एजेन्सी । मुकेश अम्बानी र गौतम सिंघानीया भारतका दुई धनाढ्य व्यक्ति हुन् । अम्बानीको कूल सम्पत्ति ८२ अर्ब ८० करोड अमेरिकी डलर छ । यस्तै सिंघानीयाको कूल सम्पत्ति मुकेशको भन्दा धेरै कम अर्थात १ अर्ब ४० करोड अमेरिकी डलर मात्र छ ।
मुकेश एसियाकै सर्वाधिक धनी व्यक्ति हुन् । उनको रिलायन्स इन्डष्ट्रिज लिमिटेड रहेको छ । यस्तै सिंघानियाको रेमन्ड इन्डष्ट्रिज रहेको छ ।
मुम्बईस्थित यी दुबैको घर एउटै सडकमा पर्दछ । भारतका शक्तिशाली यी दुबै बिजनेस टाइकूनहरुको दुई भव्य महलका बारेमा आज हामी चर्चा गर्नेछौं ।
मुकेश अम्बानीको एन्टिलिया
विश्वका सबैभन्दा महंगो रेसिडेन्शियल प्रोपर्टिजको नाममा आफ्नो घरको नाम राखेपछि अम्बानी परिवारको निवास एन्टिलिया विश्वभर चर्चित बनेको थियो । एन्टिलिया मुम्बईको एकदमै महंगो अल्टामाउन्ट रोडमा पर्दछ । यो घरलाई २ अर्ब अमेरिकी डलरमा मूल्यांकन गरिएको छ ।
एन्टिलिया मुम्बईको एउटा महत्वपूर्ण पर्यटन आकर्षणको केन्द्र पनि हो । आर्किटेक्चरल डाइजेस्टका अनुसार यो घरलाई घाम र कमल फुलको लाइनको आधारमा डिजाइन गरिएको छ । एन्टिलियामा क्रिस्टल, पल्र्स र विभिन्न मार्वलहरुको प्रयोग गरी यो डिजाइनलाई सुक्ष्मरुपमा देखाइएको छ जसलाई सामान्य आखाँले चिन्न सक्दैन ।
२७ तल्लाको यो महलमा डबल हाइट सिलिङ भएको कारणले यो ४० तल्ला जस्तो देखिन्छ । यो गगनचुम्बी महललाई यति बलियो र विशेष तरिकाले निर्माण गरिएको छ की यसले ८ रेक्टर स्केलसम्मको भूकम्प पनि थेग्न सक्छ ।
अम्बानीको यति ठूलो २७ तल्लाको भवनलाई यति सानो परिवारले कसरी भरेको छ भन्ने जिज्ञासा मनमा उठ्न सक्छ । भेनिटी फेयरसँग कुरा गर्दै एकपटक निता अम्बानीले एन्टिलियामा एउटा सिंगो मन्दिर नै रहेको बताएकी थिइन् जसमा ५० जनासम्म भक्तजनहरु अटाउन सक्छन् । उनले म्याग्जिनसँग कुरा गर्दै एन्टिलिया भारतीय मुटु भएको एउटा आधुनिक घर भएको बताएकी थिइन् ।
रिपोर्टहरुका अनुसार एन्टिलियाभित्र अम्बानी परिवारको आफ्नै बालरुम अर्थात् नृत्यशाला, हेलिप्याड र एउटा ग्यारेज छ जसमा १६९ अोटा कारहरु अटाउन सक्छन् । साथै यहाँ एउटा स्नोरुम पनि छ जसलाई मुम्बइमा गर्मी बढेको समय अम्बानी परिवारले प्रयोग गर्दछ । एन्टिलिया हिन्दु देवी देवता शिव, गणेश लगायतका मूर्तिले भरिएको छ ।
गौतम सिंघानियाको महल
अर्को डलर अर्बपति व्यसायी सिंघानियाको आवासिय महल पनि एन्टिलिया अवस्थित सडक रोडमै पर्दछ । यो रोडलाई ‘बिलिनियर्स रोड’ पनि भनिन्छ । आर्किटेक्चरल डाइजेस्टको अनुसार यो घर मुम्बइमा एन्टिलियापछिको दोस्रो ठूलो तथा अग्लो भवन हो । यो भवनको मूल्य करिब ८ करोड १० लाख अमेरिकी डलर रहेको बताइन्छ ।
स्यूट फेब्रिक र टेक्सटाइलको विश्वकै ठूलो सप्लायर रेमोण्ड ग्रुपको मालिक हो सिंघानिया परिवार । कम्पनीको यो वैभवशाली इतिहास सिंघानिया महलभित्रको संग्राहलयमा देख्न सकिन्छ । उक्त संग्राहलयभित्र सिंघानियाको फेब्रिक व्यवसायको झकझकाउने, सामाग्री, तस्विर, सुरु गर्दादेखिका हालसम्मको हरेक चरण, सर्टिफिकेट, प्रयोग भएका उपकरण त्यहाँ राखिएका छन् । सिंघानियाको यो महलभित्रको तल्लो तलामा खुद्रा र गार्मेन्टको स्वरुम समेत भएको बताइन्छ ।
जेके हाउस नाम दिइएको यो महल विभिन्न फ्लायटहरुमा विभाजित छ । यहाँ धेरै परिवारहरु बसोबास गर्छन् । रिपोर्टका अनुसार यहाँभित्र स्विमिङ पूल, जिम, स्पा र हेलिप्याड छन् । हरेक रेसिडेन्शियल यूनिटको आफ्नै छत र निजी बगैंचा छन् ।
गौतम सिंघानिया र उनको बुवा विजयपातबीचको विवाद कुनै लुकेको कुरा होइन । लामो समय अघिदेखि नै उनीहरुबीचको विवाद मिडियामा छत्ताछुल्ला पोखिसकेको कुरा हो । विजयपतका अनुसार उनले आफ्नो छोरा गौतमलाई अर्बौं डलरको टेक्सटाइल कम्पनीको ३७ प्रतिशत हिस्सा मात्र दिएका थिए । जेके हाउसमा फ्ल्याट दिने सम्झौतामा विजयपातले सो हिस्सा छोरा गौतमलाई दिएका थिए ।
विजयपतले छोरा गौतमलाई सार्वजनिकरुपमा नै आरोप लगाउँदै आएका छन् । उनले आफ्नै बुवासँग सौदाबाजी गरेर अहिले घरविहिन बनाएको आरोप लगाएका छन् । तर गौतमले भने त्यस्ता आरोपहरुको प्रतिवाद गर्दै बुवालाई अन्य मानिसहरुले भड्काएको बताएका छन् । साथै उनले बुवाको लागि आफ्नो घरको ढोका सधै खुल्ला रहेको बताउने गरेका छन् ।