देशको आर्थिक गतिविधिका क्षेत्रमा समाचार संकलन र सम्प्रेषणमा निरन्तर खटिने पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को महाधिवेशन हुँदैछ । सो महाधिवेशनमा संस्थाको आय व्ययको प्रतिवेदन पेस गर्ने र नयाँ पदाधिकारीहरुको निर्वाचन पनि गरिने प्रावधान छ ।
प्रत्येक २ वर्षमा सेजनको आर्थिक क्षेत्रमा समाचार संकलन गर्ने, विश्लेषण गर्ने र प्रकाशन गर्न लागिरहने पत्रकारहरुलाई भेला गरेर अधिवेशन गर्ने, खाना खाने र पदाधिकारीको निर्वाचनको औपचारिकता पूरा गर्ने गरिँदै आएको छ । पदाधिकारीमा उम्मेदवार भएका पत्रकारको सक्रियता त हुने नै भयो भोट दिने पत्रकारको पनि भाउ बढेकाले उत्साहित जस्तै देखिन्छन् ।
प्राविधिक रुपमा हेर्दा आर्थिक क्षेत्रका पत्रकार जम्मा भएर अधिवेशन गर्ने तथा नयाँ पदाधिकारी छान्ने काम निकै महत्वपूर्ण जस्तो लाग्छ । देशको आर्थिक क्षेत्र त्यसको गति, अवस्था, राजनीतिको प्रभाव र त्यसको उपयोग, भुइँमान्छेको अवस्था तथा आर्थिक पत्रकारको भूमिकाको पाटोबाट हेर्दा दुई दुई वर्षमा भइरहने अधिवेशनको विश्लेषण एवं पदाधिकारीको भूमिकाले यी सबै अवस्थालाई न्याय दिन सकेको छ त ? प्रश्न खडा गरेकै छ, उत्तर पाइएजस्तो लाग्दैन ।
ठूला छापा माध्यमहरुले समय समयमा आर्थिक क्षेत्रका विज्ञ मानिनेहरु, उद्योग व्यापारमा संलग्न व्यक्तिहरु र राजनीतिक दलका प्रखर मानिने व्यक्तिहरुलाई जम्मा गरेर आर्थिक समस्याका बारेमा छलफल चलाएको देखिन्छ । अर्को, प्रायः छापा माध्यम तथा विद्युतीय सञ्चार क्षेत्रका पत्रकारहरुले यी माथिका व्यक्तिहरुबाटै अन्तवार्ता पनि लिइरहेको देखिन्छ ।
औपचारिकताका रुपमा हेर्दा आर्थिक पत्रकारहरुले गर्ने यी कार्य अति नै महत्वपूर्ण जस्ता लाग्छन् । दैनिक कार्यक्षेत्रमा पर्ने कुराहरु पनि हुन् । छलफल, अन्तक्र्रिया भएपछि आर्थिक क्षेत्रका समस्या हल हुने बाटो खुल्ने, राजनीतिक क्षेत्रले समस्याको हल गर्न प्रयास गर्ने तथा उद्योग व्यापार क्षेत्रले आफ्नो कर्तव्य पालन गर्दै भूमिका बढाउने आशा गर्न सकिनुपर्ने हो तर त्यस्तो हुने गुञ्जायस कति छ त ? बरु तत् तत् क्षेत्रका व्यक्तिहरुसँग नजिक हुने वर्गलाई केही दिनसम्मै तरंगित बनाएको भने स्पष्ट देख्न पाइन्छ ।
ए तपाईंको विश्लेषण हेर्यांै, राम्रो लाग्यो, अन्तर्वार्ता त खतरा लाग्यो भन्ने र कस्तो लाग्यो हँ मेरो अन्तर्वार्ता, मेरो विश्लेषण ? भन्ने सिलसिला चलिरहन्छ तर यी कार्यले नेपालको वास्तविक आर्थिक समस्यालाई छोए होला ? समस्याले निकास पाए होला त ? निकट भविष्यमा पाउला त ? प्रश्न अनिर्णीत नै खेखिन्छन् ।
नेपालको पत्रकारिताको क्षेत्रमा केही प्रवृत्ति व्याप्त छन्, ठूला छापामाध्यम तथा अलि ठूला अनलाइन माध्यमका पत्रकारहरुमध्ये केहीले विदेशी कूटनीतिक नियोग, विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सम्पर्क बनाउने, उनीहरुले चाहेजस्तो समाचार निर्माण गरेर सम्प्रेषण गर्ने गर्नतिर लागिरहेको देखिन्छ ।
कतिले मन्त्रीहरु, उच्चपदस्थ सरकारी कर्मचारी, ठूला उद्योग व्यवसायका सञ्चालकहरु तथा राजनीतिक दलका नेताहरुसँग सम्पर्क बनाउने र उनीहरुले दिने औपचारिक समाचार लिने तथा त्यसैअनुसार समाचार बनाउने गरेको देखिन्छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय कूटनीतिक संस्थाहरु, अन्य विकासे संस्थाहरु तथा विभिन्न चासोका संस्थाको चाहना र आवश्यकता अनुसार लगातार समाचार सम्प्रेषण गरिरहँदा नेपालको वास्तविक समस्या कसरी बाहिर आउन सक्छ ?
