काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६१.८ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनालाई लगानी जुटाउन थालिएको छ । ४२ मेगावाटको माथिल्लो र १९.८ मेगावाटको तल्लो गरी दुई आयोजना अघि बढाउन कोरियाको निर्यात आयात (एक्जिम) बैंकसँग ऋण लिन प्रक्रिया अघि बढेको हो ।
ऋण लिन विद्युत प्राधिकरणले ऊर्जा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पत्राचार गरेको छ । ऋण लिनका लागि हाल अर्थमा छलफल चलिरहेको छ । आयोजना बनाउन १२ अर्ब ५० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । जसमध्ये ७० प्रतिशत अर्थात ८ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक ऋण र बाँकी ३० प्रतिशत अर्थात ३ अर्ब ७५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइने भएको छ ।
यो वर्ष लगानी जुटाएर आगामी आर्थिक वर्षमा आयोजनाको निर्माण थाल्ने कम्पनीका प्रवन्ध सञ्चालक सूर्यप्रसाद पौडेलले बताए । जति छिटो ऋण सम्झौता हुन्छ, त्यतिनै चाँडो आयोजना निर्माण सुरु हुने प्रवन्ध सञ्चालक पौडेलको भनाई छ । उनले आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्न विद्युत प्राधिकरणमा निवेदन दिएको जानकारी दिए ।
कोरियाको एक्जिम बैंकले लगानी गर्न चासो देखाएकाले औपचारिक रुपमा ऋण लिने प्रक्रिया अघि बढाएको उनको भनाई छ । एक्जिम बैंकको ऋण सस्तो हुने भएकाले प्रक्रिया अघि बढाएको पौडेलले बताए । एक्जिम बैंकबाट ऋण नआएमा स्वदेशी बैंकबाट लगानी जुटाइने उनले स्पष्टपारे । ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले नेपाली बैंकहरुसँग प्रक्रिया अघि बढाउन अनुमति दिएमा छलफल थालिने उनले जानकारी दिए ।
कर्मचारी सञ्चय कोष, नेपाल बैंक र बैंक अफ काठमाण्डुलगायतसँग ऋण लगानीको विषयमा प्रारम्भीक छलफल भइरहेको प्रवन्धक सञ्चालक पौडेलले सुनाए । आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट(इपीसी) खाकामा निर्माण हुनेछ । दुबै आयोजना बेग्लै प्याकेजमा निर्माण हुने भएका छन् ।
जसअनुसार आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलकोको जिम्मा प्रतिस्पर्धाबाट छनौट हुने ठेकेदारले पाउने भएको छ । ४२ मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली उत्पादन गरेर बाहिरिने पानीलाई पुनः सुरुङमा लगेर १९.८ मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको योजना रहेको छ ।
आयोजनाको प्रारम्भीक सबै काम पुरा भएकाले निर्माणको चरणमा जान लागेको छ । मोदी नदीको वहावमा आधारित (रन अफ दी रिभर) आयोजना हो ।मोदीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । जग्गा प्राप्तीको भुक्तानी भइरहेको प्रवन्धक सञ्चालक पौडेलले सुनाए ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । जसमा विद्युत प्राधिकरणको ६८ प्रतिशत र बाँकी ३२ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना कम्पनीको छ । आयोजनाबाट वार्षिक ३१ करोड ५० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुनेछ । एक्जिम बैंकबाट सहुलियत दरमा ऋण पाएमा प्रतिफल औसत १५ प्रतिशत हुने अध्ययनले देखाएको छ ।
नत्र भने १२ प्रतिशत हारहारीमा हुने देखिएको छ । आयोजना सञ्चालमा आएको ८ वर्षमा ऋण चुक्ता गर्ने बताएको छ । माथिल्लो आयोजनाको सुरुङको लम्बाइ ६ र तल्लोको ४ किलोमिटर हुनेछ । दुबैको विद्युतगृह संरचना सतहमा हुने प्रस्ताव गरिएको छ ।
आयोजनाको आवासलगायत अन्य क्याम्प निर्माणको काम सुरु भएको छ । रविना महालक्ष्मी जेभीले २० करोड रुपैयाँमा निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली २१ किलोमिटर लामो प्रसारण लाइन हुँदै विद्युत प्राधिकरणले प्रस्ताव गरेको १३२ केभी न्यू मोदी सवस्टेशनमा जोडिने छ ।
माथिल्लो आयोजनाको हेड २८६ र तल्लोको १३५ मिटर रहेको छ । आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । यसअघि कोरिया वाटर रिसोर्स कर्पोरेशन (के–वाटर) बनाउने प्रस्ताव गरेको थियो । के वाटरका पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेको थियो । के वाटर पछि हटेपछि प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाएको हो । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो ।