काठमाडौं । राजधानीमा खानेपानीको आपूर्ति बढाउन त्रिशूली नदीको पानी पम्पिङ गरेर ल्याउने विषयमा छलफल सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बढ्दो पानीको माग पुरा गर्न विकल्पमा त्रिशूलीबाट पम्पिङ गरेर पानी आपूर्तिका लागि छलफल थालेको हो ।
यो आयोजनालाई अघि बढाउन केयूकेएलले खानेपानी मन्त्रालयलाई आग्रह गरेको छ । केयूकेएलले त्रिशूली नदीबाट पम्पिङ गरेर ल्याउनुका साथै शिवपूरीको धापमा वाटर हार्भेस्ट प्रविधि जडान गरेर बागमती र पशुपति क्षेत्रमा पानी ल्याउने विषयमा पनि अध्ययन गर्नेका लागि मन्त्रालयलाई अनुरोध गरेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलन शाक्यले बताए ।
मन्त्रालयमा नयाँ मन्त्री आएपछि यस विषयमा छलफल अघि बढाउने तयारी केयूकेएलको छ । अहिले छलफल प्रारम्भिक चरणमा भएकाले त्रिशूलीबाट पम्पिङ गरेर कुन स्थापनबाट ल्याउने, संरचनाका साथै लागतको विषयमा अध्ययनपछि मात्र यकिन हुनेछ ।
त्यस्तै ललितपुरको पूर्वी र दक्षिण क्षेत्रमा रहेको ग्वालिङ दह, ठोस्ने खोला, कोड्कुलगायत स्थानबाट पनि रेनवाटर हार्भेस्टिङ नमुनाका रूपमा विकास गरेर उक्त पानीलाई प्रयोग गर्नको लागि अध्ययन गर्न केयूकेएलले आग्रह गरेको छ । केयूकेएलका सीईओ शाक्य भन्छन्, ‘यो विषयमा अध्ययन धेरै पहिलादेखि नै भएको भन्ने जानकारी हामीलाई भएको छ ।
त्यसैले ती ठाउँको पानी व्यवस्थापन गर्दा पुग्न सक्छ भनेर छिटोभन्दा छिटो विकल्प खोजि अध्ययन हुनुपर्यो भनेर घच्घच्याउने काम हामीले गरिरहेका छौं ।’
खानेपानी मन्त्रालमा उपत्यकामा पानीको आपूर्तिका लागि छलफल सुरु भएको छ । तर, पहिलो प्राथमिकता भने मेलम्चीको पानीलाई फेरि काठमाडौं ल्याउने विषयमा रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए ।
प्रवक्ता न्यौपानेले भने, ‘उपत्यकाभित्र पानीलाई सहज कसरी बनाउने ? साबिककोभन्दा बढी पानी कसरी ल्याउन सकिन्छ ? भनेर विकल्पमा छलफल हुँदैछ । धेरै विषयमा छलफल जारी छ ।’
केयूकेएलले उपत्यकामा पानीको वैकल्पिक व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आग्रह गरेको जनाएको छ । तर, मन्त्रालयका प्रवक्ता भने उक्त विषयमा आधिकारीक जानकारी नआएको बताउँछन् । मन्त्रालयले धेरै ठाउँमा सभाव्यवता अध्ययनका बारेमा छलफल गरे पनि ठाउँ भने निश्चित हुन नसकेको न्यौपानेले बताए ।
केयूकेयलका सीईओ शाक्यले खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरीको पानी उपत्यकामा ल्याउनको लागि अध्ययन सुरु गरेको बताए । शाक्यको सो कुरामा सहमति जनाउँदै खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी उदयकुमार केसी भन्छन्, ‘उपत्यकामा पानीको व्यवस्थापनको लागि बोर्डले सम्भाव्य क्षेत्र सिस्नेरीमा प्रारम्भिक अध्ययन गर्दैछ । मेलम्चीको पानी पनि आउँछ तर, मेलम्ची आए पनि त्यसको पानीले मात्रै नपुग्ने हुँदा अन्य सम्भावित क्षेत्रको पनि खोजि गरिएको हो ।’
वैकल्पिक व्यवस्थापनको तयारी गर्नु मेलम्चीको पानी नै नआउने भनेर नबुझ्न उनले आग्रहसमेत गरेका छन् । ‘धेरै जनाले मेलम्ची अब नआउने भन्ने बुझेका छन् तर, वैकल्पिक व्यवस्था गर्नु वा अन्य सम्भाव्य क्षेत्रको अध्ययन गर्दैमा मेलम्चीको पानी काठमाडौंमा नआउने भन्ने होइन । मेलम्चीको पानी काठमाडौंमा फेरि आउँछ तर, बाढीले क्षति पुर्याएका कारण ढिलो हुने भएको मात्रै हो’ उनले भने ।
मन्त्रालयका सूचना अधिकारी विनोदकुमार खनाल भने खानेपानी मन्त्री नियुक्त नभएको कारण खानेपानीको विषयमा ठोस कदम चाल्न नसकिएको बताउँछन् । वैकल्पिक व्यवस्था र अन्य सम्भावनाको विषयमा मन्त्रीले नै स्वीकृति प्रदान गर्नुपर्ने हुन्छ । मन्त्री नहुँदा उपत्यकामा पानीको आपूर्तिका छलफल भए पनि निष्कर्ष भने निस्किएको छैन । जसको प्रत्यक्ष असर उपत्यकाबासिले झेल्नुपर्ने देखिन्छ ।
मेलम्ची खोलामा असार १ गते आएको बाढीले आयोजनाको मुहानमा ठूलो क्षति गरेपछि साढे २ महिनादेखि उपत्यकामा खानेपानी आपूर्ति बन्द छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति भइरहेको थियो । क्षतिग्रस्त मुहानको पुननिर्माण गरेर कहिलेदेखि उपत्यकामा खानेपानी आपूर्ति सुचारु हुन्छ भन्न सकिने अवस्था छैन ।
यस्तै मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी आपूर्ति गर्ने योजना अघि बढाउन लागे पनि पहिलो चरणको आयोजनामा क्षति भएपछि अनिश्चित बनेको छ ।