विराटनगर । विराटनगरका युवा पर्यटन व्यवसायी पुण्य भट्टराई अहिले ५० करोड रुपैयाँको मालिक बनेका छन् । २०३६ सालमा रतुवामाई नगरपालिकाको डाम्राभिट्टामा जन्मिएका भट्टराईले २०५८ सालदेखि व्यावसायिक यात्रा सुरु गरेका हुन् ।
ट्राभल एजेन्सीबाट व्यवसाय सुरु गरेका भट्टराईको अहिले पानी उद्योग र होटल व्यवसाय पनि छ । विराटनगरमा होटल एसियाटिक छ भने सुनसरीको भेडेटारमा होटल भेडेटार सञ्चालनमा छ । सुरुमा २ लाख ५० हजार रुपैयाँ लगानीबाट ट्राभस एजेन्सी सुरु गरेका भट्टराईको अहिले विभिन्न क्षेत्रमा लगानी विस्तार गरेर ५० करोड रुपैयाँ पुर्याएका छन् ।
मोरङको रतुवामाईमा जन्मिएका पर्यटन व्यवसायी भट्टराईले दुई दशकअघि इस्टर्न एसिया ट्राभल एण्ड टुर्स सञ्चालनमा ल्याएर आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए ।
लगानीको सुरुवात
पञ्चायतकालमा ठूलो बुवा अञ्चलाधीश थिए, उनकै संरक्षणमा भट्टराईको परिवार अगाडि बढेको थियो । स्नातक पढ्दै गर्दा २०५८ सालमा भट्टराईले ट्राभल्स एजेन्सीबाट लगानी सुरु गरेका हुन् । २ लाख ५० हजार रुपैयाँ लगानीमा ट्राभल एजेन्सी खोलेर आफ्नो व्यावसायिक यात्रा सुरु गर्दा भट्टराई २२ वर्षका थिए ।
एसएलसीसम्मको पढाइ गाउँमा सकाएर उच्च शिक्षाका लागि विराटनगर आएका उनलाई त्यतिबेला सम्मानित पेशा भनेको ट्राभल एजेन्सी रै’छ जस्तो लाग्यो । विदेशी पर्यटकसँग भेट हुने, गाइड गर्ने लगायतका अरूका काम देखेर उनले पनि ट्राभल एजेन्सी नै रोजे ।
पारिवारिक पृष्ठभूमि किसान भए पनि ट्राभल एजेन्सी सम्मानित पेसा जस्तो लाग्यो उनलाई । सुरुमा आफ्ना लागि यही पेशा ठीक हुन्छ भनेर लागेका भट्टराईले पछि यससँग सम्बन्धित अरू व्यवसाय के हुन्छ भनेर सोच्न थाले ।
उनले आफ्नो पुख्र्यौली जग्गा बेचेर व्यवसाय सुरु गरेका थिए । उनले ट्राभल्स एजेन्सी सञ्चालन गरेको केही समयको अन्तरालमा विभिन्न एयरलायन्सबाट थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेपछि त्यसले भट्टराईलाई थप हौस्यायो ।
उनले एसियन ट्रेड्स होलसेल पसल पनि सञ्चालन गरे । २० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएका होलसेल पसल भने उनले ५ वर्ष अगाडि बिक्री गरिसकेका छन् ।
आफूले थालेको व्यवसायलाई सपोर्ट पुग्ने गरी उनले १२ वर्षअघि २ करोड रुपैयाँ लगानीमा शान्ति जल उद्योग प्रालि स्थापना गरे । ५ कठ्ठा क्षेत्रफल जग्गामा रहेको उक्त उद्योगले अहिले दैनिक १० हजार बोतल र १ हजार जार पानी उत्पादन गरिरहेको छ ।
भट्टराईको उद्योगले उत्पादन गरिरहेको पानी अहिले प्रदेश १ कै उत्कृष्ट रूपमा परिचित छ । अहिले पानी उद्योगमा उनको लगानी ५ करोड रुपैयाँ पुगिसकेको छ ।
उनले सुरुमा पुख्र्यौली सम्पत्तिलाई नै व्यवसायमा लगाएका थिए । पुख्र्यौली जग्गा बेचेर उनले व्यवसायमा लगानी गरेका हुन् ।
भट्टराईले पानी उद्योगपश्चात् ७ वर्षदेखि पर्यटकस्तरीय होटल एसियान्टिक सञ्चालन गरिरहेका छन् । पर्यटन व्यवसायी भट्टराईले ४० करोड रुपैयाँको लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलमा ४० वटा सुविधासम्पन्न कोठाहरू छन् । कोरोना महामारीका कारण पर्यटक क्षेत्रलाई असर गर्दा होटलहरू केही मारमा परेका छन् । तर, उनले पहिलो कोरोनामा सरकारसँगको सहकार्यमा होटललाई आइसोलेसन बनाए । कोरोनाको पहिलो लहरको कम भएसँगै फेरि होटलको सेवा सुविधा सुचारु गरेका छन् ।
शिक्षामा पनि लगानी
उनले शिक्षामा पनि लगानी गरेका छन् । आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले उनीसहित ५ जनाको संयुक्त लगानीमा विद्यालय पनि सञ्चालन गरिरहेका छन् । ११ वर्षअघि ५ करोड रुपैयाँ लगानीमा युनिभर्सल सेकेन्डरी बोर्डिङ स्कुल सञ्चालनमा ल्याएका हुन् ।
उक्त विद्यालयमा १२ कक्षासम्म पढाइ भइरहेको छ । अहिले ७५० जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । त्यहाँका कमजोर आर्थिक अवस्था भएकाहरूले पनि आफ्नै गाउँठाउँमा सर्वसुलब तरिकाले पढ्न पाउन भन्ने उद्देश्यले बोर्डिङ सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
समाजसेवामा रुचि
उनको समाजेवामा पनि उत्तिकै रुचि छ । ‘समाजसेवामा एकदमै रुचि छ, कसैलाई कुनै बेला अप्ठ्यारो परेको थाहा पाए भने बस्न मन लाग्दैन’, उनले भने, ‘आफूले सक्ने सहयोग गर्छु ।’ कोरोनाको महामारीमा पनि उनले धेरैलाई सहयोग गरे । खान नपाएकाहरूका लागि खाद्यान्न सहयोग गरे । कसैले अरूसँग सहयोग उठाएर गरिब दुःखीका लागि काम गरिरहेको थाहा पाए उनले सहयोग गरिहाल्थे ।
आफ्नो पुख्र्यौली जग्गामा भएका दाउराहरू पनि भट्टराई विराटनगरको परोपकार घाटलगायतका ठाउँमा सहयोग गर्छन् । आफ्नो परिवारमा कसैको जन्मदिन पर्यो भने वृद्धाआश्रम तथा बालआश्रममा गएर मनाउँछन् । आश्रमहरूमा पनि बेला–बेलामा सहयोग गरिरहेका हुन्छन् ।
भटराई रोटरी क्बल विराटनगर मिटडाउनको २०२०/२०२१ को अध्यक्षसमेत हुन् ।
आगामी दिनमा विराटनगरमा सुविधासम्पन्न वृद्धाआश्रम खोल्ने उनको योजना पनि छ । अहिले तत्काल नभएर केही समयपछि खोल्ने योजना रहेको उनले सुनाए । मन्दिरहरू बनाउन तथा मूर्तिहरू स्थापनाका लागि पनि उनले सहयोग गर्ने गरेका छन् । तेह्थुममा रहेको पुर्खाको स्थलमा पनि उनले मन्दिर बनाइदिएका छन् ।
मेहनत गर्यो भने सफल भइन्छ
जे काम गर्दा पनि लगनशिल भएर गर्यो भने सफल हुने भट्टराईको भनाइ छ । ‘व्यवसाय गर्दै गर्दा आइपर्ने समस्यासँग जुध्न सक्नुपर्छ’, उनले भने, ‘अडान लिएर काम गर्न सक्नुपर्छ, आफू खटेर काम गर्न गर्यो भने कसैले पनि असफल बनाउन सक्दैनन् ।’ उनी कुनै पनि समय खाली बस्दैनन् ।
केही न केही काम गरिरहेका हुन्छन् । आफूले सुरु गरेको व्यवसायलाई राम्रो व्यवस्थापन गरेर अघि बढाइरहेका छन् । पर्यटक क्षेत्रमा थोरै समयमा सफल बन्न सफल भट्टराई आगामी दिनमा अझै ठूलो लगानीमा रिसोर्ट सञ्चालन गर्ने चाहना रहेको बताउँछन् ।
प्रदेश १ पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र भएकाले पनि पर्यटनलाई लक्षित गरी आधुनिक किसिमको रिसोर्ट सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । भट्टराईले सञ्चालन गरेका व्यवसायमा १०० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।