकर्षक सनरुफका साथै, एलईडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् ।
एक्सयूभी ३०० मा ७ ओटा फस्ट इन सेग्मेन्ट फिचर दिइएको छ । सात ओटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षित गाडी बनेको छ ।
नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।
साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरका साथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले बताएको छ ।
महिन्द्रा मराजो
त्यस्तै निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो सोमा मुख्य आकर्षणका रुपमा रहने छ । मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ भने, कारका केही भाग सिकारी सार्क माछाको डिजाइनबाट प्रेरित भई निर्माण गरिएको छ ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिस्ट, स्ट्यान्डर्ड दुइटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचर दिइएको छ ।
मराजो कारको क्याबिनको छतमा एयर कन्डिसनिङ भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिनसहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
कारमा थ्री–स्पोक स्टेयरिङ ह्वील छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रुज कन्ट्रोलको सुविधा छ ।
महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।