पोखरा । पोखराको न्युरोडस्थित सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्य महिलालाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले सहकारीका महिला सेयर सदस्यलाई तीज विशेष उपहार प्रदान गरे ।
अध्यक्ष ढुंगानाले परापूर्वकालदेखि मनाउँदै आएको तीज पर्वको आफ्नै धार्मिक, सांस्कृतिक सामाजिक एवं ऐतिहासिक महत्व रहेको जनाउँदै महिला दिदीबहिनीलाई सम्मान स्वरूप संस्थाले उपहार प्रदान गरेको बताए । संस्थाले महिला उद्यमी बन्न प्रोत्साहन गर्दै उद्यमी कर्जामा कम ब्याजमा ऋण लगानी र नारी बचतमा बढी ब्याज दिएर महिला सेयर सदस्यलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
संस्थाका प्रवन्धक रेशम खड्काले तीन वर्षदेखि महिला सेयर सदस्यहरुलाई तीज उपहार प्रदान गर्दै एक अर्कामा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको जानकारी दिए । उपहारमा भेलभेटको थैली ब्याग, कपालमा लगाउने डोरी र काँटा प्रदान गरिएको हो ।
उनका अनुसार तीन सय ९७ सेयर सदस्यमध्ये संस्थमा १ सय ६६ जना महिला सदस्य छन् । त्यसैगरी बासलात २४ करोडको हाराहारीमा छ भने १७ करोड निक्षेप संकलन र १९ करोड र लगानी गरेको छ ।
संस्थाका सेयर सदस्य सजनी श्रेष्ठले हिन्दु नारीहरुको महान् पर्वलाई संस्थाले प्राथमिकता दिएर उपहार प्रदान गर्नु निकै सकारात्मक भएको धारणा राखे । उनले पर्व लक्षित यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आत्मियता एवं भाइचारा वृद्धि गर्ने बताए ।
अर्का सदस्य शारदा भुजेलले संस्थाले तीजको अवसरमा महिला सेयर सदस्यलाई उपहार प्रदान गरेर सेयर सदस्य महिलाबीचको आत्मियता प्रगाढ गराएको धारणा राखेका थिए ।
संस्थाका उपाध्यक्ष प्रेम दाहालले तीज लक्षित यस कार्यक्रमले पर्वको महिमालाई उजागार गर्दै सामाजिक सद्भाव र सहिष्णुतालाई जोड दिएको बताए । उनले तीज महिलाको साझा एवं स्वतन्त्रताको पर्व भएकाले यसका सकारात्मक पक्षहरुलाई ग्रहण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।