काठमाडौं । बूढानीलकण्ठमा निर्माणाधीन पाँचतारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ को कार्य अन्तिम चरणमा पुगेको छ । अर्को वर्षको मंसिर÷पुसभित्रमा सञ्चालनमा ल्याउने गरी बाँकी कामहरू भइरहेको सञ्चालक बावुकाजी कार्कीले जानकारी दिए ।
बूढानीलकण्ठ हेरिटेज प्रालिद्वारा निर्माण गरिएको सो होटलमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको लगानी रहेको छ । विभिन्न समूहमा रहेर लगानी विस्तार गर्दै आएको सो समूहले पहिलो पटक होटल क्षेत्रमा लगानी गरेका हुन् ।
प्रालिको अध्यक्षमा डा. राजेन्द्र केसीसँगै सीए दीपक पाण्डे, सीए नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की र जनक भट्ट छन्। उनीहरूसँगै जलेश्वर पाण्डे, अम्बिकाप्रसाद पौडेलको लगानी रहेको छ । पौडेल सेयर बजारको लगानीकर्ता हुन् । उनले यसअघि चन्द्रागिरी हिल्समा समेत लगानी गरिसकेका छन् । उनिहरूले होटल, शैक्षिक, वित्तीय, हाउजिङ र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएका छन् ।
१ अर्ब ५० करोड लगानीमा निर्माण भइरहेको सो होटलमा नेपाल बैंक र नेपाल एसबीआई बैंकले लगानी गरेको छ । काठमाडौंको कोलाहालबाट केही टाढा तर सुविधासम्पन्न होटलको खोजीमा निष्कनेहरूलाई लक्षित गरी निर्माण गरिएको सो होटलको इन्टेरियरको काम होम मेकरले गरिरहेको छ । सो कम्पनीले भिभान्ता र अल्फ्ट होटलको पनि इन्टेरियरको काम गरेको थियो ।
रात्रिकालीन समयमा काठमाडौं उपत्यकाको दृश्य नजिकबाट नियाल्न सकिन्छ । ९ तलाको सो होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन रहनेछ । साढे १२ रोपनी क्षेत्रफलमा फैलिएको सो होटलमा १०२ वटा कोठा रहनेछ । दुईवटा प्रेसिडेन्सियल, तीनवटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठाहरू रहने छन् ।
होटल नारायण गोपाल चोकबाट पाँच किलोमिटर भित्र रहेको छ । होटललाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारीसमेत भएको छ । तर, कहिलेबाट लैजाने भन्ने निर्णय भने भइनसकेको सञ्चालक कार्कीले जानकारी दिए ।
पछिल्लो समय बूढानीलकण्ठ क्षेत्रमा होटल निर्माण हुने क्रमले तीव्रता पाइरहेको छ । त्यहाँको सबैभन्दा पुरानो रिसोर्टको रुपमा पार्क भिलेज रिसोर्ट सञ्चालनमा रहेको छ । सो रिसोर्टसँगै त्यस क्षेत्रमा साना तथा ठूला होटल निर्माणकर्ताहरूको रोजगाईमा बूढानीलकण्ठ क्षेत्र परिरहेको छ ।
होटल निकट भविष्यमै पब्लिक कम्पनीमा लैजाने तयारी भइरहेको जनाएको छ । यससम्बन्धी निर्णय भने भइसकेको छैन ।