काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा हिमाल र गैंडाको कुरा सुनाए ।
हवाई सुरक्षाको विषयमा गम्भीर छलफल गर्न आयोजित सम्मेलनमा प्रधानमन्त्री ओलीले सगरमाथा र गैंडाको बयान गरेपछि हलमा उपस्थित विदेशीहरु मुखामुख गरिरहेका थिए । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका ३ सय ९० विदेशी पाहुना (विदेशी उच्च अधिकारी) को सहभागिता छ ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिकांश समय नेपालका विभिन्न क्षेत्रका विषयमा जानकारी गराएका थिए । नेपालमा पाइने वनस्पतिदेखि यहाँको वातावरण र सांस्कृतिक सम्पदाहरुको बयान गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको र गौतमबुद्ध र पोखरा विमानस्थल निर्माणका चरणमा रहेको जानकारी दिए । उनले हवाई संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नीतिगत सुधार, पूर्वाधार विकास, उच्चतम प्रविधिको प्रयोग र सेवा स्तरीकरणलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हवाई उड्डयनका क्षेत्रमा नीतिगत सुधारको काम अघि बढाइएको र आइकाओको चासोअनुरूप प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा स्थापित गर्न कानून निर्माणको चरणमा रहेको बताए ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको वायु सेवा सुरक्षाको अवस्था सुधारमा नेपालले प्रगति हासिल गरिरहेको सन्दर्भमा यस्ता सम्मेलनले नेपालको हवाई क्षेत्रलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने बताएका छन् ।
आइकाओ काउन्सिल अध्यक्ष ओलुमोयिवा बनार्ड अल्यूलेले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा आएको आधुनिक प्रविधिको नवीनतम आयामलाई उच्चतम प्रयोग गरी हवाई सुरक्षालाई थप गुणस्तरीय बनाउनेतर्फ सामूहिक प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् ।
आइकाओका एशिया प्रशान्त क्षेत्रीय निर्देशक अरुण मिश्रले उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन लागिपरेको उल्लेख गर्दै हवाई क्षेत्रको सुधारका दृष्टिकोणले नेपाल प्रगतिको दिशातर्फ उन्मुख रहेको बताए ।
सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्व छ । एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा)लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुने छ ।