समाचार बनाउने व्यक्ति ती संस्थाबाट अवस्य पनि बौद्धिक कहलाइन्छन्, अन्य लाभ पनि हुने नै होला तर नीति नियममा देशको स्वतः समाप्त हुन्छ । अर्को, शासन, प्रशासन क्षेत्रका माथिल्लो तहका व्यक्ति र व्यापार व्यवसाय सञ्चालकको चाहनाअनुसार समाचार बनाइरहँदा पनि नेपाली समाजका समस्या बाहिर आउने कुरै भएन । बरु यस्तो अवस्थामा माथिल्लो तहका व्यक्तिहरुलाई आफ्ना कमजोरी हटाउन आवश्यक नपर्ने अवस्था सिर्जना हुन्छ ।
सधै आफूले चाहे अनुसार ठूला समाचार संस्थाका नामी पत्रकारले लगातार समाचार दिइरहने भएकाले सुध्रिने गुञ्जायस पनि रहँदैन । एकातिर समाचार सम्प्रेषण गर्दा यस्तो प्रवृत्ति अपनाउने अर्कातिर कहिलेकाहीँ देशको अर्थतन्त्र र जनजीविकामा सुधार नआएको भन्दै ठूला समाचार बनाउने व्यवहार पनि छ नि । यो राष्ट्रका लागि अत्यन्तै खतरनाक अवस्था हो ।
समाचार निर्माणको कुरा गर्दा एउटा समूह यस्तो छ कि राजनीतिक दलको नजिक हुने, उनीहरुको आस्था अनुसार समाचार बनाउने । अझ गुटका नेतालाई उचालेर माथि पुर्याउने वा पछारेर समाचार बनाउने तथा अन्य दललाई तल्लो स्तरमा देखाउने समाचार बनाउने गरेको देखिएको छ । यस्ता समाचारले समाजमा ठूलो भ्रम सिर्जना गर्छन् र गरिरहेका पनि छन् ।
यी सबै परिवेशमा आर्थिक पत्रकार समाजको महाधिवेशन हुँदैछ । सेजन र निर्वाचित पदाधिकारीलाई प्रश्न तस्र्याऊँ कि ? अब यस्ता कुराको हेक्का राखिनेछ ? नेपालको आर्थिक पक्षमा स्वतन्त्र छलफल, बहस तथा विश्लेषण होला ? प्रायोजित व्यक्ति भेला गरेर केही पत्रकारको उपस्थितिमा पुरानै कुराको गफ गर्ने प्रवृत्ति छाडिएला ? आर्थिक पत्रकार समाजलाई राष्ट्रको उन्नतितिर मोड्ने हो भने त यी कुराको उत्तर दिनैपर्छ । नभए दुई दुई वर्षमा भेला हुने, खाना खाने र नयाँ पदधिकारीका लागि भोट हाल्नुको के अर्थ रहला ?