काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंक (एडीबी)को टोलीले यथार्थ वस्तु स्थिति (टीओआर)को तयारी थालेको छ । सरकारले गत साउन १८ गते मेलम्ची खानेपानी आयोजनाभन्दा माथिल्लो क्षेत्रको भौगार्भिक अवस्थाको अध्ययन गर्न एडीबीलाई पत्राचार गरेको थियो ।
सोहिअनुसार एडीबीले सकारसँग आफुले गर्ने कामको बारेमा प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव संसोधान गरेर खानेपानी मन्त्रालयले पठाएपछि एडीबीले टीओआर तयारीको काम अगाडि बढाएको मन्त्रालयकी सचिव तथा मेलम्ची खानेपानी विकास समितिकी अध्यक्ष प्रमिलादेवि शाक्य बज्राचार्यले बताइन् ।
‘एडीबीको प्रस्तावमा हामीले केही कुरा परिवर्तन (संसोधन) गरेर पठाएका छौं त्यसको प्रतिक्रिया आएको छैन । उस्ले टीओआर पठाएपछि कहिले विज्ञसहितको टोली अध्ययनको लागि जान्छ भन्ने टुङ्गो लाग्छ ।’ सचिव बज्राचार्यले भनिन् ।
त्यस्तै अध्ययन टोलीमा नेपालकै भूगर्भविदहरुलाई प्राथमिकता दिने एडीबीले जनाएको छ । ‘नेपालमा नै विज्ञ छन् भने बाहिरबाट किन ल्याउनु ? नेपालको भू–भागबारे यहीँको मान्छेले बढी बुझेको हुन्छ भन्ने एडीबीको धारण हो ।’
क्यापिटल नेपालसँग कुरा गर्दै सचिव भन्छिन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रि दुई प्रकारका विज्ञ हुन्छन्, राष्ट्रिय विज्ञको लागि भने हामीसँग नै छलफल गर्ने एडीबीले जनाएको छ ।’
राष्ट्रि गौरवको मेलम्ची खानेपानी आयोजनामा गत असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको बाढीले क्षति पुर्याएको थियो । करिब २ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिए पनि हालसम्म यकिन विवरण भने आउन सकेको छैन ।
वर्षाको कारण क्षतिको विवरण तयार गर्न समस्या भएको आयोजनाले जनाउँदै आएको छ । जसको कारण खानेपानी आयोजनाको भविष्य अनिश्चित भएको छ भने, खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा पानीको वैकल्पिक व्यवस्थाको लागि छलफल सुरु गरेको छ ।