काठमाडौं । चक्रपथ सडक विस्तारअन्तर्गतको कलङ्की–महाराजगन्ज दोस्रो खण्डको आयोजना क्षेत्रका काम ‘साइट क्लियरेन्स’ सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । आगामी ६ महिना अर्थात् माघसम्म ‘साइट क्लियरेन्स’ गरिसक्न सडक विभागलाई प्रधानमन्त्री कार्यालयले दबाब दिएको हो ।
माघभित्र आयोजना क्षेत्रमा निर्माणपूर्वका सम्पूर्ण काम सम्पन्न गरेर फागुनमा चक्रपथ खण्ड निर्माणका लागि चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले क्यापिटल नेपाललाई जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयको निर्देशनबमोजिम माघसम्म साइट क्लियरेन्स गर्न लागिपरेको परेको उनले बताए । ‘प्रधानमन्त्री कार्यालयबाट माघफागुनसम्म जसरी पनि साइट क्लियरेन्स गर्नू भन्ने आदेश छ । त्यसअनुसार नै काम गर्नुपर्ने दबाबमा छौं,’ उनले भने, ‘अहिले उक्त खण्डको साइट क्लियरेन्सका अधिकांश काम सुरु भइसकेका छन् ।’
कलङ्कीदेखि गोपीकृष्ण फिल्म हलसम्म ११ किमि सडक विस्तार गर्न दिने योजना छ । तर, चिनियाँ कम्पनीले भने ८.३ किमि अर्थात् नारायणगोपाल चोकसम्म विस्तार तथा निर्माण गर्ने जनाएको छ ।
अहिले उक्त चक्रपथ खण्डमा बिजुलीको पोल, खानेपानी पाइप, दूरसञ्चार तथा सेवाप्रदायकका तार तथा केबलहरु व्यवस्थापन र क्लियरेन्स गर्नुपर्छ । साइट क्लियरेन्सका केही काम सुरु भइसकेका छन् । थापाका अनुसार, नेपाल विद्युत् प्राधिकरणको बालाजु र कुलेश्वर शाखाका झन्डै ५० ओटा पोल सारिसकिएको छ । कुलेश्वर र वसुन्धरा शाखाका पोल सार्ने प्रक्रिया अघि बढेको छ । सोल सार्न प्राधिरकणलाई १० करोड २० लाख रुपैयाँ लागत एस्टिमेट दिइसकिएको सडक विभागले जनाएको छ ।
त्यस्तै त्यस खण्डमा झन्डै २ हजार ९७ रुख काट्नुपर्छ । कटान गर्ने रुखमा ट्याग लगाइसकिएको र वन कार्यालयले स्वीकृति दिइसकेको छ । मूल्याङ्कन गरेर वन कार्यालयबाट खडा रुख लिलाम गर्न सडक विभागले १५ दिने सूचना जारी गरेपछि त्यो समस्या हट्नेछ । तत्काल मेलम्ची खानेपानीका लागि खनिएका पाइप भने हटाउन नसकिने देखिएको छ । डेढ मिटर पाइप हटाउन गाह्रो भएकाले अहिले यथावत् अवस्थामा राखी सडक विस्तार गरिने सडक विभागले जनाएको छ ।
खानेपानी कार्यालयले पनि पाइप सार्न लाग्ने लगत एस्मिटेट दिने बताएको थापाले बताए । कार्यालयले एकदुई दिनमा लगत अनुमानसहितको रकम विभागलाइ पठाउने उनले बताए ।
यता, नेपाल टेलिकमले आफ्नो सेवा स्थानान्तरण गर्न २० करोड लगत एस्टिमेट माग गरी विभागमा आएको छ । तत्काल टेलिकमलाई मागबमोजिमको रकम उपलव्ध गराउन समस्या भएको थापाले बताए ।
प्रारम्भिक अध्ययनका आधारमा कलङ्की–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । अहिले नपुग ४ लेनको सडकलाई ८ लेनमा विस्तार गरिनेछ । निर्माण हुने चार लेनको बीच खण्ड २/२ लेनमा छुट्याई बनाइनेछ ।
मुख्य मुख्य सहरीक्षेत्रमा आकाशे पुल निर्माण गरिने थापाले बताए । डीपीआरपछि मात्र कति र कहाँकहाँ पुल बनाउने भन्ने यकिन हुने उनको भनाइ छ ।
सडक खण्डको चिनियाँ कम्पनीले यसअघि नै सर्भे गरिसकेको छ । डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनीमार्फत हुनेछ । चक्रपथ चिनियाँ सरकारको अनुदान सहयोगमा बन्नेछ ।
थापाले चैतसम्म प्रस्तावित चक्रपथ निर्माण गर्न चिनिँया पक्षलाई हस्तान्तरण गर्ने योजना रहेको बताए । ‘आगामी चैतपछि नै उक्त चक्रपथ खण्ड निर्माण सुरु गर्न चिनियाँ पक्षलाई ‘ह्यान्डओभर’ दिने योजनामा छौं,’ प्रमुख थापाले भने । उनका अनुसार, साढे २ बर्षभित्र उक्त चक्रपथखण्ड निर्माण सम्झौता छ ।
यसअघि पहिलो खण्डमा कलङ्की-कोटेश्वर चक्रपथ पनि चिनियाँ सरकारकै सहयोगमा सम्पन्न भएको थियो ।