खोटाङ । राष्ट्रिय गौरवको दूधकोसी जलशाययुक्त जलविद्युत् आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु गरिएको छ ।
खोटाङको रावाबेँसी–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि पाँच हजार ८२६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।
दूधकोशी जलविद्युत् आयोजनका उपनिर्देशक सीताराम तखाछेका अनुसार अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । आयोजनाका लागि खोटाङमा करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्नेछ ।
यसमध्ये १ हजार रोपनी सरकारी र १२ हजार रोपनी व्यक्तिका नाममा छ । व्यक्तिगत जग्गा आयोजनाका नाममा ल्याउने प्रक्रिया अघि बढी सकेको छ । ओखलढुङ्गाको सात हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । ओखलढुङ्गा र सोलुखुम्बुको जग्गाको भने स्रेस्ता उतार्ने काम भइरहेको तखाछेले जानकारी दिए।
आयोजनाले समुद्री सतहदेखि ६४० मिटरसम्मको जग्गा डुबानमा पार्ने भएकाले ६५० मिटरसम्मको जग्गा अधिग्रहणको प्रक्रियामा लगिएको तखाछेले सुनाउनुभयो । खोटाङको जग्गा जति सक्दो छिटो अधिग्रहणको काम सक्ने योजना बनाइएको जग्गा अधिग्रहण मूल्याङ्न समितिका संयोजक एवं खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।
असोज–कात्तिकसम्ममा मुआब्जाको काम सक्ने योजना बनाइएको शर्माले बताए। मुआब्जादेखि अन्य विभिन्न कामका लागि यस वर्ष करिब ८ करोड बढी खर्च हुने जनाइएको छ ।
आयोजना सञ्चालनका लागि करिब १ खर्ब ६० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले आर्थिक लगानी गर्ने जनाएको छ ।
दूधकोशी आयोजनाका कारण डुबानमा पर्ने रावाबेँसी–१ लामीडाँडास्थित रभुँवा माझीगाउँका समुदायले नदी र जङ्गल आसपासमै पुनःस्थापित गर्नुपर्ने बताएका छन् । जन्मदेखि मृत्युसम्मको सांस्कृतिक परम्परा नदीसँगै सम्बन्धित भएकाले नदी र जङ्गल आसपासमै पुनःस्थापित गर्नुपर्ने उनीहरुको माग छ । रासस