काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अर्धजलाशय र जलाशययुक्त ठूला आयोजना बनाउन सर्वसाधारणलाई सेयर निष्कासन गरेर लगानी जुटाउने भएको छ । नदीका वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका आयोजनामा मात्रै सर्वसाधारणलाई सेयर निष्कासन हुने गरेकोमा अब जलाशय र अर्धजलाशय आयोजनामा पनि लगानी जुटाउन यो मोडेल अपनाउन लागेको हो ।
प्राधिकरणले अघि बढाउन लागेको ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त, १०६१ मेगावाटको माथिल्लो अरुण तथा २१० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरूलाई सरकारले कार्यान्वयनमा ल्याएको ‘नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत’ सर्वसाधारण नागरिकलाई समेत सेयर निष्कासन गरी रकम जोहो गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
सेयर निष्कासनपछि आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्ने उनले जानकारी दिए । । तीनवटै आयोजनाहरू अहिले विस्तृत अध्ययनको अन्तिम चरणमा छन् । आयोजना निर्माणका लागि विद्युत प्राधिकरणले बेग्लाबेग्लै सहायक कम्पनी स्थापना गरिसकेको छ ।
नेपालको पानी जनताको लगानी कार्यक्रममार्फत सर्वसाधारण नागरिकलाई पनि सेयर निष्कासन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइने उनले स्पष्टपारे । १९०० मेगावाट क्षमताका ३ ठूला आयोजना बनाउन ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
बाँकी रकम अर्थ मन्त्रालयमार्फत एसियाली विकास बैंक (एडीबी) को नेतृत्वमा दूधकोसीमा लगानीका लागि युरोपेली लगानी बैंक (ईआईबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंकलगायत अन्य दातासँग छलफल भइरहेको घिसिङले सुनाए ।
लगानीका हिसावले रन अफ दी रिभरको तुलनामा अर्धजलाशय र पूर्ण जलाशय आयोजना महँगो हुने गरेको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङ तीनवटा जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङलाई अन्तिमरूप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेण्डर कागजात तयार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापनका लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगका छलफललगायतलाई समानान्तर रूपमा अगाडि बढाइएको बताउँछन् ।
‘दैनिक एवं मौसमी विद्युत माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत छिमेकी मुलुकमा निर्यातका लागि समेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनलाई उच्च प्राथमिकतामा लागि निर्माण अगाडि बढाउन लागिएको हो’, घिसिङले भने ‘एक वर्षभित्रमा निर्माण पूर्वका सम्पूर्ण कामहरू सकेर निर्माणमा लैजाने गरी तीव्रताका साथ काम गरिरहेका छौं ।’
दूधकोसीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रूपमा सस्तो र आकर्षक मानिएको छ ।
खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र बर्खामा १ अर्ब ३६ करोड र २ अर्ब ८ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको निर्माणका लागि ७ वर्ष लाग्ने अनुमान गरिएको छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाका रूपमा अगाडि बढाइने बताएका छन् । जडित क्षमता १०६१ मेगावाट र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैंक, युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने उनले बताए ।
विद्युत बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ ।
प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो ।
बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेमचेन्जर आयोजनाको रूपमा अगाडि बढाइनेछ । जनताको जलविद्युत कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहनेछ ।
आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम भइरहेको छ । हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट वार्षिक १ अर्ब १६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ ।