काठमाडौं । सञ्चालनमा आएको देशको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आउँदो बिहीबारदेखि औपचारिक रुपमा बिजुली बिक्रीबाट आम्दानी गर्न भएको छ । सोही दिनदेखि नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली खरिद गरेवापत भुक्तानी गर्ने भएको छ ।
आयोजनाको विकासकर्ता अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले २ अर्ब २८ करोड १० लाख युनिट बिजुली बेचेर वार्षिक ९ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गर्नेछ । ६ वटै युनिट सञ्चालनमा आएपछि आइतबारदेखि औपचारिक रुपमा आयोजनाको काम सम्पन्न भएको अपर तामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए ।
अहिले आयोजनाले बिजुली बिक्रीबाट आंशिक कमाइ गरे पनि भदौ २४ गतेदेखि पूर्ण रुपमा आम्दानी हुने उनले बताए । आयोजनाले पहिलो युनिटबाट असार २१ गतेदेखि बिजुली उत्पादन थालेको हो । अहिले आयोजनाबाट ४५६ मेगावाट बिजुली उत्पादन भइरहेको सीईओ श्रेष्ठले बताए । एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ ।
माथिल्लो तामाकोसीको विद्युतगृह गोंगरदेखि ४७ किलोमिटर पर रहेको खिम्ती सवस्टेशनमा जोडिएको छ । सो बिजुली २२० केभी प्रसारण लाइन हुँदै ढल्केबर र काठमाडौंमा प्रवाह भइरहेको छ ।
आयोजना सञ्चालनमा आएकाले भारतबाट आयात हुने बिजुलीको परिमाण घट्ने छ । वर्षादको ४ महिनामा आयोजनाबाट उत्पादन हुने केही बिजुली खेर जाने र सुक्खायाममा भारतबाट आयात गर्नुपर्ने अवस्था आउने बताइएको छ ।
जडित क्षमता ४५६ मेगावाट भए पनि माघ र फागुनमा तामाकोसी नदीमा पानीको सतह तल्लो तहमा पुगेपछि आयोजनाबाट बिजुली उत्पादन घटेर ९० मेगावाटमा सीमित हुनेछ । आयोजना क्यू ३२ मा डिजाइन गरिएको हो ।
तामाकोसी धेरै हेड हुने आयोजना हो । आयोजनाको हेड ८४० मिटर छ । आयोजनाको सिभिल निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलको टेक्सम्याको, इलेक्ट्रोमेकानिकलको एन्ड्रीज हाइड्रो र प्रसारणलाइनको काम भारतको केइसी इन्टरनेसनलले सम्पन्न गरेका हुन् ।
विसं २०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेका हुन् । उद्घाटन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।